४ वैशाख २०८१ मंगलबार
राजनीति

लोकतान्त्रिक फोरममा भाँडभैलो

काठमाडौं– विजय गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा भाँडभैलो सुरु भएको छ । पार्टीका नेताहरूले पार्टी न सरकारमा गएको, न आन्दोलनमा जान सकेको भन्दै अध्यक्ष गच्छदारसँग आक्रोशित भएका छन् ।
‘गच्छदारको रबैया यस्तै रहिरहे पार्टी छाड्ने’ धम्की नेताहरूले दिएका छन् । पार्टीका नेताहरूले केन्द्रीय समितिको बैठक तत्काल बोलाउन  माग गरेका छन् ।

पुुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै फोरम नेपालको केन्द्रीय समिति बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको छैन । बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको थियो । बैठकमा  गच्छदारले पार्टीलाई सरकारमा पठाउन प्रधानमन्त्रीसँग कुराकानी  गर्ने बताएका थिए ।

त्यतिखेर जितेन्द्र देवलगायतका नेताहरूले सरकारमा जान तयारी गरेका थिए तर पार्टी सरकारमा गएन । गच्छदारले नै पार्टीलाई सरकारमा जानबाट रोकेको पार्टीका नेताहरू बताउँछन् । गच्छदारले आफू उपप्रधानमन्त्री हुन नपाउने भएका कारण पार्टीबाट कसैलाई  पनि सरकारमा नपठाएको नेताहरू बताउँछन् । सरकारमा नगए  आन्दोलन जानुपर्ने पार्टीका नेताहरू बताउँछन् । ‘अहिले पार्टीभित्र असन्तुष्टि र आक्रोश बढेको छ । यसलाई रोक्न पार्टी अध्यक्ष्यले सक्नु हुन्छ कि हुन्न, हामी प्रतीक्षा गरिरहेका छौं’, राजनीतिक समिति सदस्य वकिल मुसलमानले भने ।

देवले दसैंअघि नै पार्टी सरकारमा जान अध्यक्षलाई समयसीमा दिएका थिए । सरकारमा नगएपछि दसैं र तिहारको बीचमा ४० प्रतिशत केन्द्रीय सदस्य तथा सांसद जुटाएर पार्टी फुटाउने तयारी भएको थियो । यसको अगुवाइ वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादव र देवले गरेका थिए । ४० प्रतिशत केन्द्रीय सदस्य जुटाउन नसकेपछि पार्टी फुट्नबाट जोगिएको थियो । तर, त्यसपछि नेताहरूले पार्टी छाड्ने क्रम सुरु भयो । स्रोतका अनुसार रुपन्देही, नवलपरासीलगायतका जिल्लाबाट स्थानीय नेताले पार्टी छाड्ने संकेत नेतृत्वलाई दिइसकेका छन् । केही दिनअघि पार्टीका उपाध्यक्ष दानबहादुर चौधरीले कपिलवस्तु लोकतान्त्रिक फोरमको पूरै टिमसहित पार्टी छाडेका थिए ।

‘पार्टीको केन्द्रीय समिति बैठक बोलाउनुपर्ने माग उठिरहेको छ । पार्टीमा देखिएको असन्तुष्टि सम्बोधन गर्न पनि बैठक बोलाउन आवश्यक छ’, उपाध्यक्ष गीता राणाले भनिन् । नेता देवले ‘केही दिनपछि सबै कुरा बोल्ने’ बताए ।

वरिष्ठ उपाध्यक्ष यादवले पार्टीमा सांगठनिक पतन सुरु भएको बताए । ‘पार्टीमा सांगठनिक पतन सुरु भएको छ । पार्टी अध्यक्षले स्खलन रोक्न पहल गर्नुपर्छ’, यादवले भने ।

पार्टीनिकट स्रोतका अनुसार गच्छदारले केन्द्रीय समिति बैठक बोलाउनुभन्दा पनि असन्तुष्ट भनिएका नेतालाई सम्पर्क गर्दै फकाउन थालेका छन् । पार्टी नछाड्न उनले असन्तुष्ट नेतालाई आग्रह गर्न थालेको गच्छदारनिकट स्रोतले बताएको छ ।
 

प्रकाशित: २७ मंसिर २०७३ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App