गन्तव्य

उज्यालो कोन्ज्योसोम

शनिबार, १४ मङि्सर २०७६, १२ : ३३ रामदेवी महर्जन

पहाडी इलाका, चारैतिर थुम्कैथुम्का। कुनै होचा त कुनै अग्ला। अनि नागबेली बाटो कतै ठाडै उकालो त कतै ओरालो। छेउछाउमा कलकल बग्ने खोला र भरना। चारैतिर पहेंलपुर तोरीबारी। पहारिलो घामसंगै चिसो बतास र गाउँले मुस्कान। कति सुन्दर– कोन्ज्योसोम गाउँपालिका !

सरकारले साविकका पाँच गाविस  नल्लु, भारदेऊ, चौघरे, शंखु र दलचोकीलाई समेटेर कोन्ज्योसोम गाउँपालिका बनाएको। तामाङ जातिको बाहुल्य छ गाउँपालिकामा। तामाङ भाषामा ‘कोन्ज्यो’ को अर्थ ‘भगवान्’ र ‘सोम’ को अर्थ ‘तीन’ हो। तीन भगवान्को समूहलाई कोन्ज्योसोम भनिन्छ।

पहाडी भूगोल, प्राकृतिक सौन्दर्य र संस्कृति नै कोन्ज्योसोमको संपत्ति। ८० प्रतिशत तामाङ जातिको बसोबास रहेको गाउँपालिकामा पर्यटकीय संभावना भएका धेरै ठाउँ छन्। भारदेऊमा गुप्तेश्वर गुफा, नल्लुमा पाथीभरा मन्दिर, चौघरेमा तिप्चे झरना, शंखुको मगर बस्ती र दलचोकीमा रहेका मनकामना मन्दिर, भ्यूटावर र निरोग आनन्दधाम आदि यहाँका गौरव हुन्।

कोन्ज्योसोम क्षेत्रमा हाइकिङ, बाइकिङ, साइकलिङ गर्न सकिन्छ। त्यसैगरी ३ दिनदेखि हप्ता दिन र पन्ध्र दिनसम्म पदयात्रा गर्न सकिने ठाउँ छन्। प्रकृतिप्रेमी समूहले दक्षिण ललितपुरलाई स्वस्थ आन्तरिक पर्यटन केन्द्रका रूपमा विकास गर्न हाइकिङ र टे«किङ गराउँदै आएको छ।  

चौघरे तिप्चे झरना    
चार घरबाट चौघरे नाम रहन गएको भनाइ छ। उहिले यहाँ चार मात्र घर थिए। पछि बस्ती बढ्यो। त्यसैगरी पहाडी क्षेत्र हुनाले जौ र तोरीको खेती बढी हुने भएकाले जौघरे भन्दाभन्दै चौघरे बन्न गएको भनाइ पनि छ।काठमाडौंबाट करिब २६ किमी दूरीको चौघरेमा तामाङ जातिको बसोबास छ। कृषि र पशुपालन यहाँको मुख्य पेशा।तिप्चे झरनाले चौघरेलाई चर्चित बनाएको छ। तिप्चे खोलाबाट झरेको झरना। उहिल्यैदेखि यहाँ झरना थियो तर त्यति ख्याल गरिएको थिएन। बुखेलको सिम्बा झरनाबारे प्रचार भयो। त्यसपछि यहाँको झरनालाई पनि प्रचार गरी पर्यटन विकास गर्न गाउँपालिका लागेको छ। झरना सुन्दर छ। नजिकै अरू दुइटा स–साना झरना छन्। झरनाको पानी ठोट्ने खोलामा गएर मिसिन्छ। झरना वर्षैभरि देखिन्छ तर बर्सातमा पानी बढी हुन्छ।

दुधे झरना व्यवस्थापन गरी प्रचार गर्न सकेमा उत्कृष्ट पर्यटकीयस्थल बन्न सक्छ। झरना व्यवस्थापन समितिका अध्यक्ष पासाङ लामाका अनुसार यस क्षेत्रमा पाटी, मन्दिर, पौडी पोखरी र शौचालय बनाउने योजना छ। गाउँलेहरू झरनाको विकास गर्न कस्सिएका छन्। यसको प्रचार र विकासमा हामीले पनि हातेमालो गर्नुपर्छ।कसरी पुग्नेःलगनखेलबाट २६ किमिमा चौघरेको सिंगभन्ज्याङसम्म गाडीमा। त्यहाँबाट करिब एक घन्टा आरालोमा झरना।
सम्पर्कः पासाङ लामा– ९८६००९९८७९

शंखु
कोन्ज्योसोम गाउँपालिकाको वडा नं २ मा पर्ने शंखु तोरीका लागि प्रख्यात छ। गाउँपालिकामा तामाङ जातिको बाहुल्य छ। शंखु गाउँमा मिश्रित जातिको बसोबास छ तर, शंखुको नामाकरण भने गुरुङ भाषाबाट भएको पाइन्छ। गुरुङ भाषामा ‘शंखु’को अर्थ हो–थाली। झट्ट हेर्दा शंखु कलशमाथि राखिएको थाली जस्तो देखिन्छ। थाली आकारको भएको हुनाले शंखु नामाकरण गरिएको जनश्रुति पाइन्छ।

