coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मूर्ति फिर्ता ल्याउन माग गर्दै दुई सातादेखि सडकमा

मूर्ति माग गर्दै दुई सातादेखि सडकमा उत्रेका जुम्लावासीः डिबी बुढा

जुम्ला– कर्णालीकै धार्मिक धरोहर र आस्थाको केन्द्र मानिएको चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ति फिर्ता ल्याउन माग गर्दै स्थानीय दुई सातादेखि आन्दोलनरत छन् । स्थानीयले चोरी घटनाको अनुसन्धान सुरु गरेको सिआइबी र स्थानीय प्रहरी प्रशासनलाई मूर्ति फिर्ता ल्याउन दबाब दिइरहेका हुन ।

चोरी भएको दुई साता बित्दा समेत प्रहरीले चोर पत्ता लगाउन नसकेका भन्दै जुम्लावासीले आक्रोश पोखेका छन् । सुरुमा सदरमुकाम आसपासका भक्तजन सडकमा नाराजुलुस गरी चोर पक्रन दबाब दिइरहेका थिए । अहिले आन्दोलनमा उत्रिनेको संख्या बढेको छ ।

‘५० भन्दा बढी शंकास्पद व्यक्तिसँग सोधपुछ गरिसकेका छौँ, पुजारीसहित सातजनालाई हिरासतमै राखेर अनुसन्धान भइरहेको छ’

उनीहरूले खलंगा बजारमा जुलुस निकालेर दबाब दिँदै आएका छन् । आन्दोलनमा सहभागी पट्माराका वीरबहादुर खड्का भन्छन्, ‘एक घन्टा पैदल हिँडेर नारा–जुलुस गर्दै पट्मारावासी सदरमुकाम खलंगाबजार आइपुगेका हौँ ।’ आफूहरुले पूरै बजार परिक्रममा गरी मूर्ति फिर्ता गर्न प्रहरी प्रशासनसमक्ष माग गरेको उनको भनाइ छ ।

आन्दोलनमा सहभागी बेलमती बुढाले मूर्ति चोरी भएको दुई साता बित्दा पनि अनुसन्धान प्रभावकारी नभएको बताइन् । ‘सुरक्षा घेराभित्र रहेको मूर्तिको सुरक्षा हुँदैन भने हामीले कसरी सुरक्षित महसुस गर्ने ? उनले प्रश्न गरिन् ।

अहिले चन्दननाथ मन्दिरमा देवीलाई बोको चढाउने क्रम चलिरहेको छ । प्रहरीले लामो समय चोर पत्ता लगाउन नसकेपछि स्थानीयले आफ्नै प्रकारको धार्मिक अनुसन्धान थालेका छन् ।

पट्मारावासीले मन्दिरको पूजा गरेका भाडा धुने, नौ दिनसम्म मन्दिर लिपपोत गर्ने गर्दै आएका छन् । उनीहरूले मूर्ति फिर्ता होस् भन्ने कामनासहित चन्दननाथ मन्दिरभित्र रहेका देवीलाई बोको बलि दिइएका छन् ।

चन्दननाथबाट मंसिर ११ गते राति चोरी भएका २८ मूर्ति चोरी भएका थिए । चोरिएका २८ मध्ये सात मूर्ति मन्दिरभित्रै फेला परेका थिए । मन्दिरबाट मूर्ति चोरी हुँदा समेत स्थानीय प्रहरी प्रशासन मुकदर्शक बनेको स्थानीयको आरोप छ ।

यता, केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले घुनीभूत रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धान सफलताको नजिक पुगेको मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधव नेपाल बताउँछन् । ‘चोरिएका मूर्ति निर्यात हुने सबै स्थानमा प्रहरीको सर्च अभियान चलेको छ,’ उनले भने, ‘चोर कतैबाट पनि उम्कँदैन । ढिलो या चाँडो पत्ता लगाएरै छाड्छौँ ।’
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी गुरुविष्णु काफ्ले ५० भन्दा बढी शंकास्पद व्यक्तिसँग सोधपुछ गरिसकेको बताउँछन् । ‘पुजारीसहित सातजनालाई हिरासतमै राखेर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘चोर पक्रन स्थानीयले सही सूचना दिएर सहयोग गर्नुपर्छ ।’

मूर्ति चोरीपछि संरक्षणको जिम्मेवारी निभाउन नसकेको भन्दै गुठी समिति निलम्बित भइसकेको छ । जिल्ला मालपोत कार्यालय प्रमुख संयोजक रहने गरी अन्तरिम गुठी समिति निर्माण भई कार्य सञ्चालन भइरहेको छ ।
 

मन्दिरमा सिसी क्यामरा

बहुमूल्य मूर्ति चोरी भएपछि चन्दननाथ मन्दिर आसपास सिसिटिभी जडान गरिने भएको छ । क्यामरा जडानका लागि जिल्ला विकास समितिसँग तीन लाख ५० हजार र चन्दननाथ नगरपालिकालाई एक लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग माग्ने निर्णय अन्तरिम गुठी समितिले गरिसकेको छ ।

यसका साथै मन्दिरको घेराबार गर्ने, पुजारीलाई समितिले निगरानीमा राख्ने र स्थानीय प्रशासनले मन्दिरको सुरक्षामा ध्यान दिने लगायत निर्णय समितिले गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार मन्दिरको नियमित रूपमा पूजापाठ गर्न नयाँ पुजारीका रुपमा नवराज अधिकारीलाई मासिक १५ हजार रुपैयाँ दिने गरी करारमा नियुक्ति दिइएको छ ।
 

प्रकाशित: २७ मंसिर २०७३ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App