coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मदिरापानले एक शिक्षकको जागिर धरापमा !

 खोटाङ– मादक पदार्थ सेवन गरी विद्यालय गएपछि खोटाङ अर्खौलेस्थित सरस्वती माविका प्रअ डिकवीर राई राजीनामा दिन बाध्य भए । मंसिर ९ गते जिल्ला शिक्षा कार्यालयको टोली अनुगमनका क्रममा अर्खौले पुग्दा प्रअ राई मापसे गरेर विद्यालयमा आएको पाइएपछि तत्काल राजीनामा मागिएको थियो ।

मापसे गरी विद्यालय आएको अवस्थामा फेला परेका प्रअ राईले आगामी दिनमा गल्ती नदोहो¥याउने सर्तमा जिशिअ ज्ञानमणि नेपालसमक्ष राजीनामा दिएका हुन् । आगामी दिनमा मापसे गरी विद्यालय आएको पाइए राजीनामा स्वीकृत गर्ने गरी राजीनामा मागिएको जिशिअ नेपालले बताए ।

‘एकपटक मापसे गरी विद्यालय गएको भेटे राजीनामा मागिने, अर्कोपटक पनि फेला परे राजीनामा स्वीकृत हुने’

यस्तै, कात्तिक ३० गते मापसे गरेर विद्यालय आएका दिक्तेलस्थित सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मीनबहादुर खत्रीले राजीनामा बुझाउनुप¥यो । मापसे गरी विद्यालयमा आएको सूचना अभिभावकले नै दिएपछि जिशिअ नेपाल विद्यालय पुगेका थिए । खत्रीले मापसे गरी आएको पुष्टि भएपछि जिशिअ नेपालले जिल्ला प्रहरी कार्यालयलाई फोन गरेर खत्रीलाई नियन्त्रणमा लिन र मेडिकल रिपोर्ट तयार पार्न लगाएका थिए । खत्रीले आगामी दिनमा गल्ती दोहोरिए जागिर जाने सर्तमा माफी पाए । मदिराकै कारण नेर्पा–८ रामपुरस्थित जनता निमाविका शिक्षक लक्ष्मीप्रसाद राईले गल्ती नदोहो¥याउने सर्तमा राजीनामा बुझाउनुप¥यो । मंसिर ६ गते मापसे गरेर विद्यालय आएको अवस्थामा फेला परेपछि तत्काल जिशिअ नेपाललाई राजीनामा बुझाएका थिए । ‘तीन–तीन महिनामै मेरो सरुवा होस् न मलाई के फरक पर्छ ?’ जिशिअ नेपालले भने, ‘तर म मादक पदार्थ सेवन गरेर विद्यालय जाने शिक्षकलाई छाड्दिन ।’

शिक्षा ऐन–नियम अनुसार मापसे गरी विद्यालय जान मिल्दैन । तर, यस अघिसम्म मापसे गरेर विद्यालयमा पुगे पनि कतैबाट कारबाही नहुँदा हौसिएका कतिपय शिक्षक जिल्ला शिक्षा कार्यालयको पछिल्लो अभियानले झस्किएका छन् । मापसे गरी विद्यालय आउँदा उनीहरूले यसरी कहिल्यै राजीनामासम्मको सजायको सामना गर्न परेको थिएन । कात्तिक २२ गते जिशिअका रूपमा आएका जिशिअ नेपालले मापसे गरेका शिक्षकलाई राजीनामा माग्न थालेपछि ‘पिउने बानी परेका’ शिक्षकलाई अप्ठेरो आइपरेको अभिभावक बताउँछन् । ‘हाम्रो गाउँका एकजना सर सधैँ लर्बरिँदै हिँड्नुहुन्थ्यो, कारबाही सुरु भएपछि उहाँ लर्बरिएको देखिएको छैन,’ सदरमुकाम दिक्तेलकै एक अभिभावकले भने, ‘जागिर नै जाने कारबाही भए सबै शिक्षक ठेगान लाग्थे कि ।’ मापसे गरेर कर्तव्य बिर्सने शिक्षकमाथिको कारबाहीलाई कार्यान्वयन गरे प्रतिफल राम्रो आउने विद्यालय व्यवस्थापन महासंघ खोटाङका अध्यक्ष प्रतिमान राई बताउँछन् । ‘कतिपय ठाउँमा त मापसे गर्ने शिक्षकले अभिभावकलाई वाक्क बनाएका छन्,’ राईले भने, ‘छाडालाई एकैपटक बन्धनमा ल्याउन त गाह्रो छ, तर शिक्षाको यो प्रयास सराहनीय छ ।’

शिक्षाको पछिल्लो अभियानले मापसे गर्ने शिक्षकसामु जागिर छाड्ने वा सुध्रिने विकल्प दिएको छ । मातेर लर्बरिँदै हिँड्ने कतिपय शिक्षक कारबाहीको खबरले हाल सुध्रिने कसरतमा पनि देखिन थालेका छन् । अझ दुर्गमका गाउँका विद्यालयमा अनुगमन गरिए मदिरा अम्मली शिक्षक फेला पर्ने महासंघ अध्यक्ष राईले बताए ।

प्रकाशित: २७ मंसिर २०७३ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App