७ वैशाख २०८१ शुक्रबार
समाज

एकै परिवारका चारको मिर्गौला बिग्रियो

सहयोगको खोजीमा पर्वत सदरमुकाम आएका त्रिलोचन र उनका कान्छा छोरा दीपक । तस्बिरः छविलाल तिवारी

पर्वत– ‘मेरो एउटा मिर्गौला माइली छोरीमा र जेठी छोरीको मिर्गौला कान्छो छोरामा प्रत्यारोपण गरियो । अहिले माइली र कान्छो दुवैलाई समस्या बल्झिएको छ,’ त्रिलोचन शर्मा पौडेलले भने ।

कुर्घा–२ का पौडेलको परिवारमा वज्रपात नै प¥यो, एकपछि अर्को गरी परिवारका चार सदस्यको मिर्गौलाले काम गर्न छाड्यो । उपचारकै क्रममा एक छोरा गुमाए । अहिले उनकी श्रीमती प्रेमकुमारीको डायलाइसिस गरेर समय काटिरहेकी छन् । माइली छोरी र कान्छो छोराको मिर्गौला प्रत्यारोपण गरे पनि समस्या फेरि बल्झिएको छ । अहिले उनी सहयोग जुटाएर थप उपचार गर्ने आशमा सहयोगको याचना गर्दै भौँतारिएका छन् ।

उपचारकै क्रममा त्रिलोचनले एक छोरा गुमाए, आफूले माइली छोरीलाई एउटा मिर्गौला दिए, उनकी जेठी छोरीले भाइलाई दिइन्, अहिले श्रीमतीको डायलाइसिस भइरहेको छ

भारत मुम्बईमा काम गरी परिवारको खर्च टार्दै आएका उनी एकाएक परिवारमा मिर्गौला रोगको पीडा थपिएपछि निकै मर्माहत भएको गुनासो गरे ।

छोराछोरी र श्रीमतीको उपचारकै क्रममा घरघडेरी, खेतबारी सबै बिक्री गरेका त्रिलोचन सहयोगको याचना गर्दै सदरमुकाम आएका छन् । ‘उपचार गर्दागर्दै घरघडेरी, खेतबारी सबै सकियो,’ त्रिलोचनले भने, ‘संसारमा कसैलाई पनि यस्तो दुःख नपरोस् ।’ अहिलेसम्म डेढ करोड रुपैयाँभन्दा बढी उपचारकै क्रममा सकिएको उनको भनाइ छ ।

जेठो छोरा प्रकाश मिर्गौलाकै कारण भारतको मुम्बईमा १० वर्षअघि बितेका थिए । कान्छो छोरा र माइली छोरीको मिर्गौला प्रत्यारोपण गरे पनि अझै ठीक भएको छैन । उनीहरू नियमित चिकित्सककै निगरानीमा छन् । गत फागुनदेखि श्रीमती प्रेमकुमारीको समेत दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवारमा पीडामाथि पीडा थपिएको उनले गुनासो गरे ।

जेठो छोरो बितेपछि माइली छोरीलाई त्रिलोचनले एउटा मिर्गौला दिए । बाबुको एउटा मिर्गौला प्रत्यारोपण गरे पनि छोरीको समस्या बल्झिएको छ । त्यही समयमा कान्छो छोरो दीपकमा समेत मिर्गौलाकै समस्या देखियो । जचाउँदा मिर्गौलाले काम नगरेको पाएपछि जेठी छोरी शारदाले भाइ दीपकलाई मिर्गौला दान गरेको त्रिलोचनले जानकारी दिए ।

‘ऋणधन र खेतबारी बेचेर तत्कालीन खर्च टारे पनि अहिले आर्थिक संकटमा परेको छु,’ उनले भने, ‘मासिक ४० हजार रुपैयाँ उपचारमै खर्चनुपरेको छ, त्यो मैले कहाँबाट ल्याउँ ।’ कान्छा छोरा प्रकाशको मिर्गौला प्रत्यारोपण गरे पनि समस्या देखिएपछि भारतबाट चर्को मूल्यमा औषधि मगाएर नियमित सेवन गरिरहेका छन् ।

कान्छी छोरी कमलाबाहेक एकपछि अर्को गरी सबैको मिर्गौलाले काम गर्न छाडेको त्रिलोचन बताउँछन् ।
त्रिलोचनकी श्रीमती प्रेमकुमारीको हप्तामा दुईपटक नियमित डायलाइसिस गर्नुपर्छ । सरकारले डायलाइसिस निःशुल्क गरिदिन्छ तर एकपटक डायलाइसिस गर्दा दुई हजारको औषधि र सुई किन्नुपर्ने उनको भनाइ छ ।
‘रोग निको हुने कुनै ग्यारेन्टी छैन, खर्च बढिरहेको छ,’ तिलोचनले भने, ‘अब कतै जाने ठाउँ छैन, कसैले सहयोग दिए मात्रै हो ।’

उनले सांसद अर्जुनप्रसाद जोशीलाई भेटेर सहयोगका लागि पहल गरिदिन आग्रह गरेका छन् । ‘अब हामी कहाँ जाने सांसदज्यू, सहयोगका लागि पहल गरिदिनुस्,’ त्रिलोचनले भने । सांसद जोशीले परिवारका चारैजनाको मिर्गौला खराब भएको जानकारी अहिले मात्रै पाएको भन्दै सरकारी निकायमा पुगेर झकझकाउने प्रतिबद्धता जनाएका छन् ।
 
दीपकलाई जागिर
यसैबीच, स्वास्थ्यमन्त्री गगनकुमार थापाले परिवारका चारजनामा मिर्गौला खराब देखिएका त्रिलोचनका कान्छा छोरा दीपकलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा जागिरको व्यवस्था मिलाइदिएका छन् ।

‘स्वास्थ्यमन्त्रीले जागिरको व्यवस्था मिलाइदिनुभएको छ तर कर्मचारी नभएका कारण नियुक्ति लिन पाएको छैन,’ दीपकले भने । उनले आफूलाई जागिर लगाइदिए पनि आफूले त्यो रकमबाट औषधि मात्रै खान पुग्ने भन्दै अन्य सहयोगी निकायसमक्ष थप सहयोगको याचना गरे ।


 

प्रकाशित: २७ मंसिर २०७३ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App