कृषि कर्मका लागि शंखु प्रसिद्ध छ। गाउँमा तोरी र सस्र्युंको राम्रो खेती हुन्छ। त्यसैले ‘तोरी लिन जाने र छोरी दिन जाने  भन्ने उखान प्रचलित छ। वास्तवमै भन्नुपर्दा ढकमक्क तोरी फुलेर पहेंलपुर बनेको तोरीबारी बीचमा रहेको बस्ती निकै मनमोहक देखिन्छ। शंखुमा मोटरबाटो, विजुली, शिक्षा, स्वास्थ्य आदिको राम्रो सुविधा छ। कृषि र पशुपालन यहाँको मुख्य व्यवसाय। यहाँका युवा अर्गानिक तरकारी खेतीमा लागेका छन्।

भुमेथुम्कामा रहेको कृष्ण प्रणामी मन्दिर यहाँको पर्यटकीय आकर्षण हो। त्यसैगरी हाल यहाँको मगर बस्तीमा तामाङ संग्रहालय र छोर्तेन निर्माण हुँदै गरेको कोन्ज्योसोम गाउँपालिकाका प्रमुख गोपिलाल सिंताङ बताउनुहुन्छ। कात्तिक, मंसिरमा तोरीले गाउँ नै पहेंलपुर हुन्छ। त्यतिबेला शंखु सुनको गाउँ जस्तो देखिन्छ।

कसरी पुग्नेः लगनखेलबाट दलचोकीसम्म गाडीमा त्यहाँबाट हिँडेर शंखु पदयात्रा गर्न सकिन्छ।
सम्पर्कः राजकुमार चौलागार्ईं ९८५१०२१६२२

भारदेऊ, गुप्तेश्वर
चारैतिर जंगल, बीचमा चौर। खुला आकाशमुनि ढङ्गाका राताम्मे शिला। शिला वरपर त्रिशूल। नजिकै घन्ट पनि। छेवैमा ठूलो रूखमुनि गुफा। यस गुफालाई गुप्तेश्वर गुफा भनिन्छ भने शीलालाई गुप्तेश्वर महादेव। हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थ हो गुप्तेश्वर। भारदेऊको शीरमा बसेका छन् गुप्तेश्वर (२,५००मिटर)। भारदेऊको विषयमा रमाइलो किंवदन्ती छ। परापूर्वकालमा भष्मासुर राक्षसले महादेवको तपस्या गरेछ। महादेव खुशी भएपछि भष्मासुरले ‘म जसको टाउकोमा हात राख्छु, ऊ भष्म होस्’ भनेर वर मागेछ। वरदान पाउनेबित्तिकै उसले वरदान सही हो कि गलत भनेर परिक्षण गर्न महादेवको टाउकोमा हात राख्न खोजे छ। महादेव त्यहाँबाट भागेछन्। देवता भागेको ठाउँ भएकाले ‘भागदेव’ भन्दाभन्दै भारदेऊ भन्न थालियो।

त्यसै गरी भारदेऊको शिर बनेर महादेव गुप्तबास बसेकाले ठाउँको नाउँ गुप्तेश्वर भनिएको। गुफा करिब ५० मिटर लामो र १५ फिट अग्लो छ। गुफाभित्र छुट्टाछुट्टै दुई मन्दिर छन्–पार्वती र महादेवका। पार्वती मन्दिरबाट तल झर्न धर्म ढोका छ। त्यसलाई पाप र धर्म छुट्टयाउने द्वार मानिन्छ। गुप्तेश्वर दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ। गुफामा पथप्रदर्शकको सहयोगमा टर्चलाइट बालेर पस्नु पर्छ। त्यहाँका आकृति तोडमोड गर्नु हुँदैन। भारदेऊ क्षेत्रमा रेष्टुराँ छन्। भारदेऊको पौवा चौरमा होमस्टे र होटल सुविधा छ।

सम्पर्क: विजय स्याङतान– ९८४९६००७८३
कसरी पुग्ने: लगनखेलबाट २० किमिमा भारदेऊ। भारदेऊको पौवाचौरबाट ठाडो उकालो चढेर पुगिन्छ मन्दिरमा।

नल्लु, पाथीभरा
शरीरमा रातो साडी, निधारमा रातै टीका, हातमा त्रिशूल र खड्ग, छातीमा चुराको माला लगाएकी। सिंहमा चढेकी छिन्। देवीका खुट्टाको दायाँ र बायाँ दुइटा पाथी राखिएको। यसरी नल्लुको थुम्का (१,८९० मिटर)मा पाथीभरा बसेकी छिन्। ठ्याक्कै ताप्लेजुङकै जस्तै मूर्ति छ देवीको।

