coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यसरी हुँदैछ, उपनिर्वाचन (फोटोफिचर)

काठमाडौं- प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन्।

कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो। केहीबेरअघि सम्मको विवरणमा शान्तिपूर्णरुपमा भइरहेको निर्वाचनमा एक तिहाइभन्दा बढी मत खसेको छ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको मतदानमा करिब ३० प्रतिशत मतदान भइसकेको छ। सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए।

बिहानैदेखि मौसम सफा रहेका कारण मतदाताहरु चाँडै घरबाट निस्केर मतदान गर्न आएको देखिन्छ। सो क्षेत्रमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले पोखरा–३३ स्थित शान्ति उदय मतदान केन्द्रबाट मतदान गरेकी छिन् भने साझा पार्टीकी उम्मेदवार रजनी केसीले पोखरा–४ स्थित गैरपाटनस्थित नवीन मावि मतदान केन्द्रमा मतदान गरिन्।

भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलामा वडाध्यक्षका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपले जारी छ। मध्याह्न १२ बजेसम्म ५६९ जनाले मतदान गरेको मतदान अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए।

पाँचथरमा अहिलेसम्म फिदिम नगरपालिका–१ मा २५.०३, हिलिहाङ गाउँपालिका–७ मा २०.१९ र फाल्गुनन्द गाउँपालिकामा ४९.८१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मोहन भट्टराईले जानकारी दिए।

बागलुङ–२ ९ख० र बडिगाड गाउँपालिका–२ मा अहिलेसम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माका अनुसार ६० देखि ६५ प्रतिशत मत खस्ने अनुमान छ। विसं २०७४ को चुनावमा ६५ प्रतिशत मत खसेको थियो।

गुल्मीको रुरु गाउँपालिका–६ को उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी छ। बिहान ७ बजेबाट नै मतदान सुरु भएको निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताए। निर्वाचनका लागि एक मतदान केन्द्र र दुईवटा मतदानस्थल तोकिएको छ।

प्रजिअ कोशहरि निरौलाका अनुसार मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन्।

सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा वडाध्यक्षको उपचुनावमा मतदान जारी रहँदा अमखोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा बम फेला परेको छ। बम विस्फोट हुनुअगाडि नै रणशेर गणबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गराएको थियो।

लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित महेन्द्र मन्दिर मावि मतदान केन्द्र नजीकै बम विस्फोट भएको छ। मतदान केन्द्रबाट २ सय मिटर टाढा जङ्गलमा टाइम बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्तबहादुर रानामगरले बताए। बम विस्फोट भए पनि कुनै क्षति भएको छैन।

नवलपुरको बौदीकाली गाउँपालिका–१ मा वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ। पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदिकाली–५ को उदय आधारभूत विद्यालय जौबारीमा मतदान सञ्चालन भइरहेको छ। निर्वाचनमा अहिलेसम्म २९१ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।

सङ्खुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिका–३ मा मतदान जारी छ। मकालु गाउँपालिकामा अध्यक्ष र खाँदबारी नगरपालिका–३ मा वडाध्यक्षको निर्वाचन भएको हो।

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले गोरखा माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरे। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकराज जोशीले हालसम्म ५३९ जना मतदाताले मतदान गरिसकेको बताए।

प्रकाशित: १४ मंसिर २०७६ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App