४ वैशाख २०८१ मंगलबार
खेल

कमलले नेपालको झन्डा बोक्ने

काठमाडौं – लामो चर्चाका बीच नेपाल ओलम्पिक कमिटीले आइतबार उद्घाटन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा झन्डा बोक्ने खेलाडीको टुंगो लगाएको छ। दशरथ रंगशालामा भव्य रूपमा हुने मार्चपासमा नेपालको झन्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्।

समारोह समितिको सिफारिसका आधारमा अधिकारीलाई नेपाल ओलम्पिक कमिटीले चयन गरेको हो। राष्ट्रिय रूपमा सफल खेलाडीलाई मार्चपासमा झन्डा उचालेर देशको नेतृत्व गर्न दिने प्रचलनअनुसार कमल योग्य भएको ओलम्पिक कमिटीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘अनुभव, अन्तर्राष्ट्रिय पदक र ओलम्पिक खेलमा सहभागी भएका आधारमा उत्कृष्ट खेलाडी भारोत्तोलनका कमलबहादुर अधिकारीले राष्ट्रिय झन्डा बोक्नेछन्’, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कमलले नवौं सागदेखि नेपालबाट प्रतिनिधित्व गर्दै आएका छन्।  त्यसपछि १०औंं र ११औं सागमा पनि भाग लिएका कमलले १२औं सागमा भने सहभागिता जनाएनन्। भारतमा आयोजना भएको उक्त संस्करणमा भारोत्तोलन खेल समावेश नभएपछि कमलले मौका गुमाएका थिए। १३औं सागमा भने कमलले नेपालको प्रतिनिधित्व गर्दै छन्। ६७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने कमलबहादुरले नेपालको झन्डा बोक्दै मार्चपास गर्नु गौरवको क्षण हुने बताउँदै आफूलाई राज्यले सम्मान दिएकोमा खुसी व्यक्त गरे।

‘मैल खेलमा बिताएको समय र प्राप्त सफलताका आधारमा मलाई राज्यले सम्मान दिएको जस्तो लाग्छ,’ ओलम्पियन कमलले भने, ‘मेरो लागि यो ठूलो अवसर हो।’यसअघि कमलले २००६ मा कतारको दोहामा, २०१० मा चीनको गोन्जाओ र २०१८ मा इन्डोनेसियामा भएका एसियन गेम्समा नेपालको झन्डा बोकेका थिए। उनले श्रीलंकाको कोलम्बोमा सम्पन्न १०औं सागमा स्वर्ण पदक जितेका थिए। कमलले कोरियामा सम्पन्न २०१७ को एसियन च्याम्पियनसिपमा ३ कांस्य पदक जितेका थिए।

प्रकाशित: १५ मंसिर २०७६ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App