८ वैशाख २०८१ शनिबार
खेल

टेबल टेनिसमा गुरु–शिष्य सँगै भिड्दै

काठमाडौं - हरेक गुरुको चाहना आफ्ना शिष्य आफूले देखाएको लक्ष्यमा पुगोस् भन्ने नै हुन्छ।   चेलाले पाएको सफलतालाई गुरुदक्षिणा ठान्दै गर्वित नहुने गुरु को होला ! नेपाली राष्ट्रिय टेबल टेनिसका सदस्य पुरुषोत्तम वज्राचार्य पनि गर्वित हुने गुरुमै पर्छन्। पुरुषोत्तमले नै टिटी बोर्डमा ब्याट र बलको संगमलाई मिलाउन सिकाएका तीन खेलाडी आइतबारदेखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गर्दै छन्। तीन शिष्य सिक्का सुवाल, संयोग कपाली र दीक्षा तामाङसँगै वज्राचार्य पनि घरेलु मैदानमा ऐतिहासिक सफलता दिलाउने लक्ष्यमा छन्। तीनै खेलाडीलाई वज्राचार्यले नै आदर्श विद्यामन्दिर (एभिएम) मा रहेको टेबल टेनिस क्लबमा प्रशिक्षित गरेका थिए।

आफ्नो चेलाहरू आफूसँगै देशका लागि पदक दिलाउन होमिँदा यस पटक पुरुषोत्तम निकै खुसी छन्। ‘तीनै खेलाडीलाई विद्यालयदेखि खेल्न सिकाएको थिएँ। सिक्का सबैभन्दा पहिलो ब्याज हुन्। त्यसपछि दीक्षा र संयोग हुन्,’ पुरुषोत्तमले भने,‘आज उनीहरूसँगै देशका लागि खेल्न पाउँदा एकदम खुसी छु,’ नेपालमा एउटा उखान नै छ, ‘हुने बिरुवाको चिल्लो पात।’

त्यसैले होला, पुरुषोत्तमले पनि सानैदेखि यी तीनै खेलाडी राष्ट्रका लागि खेल्न सक्छन् भन्ने अनुमान लगाएका थिए। ‘तीनै जना सानैदेखि राम्रो खेल्थे। राम्रो खेलाडी हुन सक्ने छनक पहिलेदेखि नै देखिन्छ। उनीहरूमा पनि सोही किसिमको क्षमता देखेको थिएँ। सोहीअनुरूप तीन जनाले मिहिनेत पनि गरे,’ पुरुषोत्तम भन्छन्,‘सिक्काले छोटो समयमा धेरै सुधार गरिन्। दीक्षा र संयोगले भने सानैदेखि खेलेका थिए। यी दुईले पनि धेरै मिहिनेत गरे।’

तीन शिष्य सिक्का सुवाल, संयोग कपाली र दीक्षा तामाङसँगै वज्राचार्य पनि घरेलु मैदानमा ऐतिहासिक सफलता दिलाउने लक्ष्यमा छन्। तीनै खेलाडीलाई वज्राचार्यले नै आदर्श विद्यामन्दिर (एभिएम) मा रहेको टेबल टेनिस क्लबमा प्रशिक्षित गरेका थिए।

सिक्का पहिले बास्केटबल खेलाडी रहिछन्। एभिएममा कक्षा ९ मा अध्ययन गर्न थालेपछि मात्र सिक्काले टेबल टेनिस खेल्न थालिन्। तर, दुई÷तीन वर्षमै सिक्का राष्ट्रिय टिममा स्थान बनाउन सफल भइन्। संयोगले सात वर्ष अगाडिदेखि सुरुआत गरेका थिए। जुनियरमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका संयोगले सिनियरमा भने दोस्रो सहभागितामा गुरु पुरुषोत्तमसँगै सागमा प्रतिस्पर्धा गर्दै छन्।

