७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीलाई मिर्गौला फेर्न विदेश लाने तयारी

फाइल तस्बिर

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि विदेश लाने तयारी भइरहेको छ। १२ वर्षअघि प्रत्यारोपण गरिएको उनको मिर्गाैलाले काम गर्न छाडेपछि अर्को मिर्गाैला प्रत्यारोपण गर्न लागिएको हो । स्रोतका अनुसार प्रत्यरोपणका लागि नजिकका आफन्तहरूको मिर्गाैला परीक्षण भइरहेको छ।

प्रधानमन्त्री ओली नियमित डायलासिसमा छन्। डायलासिसपछि पनि सक्रिय रहँदै आएका प्रधानमन्त्री ओलीलाई गत सोमबार मध्यरातबाट अचानक पेट दुखेपछि मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्री ओली अझै शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्। उनको स्वास्थ्य स्थितिबारे जानकारी दिन क्रममा शुक्रबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा निजी चिकित्सक दिव्या सिंहले घाउ निको भएपछि प्रत्यारोपण गर्ने तयारी भइरहेको जानकारी दिएका थिइन्।

प्रधानमन्त्री ओलीका लागि दुई आफन्तले मिर्गौला दिने भएपछि प्रत्यारोपणका लागि चिकित्सकहरू छलफलमा जुटेका छन्। शल्यक्रियाको घाउ निको भएलगत्तै मिर्गौला प्रत्यारोपणका लागि उनलाई विदेश लाने भनिए पनि कुन देश भन्नेचाहिँ अहिलेसम्म तय भइनसकेको स्रोतको भनाइ छ। प्रधानमन्त्री ओली निवास फर्किन करिब एक साता लाग्ने र त्यसपछि केही दिनको आरामपछि मिर्गौला प्रत्यारोपण गरिने जनाइएको छ।

शल्यक्रियाको घाउ निको भएलगत्तै मिर्गौला प्रत्यारोपणका लागि उनलाई विदेश लाने भनिए पनि कुन देश भन्नेचाहिँ अहिलेसम्म तय भइनसकेको स्रोतको भनाइ छ।

प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझ भेट्न पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी मजबुत भएकाले कुनै चिन्ता नलिन आग्रह गरेका थिए। उनले चिकित्सकलाई मिर्गौला प्रत्यारोपणको तयारी गर्न अनुरोधसमेत गरेका थिए। शुक्रबार चिकित्सकद्वारा सार्वजनिक गरिएको धारणा र दाहालद्वारा प्रत्यारोपणको तयारीमा लाग्न गरिएको अनुरोधलाई आधार मान्ने हो भने प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी तीव्र रूपमा भइरहेको छ। डा. सिंहले अनुकूल समय पारेर मिगौला प्रत्यरोपण गर्ने बताइन्। ‘प्रत्यारोपणको फाइदा भनेको झन्झटबाट मुक्ति हो। प्रत्यारोपण गर्दा स्वास्थ्य अवस्थामा राम्रो हुन्छ भनेर प्रत्यारोपणमा जोड दिने मात्रै हो। एकदमै तयार गरेर ट्रान्सप्लान्ट गरिहाल्नुपर्ने अवस्था छैन। समय अनुकूल पारेर प्रत्यारोपणको काम हुन्छ,’ उनले भनिन्।

एपेन्डिसाइटिसको शल्यक्रियाका कारण प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा केही ढिलाइ हुने भएको हो। प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीसामु पुनः प्रत्यारोपण वा नियमित डायलासिसमध्ये एउटा विकल्प रोज्नुपर्ने बाध्यता रहेको बताए। ‘डायलासिसको प्रक्रिया झन्झटिलो हुने भएकाले प्रत्यारोपणकै विकल्पमा उहाँको जोड छ। त्यसकारण प्रत्यारोपणबारे छलफल भइरहेको छ। तर अहिले अस्पतालमै राखेर उहाँको उपचार भइरहेकाले कहिले र कहाँ प्रत्यारोपण गर्ने वा डायलासिस नै गर्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन,’ थापाले भने। उनका अनुसार प्रधानमन्त्री अस्पतालबाट निवासमा नफर्केसम्म यो विषयमा टुंगो लाग्दैन।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि साउनयता मात्रै ६ पटक अस्पताल भर्ना भइसकेका छन्। सिंगापुर जानुअघि साउन १० गते सैनिक अस्पताल छाउनीमा उनको नियमित स्वास्थ्य परीक्षणसहित युएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ गरिएको थियो। रेनल बायोप्सीको रिपोर्टकै आधारमा उनी थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। रेनल बायोप्सीपछि प्रत्यारोपण गरिएको मिर्गौलाको अवस्था कस्तो छ भन्ने थाहा हुन्छ। मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको प्रत्यारोपणलगत्तै पनि यस्तो बायोप्सी गरिन्छ। प्रधानमन्त्री ओली साउन १८ देखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार गरिएको थियो। त्यसपछि सोही अस्पतालमा भदौ ५ गतेदेखि १९ गतेसम्म उपचार गरिएको थियो। उनी सिंगापुरबाट भदौ २० गते मात्रै स्वदेश फर्केका थिए।

त्यसपछि पनि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि कात्तिक १३ गते काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना भएका थिए। त्यहाँ उनको दुईपटक मिर्गौला डायलासिस गरिएको थियो। त्यसको चौथो दिन महाराजगन्जस्थित शिक्षण अस्पतालमा रिपोर्ट चेकजाँच गर्न पुगेका प्रधानमन्त्री ओली अस्पताल पुगेको एक घन्टापछि निवास फर्केका थिए। ग्रान्डी अस्पतालमै कात्तिक ३० गते तेस्रोपटक र मंसिर ८ गते चौथोपटक उनको डायलासिस गरिएको थियो।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। ६ वर्षअघि उनको हातमा संक्रमण भएको थियो। लामो समयको उपचारपछि त्यो निको भएको थियो। उनले दिल्ली र थाइल्यान्ड गएर हातको उपचार गराएका थिए। त्यसपछि उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए। तर पछिल्लोपटक भने चिकित्सकहरूको सल्लाहमा उनलाई थप उपचारका लागि सिंगापुरको सरकारी अस्पताल लगिएको थियो।

प्रकाशित: १५ मंसिर २०७६ ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App