यसअघि संयोगले इन्डोनेसियामा एसियन च्याम्पियनसिपमा पहिलो प्रतिस्पर्धा गरेका थिए। ‘यस पटक तयारी राम्रो छ। पदक जित्नका लागि मिहिनेत गरेको छु,’ सागको पुरुष टिम इभेन्टतर्फ प्रतिस्पर्धा गर्न लागेका संयोग भने। पहिलो पटक सागमा प्रतिस्पर्धा गर्न लागेकी दीक्षाले पनि गुरुसँगै साग खेल्न पाएकोमा एकदम खुसी लागेको बताइन्।

‘गुरुसँगै यस पटक खेल्दै छु। यस पटकको अविस्मरणीय क्षणमा पदक जित्ने लक्ष्य छ,’ दीक्षाले भनिन्, ‘सोहीअनुरूप तयारी पनि छ।’ यता सिक्का पनि गुरुसँगै साग खेल्न पाएकोमा एकदम खुसी छु। ‘सानैदेखि खेलाडी बन्छु भन्ने थियो। सोहीअनुरूप खेलें,’ पहिलो पटक साग खेल्न लागेकी सिक्काले भनिन्,‘गुरुसँग खेल्न पाउँदा एकदम खुसी छौं। तर नतिजा पनि दिनु छ। गुरु करियरको अन्तिमतिर हुनुहुन्छ। उहाँसँगै प्रतिस्पर्धालाई अविस्मरणीय बनाउने लक्ष्य छ।’

हाल खेलाडी जीवनको उत्तराद्र्धमा पुगेका पुरुषोत्तमले नेपाली टेबल टेनिसमा करिब दुई दशक सेवा गरिसकेका छन्। घरेलु मैदानमा २० वर्षपछि हुने सागमा सम्भवतः पुरुषोत्तमको अन्तिम प्रतिनिधित्व पनि हुन सक्छ। गत दुई संस्करणको सागमा टिम विधातर्फ दुई कांस्य जितेका पुरुषोत्तम पनि घरेलु मैदानमा अन्तिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन सक्नेमा दुईमत राख्दैनन्।

३८ वर्षे पुरुषोत्तमले खेलाडी जीवनको अन्त्यतिर आइपुग्दा राष्ट्रका लागि सम्भावना भोगेका तीन खेलाडी पनि उपहार दिएर जाँदै छन्। खेलाडी जीवनसँगै प्रशिक्षकका रूपमा पनि पुरुषोत्तमले राष्ट्रलाई योगदान दिएको प्रमाणित भइरहेको छ। पुरुषोत्तमले सन् २००६ को दशौं संस्करणदेखि सागमा प्रतिस्पर्धा सुरु गरेका थिए।

उनी चौथो पटक साग खेल्दै छन्। आगामी १६ गतेदेखि लैनचौरको राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु हुने टेबल टेनिसमा पुरुषोत्तम मेन्स सिंगल्ससहित तीन विधातर्पm चुनौती प्रस्तुत गर्दै छन्। मेन्स डबल्समा उनले शिवसुन्दर गोथेको जोडी र पाँच खेलाडी सम्मिलित मेन्स टिम स्पर्धामा प्रतिस्पर्धा गर्दै छन्। टिममा पुरुषोत्तमकै चेला संयोग कपाली पनि रहनेछन्।

सात इभेन्टमा प्रतिस्पर्धा
काठमाडौं, मंसिर १४–
नेपाली टेबल टेनिसले सन् १९८७ मा भारतको कोलकातामा सम्पन्न तेस्रो साफ गेम्सदेखि लगातार सहभागिता जनाउँदै आएको छ। त्यसअघिका दुई संस्करणमा भने टेबल टेनिसको प्रतिस्पर्धा थिएन। तेस्रो संस्करणदेखि १२औं संस्करणसम्म सम्पन्न हुँदा नेपालको टेबल टेनिसले कुल एक स्वर्ण, चार रजत र १७ कांस्य पदक जितेको छ।

यसबीच सन् १९९३ को छैटौं संस्करण र सन् १९९५ को सातौं संस्करणमा नेपालले टेबल टेनिसमा निराशाजनक प्रदर्शन गर्दा पदक जित्न सकेन। त्यसअघिको सन् १९९१ को पाँचौं संस्करणको साफ खेलकुद नेपाली टेबल टेनिसका लागि स्वर्णिम रह्यो। श्रीलंकामा सम्पन्न उक्त संस्करणमा नेपालको टेबल टेनिसले पहिलो पटक स्वर्ण पदक जितेको थियो। नेपालले महिला टिम स्पर्धातर्पm स्वर्ण जितेको थियो।

घरेलु मैदानमा नेपालको टेबल टेनिसले लगातार ११औं पटक प्रतिस्पर्धा गर्दै छ। गत संस्करण महिला डबल्स र पुरुष टिम इभेन्ट गरी दुई विधामा नेपालले कांस्य पदक जितेको थियो। यस पटक स्वर्ण जित्ने लक्ष्यका साथ नेपालले कुल ७ इभेन्टमा प्रतिस्पर्धा गर्दै छ। पुरुष र महिलाका समान ५ खेलाडीले घरेलु मैदानमा हुने १३औं सागमा प्रतिस्पर्धा गर्दै छन्।
पुरुषतर्पm स्यान्टु श्रेष्ठ, पुरुषोत्तम वज्रचार्य, शिवसुन्दर गोथे, संयोग कपाली र बिनेस खनिया छन्। शिवसुन्दर पाँचौं पटक सागमा प्रतिस्पर्धा गर्दै छन् भने पुरुषोत्तमको चौथो सहभागिता हुँदै छ। आठौं संस्करणको सागदेखि खेल्ने थालेका शिवसुन्दरले नवौं संस्करण भने खेलेका थिएनन्। पुरुषोत्तमले एकल, मेन्स डबल्स र टिम स्पर्धामा प्रतिस्पर्धा गर्दै छन्। शिवसुन्दरले भने मेन्स डबल्स र टिममा खेल्नेछन्।

संयोगले एक मात्र स्पर्धा टिममा र बिनेसले मिक्स र मेन्स डबल्समा खेल्दै छन्। स्यान्टुुले भने चार स्पर्धामा चुनौती प्रस्तुत गर्दै छन्। उनले एकल, मिक्स, मेन्स डबल्स र पुरुष टिममा प्रतिस्पर्धा गर्नेछन्। महिलातर्पm नविता श्रेष्ठ, एलिना महर्जन, रबिना महर्जन, दीक्षा तामाङ र सिक्का सुवाल छन्।

तेस्रो पटक साग खेल्न लागेकी नविताले  एकल, मिक्स, महिला डबल्स र महिला टिमतर्पm प्रतिस्पर्धा गर्नेछिन्। तीन पटक साग खेलेकी एलिनाले महिला डबल्स र टिममा प्रतिस्पर्धा गर्दै छिन्। रबिना महर्जनले दुई स्पर्धा एकल र टिम, दीक्षाले महिला डबल्स र टिम तथा सिक्काले मिक्स, डबल्स र टिमतर्फ प्रतिस्पर्धा गर्दै छिन्।

नेपाल राष्ट्रिय टेबल टेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यले तयारी राम्रो भएकाले स्वर्ण जित्ने विश्वास व्यक्त गरेका छन्। ‘यस पटक हाम्रो तयारी राम्रो छ। थाइल्यान्डमा हामीले ३० सेसन गरी कुल १ सय ९० घन्टा प्रशिक्षण गरेका छौं,’ मुख्य प्रशिक्षक शाक्यले भने,‘अनुभवी र क्षमतावान् युवा खेलाडीहरू छन्। उनीहरूले धेरै मिहिनेत गरिरहेका छन्। त्यसैले पदक जित्नेमा आशावादी छु।’

प्रकाशित: १५ मंसिर २०७६ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App