प्रवेशद्धारमा दायाँबायाँ सिंहका प्रतिमा। मुल मूर्ति वरपर स–साना मूर्ति छन्–चन्द्रसूर्य, गणेश, नवदुर्गा, सरस्वती, लक्ष्मी, शिवलिंग र शेषनारायण छन्। पाथीभरालाई सगुन चिज जस्तै चुरा, टिका, धागो, पछयौरी, साडी लगायत सामाग्री चढाइन्छ। मन्दिरमा चैते नवमी र बडा दसैंमा मेला लाग्छ।

स्थानीय जयबहादुर स्याङतान र पाथीभरा देवीका भक्त रमेश श्रेष्ठको सक्रियतामा पाथीभरा मन्दिर बनाइएको। स्याङतानले मन्दिरका लागि तीन रोपनी जमिन दान गरेका छन्। कुरा के भएछ भने हाल मन्दिर भएको ठाउँमा स्याङ्तानले घर बनाउन ढुङ्गा खसालेका थिए। त्यही रात सपनीमा तीन जना कन्या आएर उनलाई भनेछन्, ‘हामी बसेको ठाउँमा घर बनाउन पाइँदैन।’

सपनामै उनले त्यहाँ ठूलो इनार देखे। इनारबाट पानी तानेर बालिकाले गाग्री र पाथी भरिदिए। यस्तो सपना देखेपछि उनले मन्दिर बनाउने संकल्प गरे। रमेशसँगको भेटपछि उनको अभियान सफल भयो। यसरी ०६७ चैतमा नल्लुमा पाथीभरा स्थापना गरियो।

प्राकृतिक हिसाबले समेत पाथीभरा क्षेत्र सुन्दर छ। मन्दिर क्षेत्रमा सामान्य खाजा घर छ। नजिकैको गाउँमा तामाङ समुदायले होमस्टे गएको दसैदेखि सुरुवात गरेको छ। १० देखि १२ जनासम्म बस्न सकिन्छ। यहाँ अर्गानिक खानासंगै तामाङ कला संस्कृति हेर्दै बस्न सकिन्छ।

सम्पर्क: यज्ञबहादुर घलान– ९८४३०५८८६५
कसरी पुग्नेः लगनखेलबाट २० किमि दूरीमा नल्लु पाथीभरा। पाथीभरा मन्दिरको फेदीसम्म गाडी जाने सडक छ।

दलचोकी
दक्षिणी भेगको हिलस्टेशन हो दलचोकी (२,२०० मिटर)। यहाँको डाँडाबाट सूर्योदय र सूर्यास्त राम्रो देखिन्छ। आकाश उघ्रिएका बेला छयाङ्ङ हिमाल देखिन्छन्–अन्नपूर्ण, मनास्लु, गणेश, दोर्जे लाक्पा, लाङटाङ, गौरीशंकर लगायत हिमशृङखला।

डाँडामा मनकामना मन्दिर छ। मनकामना मन्दिरबाट माथि डाँडाको टुप्पा ( २३०० मिटर)मा भ्यूटावर निर्माण हुँदै छ जहाँबाट चारैतिर राम्रो दृष्यावलोकन गर्न सकिन्छ। गाउँमा बाहुन, क्षेत्री, तामाङ, मगर, नगरकोटी र सुनुवार समुदायको बसोबास छ। गाउँले कृषिमा निर्भर छन्।

दलचोकीमा प्रकृतिप्रेमी समूहले निरोग आनन्दधाम (२,१६५ मिटर) बनाएको छ। समूहले उचित आहार, विहार र विचारको अभ्यासबाट आनन्दित रहने ज्ञान बाँड्न आनन्दधाम बनाएको। निरोग आनन्दको सरल, प्राकृतिक, फराकिलो राजमार्गमा हिँडाउने अभ्यास गराइन्छ धाममा। आनन्दधाम सात रोपनीमा फैलेको छ जहाँ एकैपटक सय जनाले आवासीय ध्यान, योग र अभ्यास गर्न सक्छन्। त्यहाँ उचित आहार, विहार र विचारको व्यवहारिक अभ्यास गराइन्छ। दलचोकी हाइकिङका लागि राम्रो गन्तव्य हो। त्यहाँ पुग्दा मन रिचार्ज हुन्छ। तनावबाट मुक्ति मिल्छ। बाटोभरी चराको चिरबिर आवाजले आनन्दित बनाउँछ। असोजदेखि हिमाल खुल्छन्। त्यतिबेला उत्तरतिर चाँदीझैं टल्किन्छन्, हिमाल। चैतवैशाखमा वनैभरि लालीगुराँस फुल्छ।

दलचोकीको मौसम अनौठो हुन्छ। हरेक क्षण भुइँकुहिरोमा लुकामारी खेल्छिन् दलचोकी। त्यसैले यसलाई काठमाडौंको भेडेटार भन्न सकिन्छ। छिनमै घाम लाग्छ, छिनमै बादल मडारिन्छ। गाउँमा खाजा घर छन्। सामान्य खाना र बास पाइन्छ।
सम्पर्क: मदन थापा मगर–९८६५०९३७६९   
कसरी पुग्ने: लगनखेलबाट २१ किमि दूरीमा दलचोकी। लगनखेलबाट लेले हुँदै दलचोकीसम्म बस चल्छ।

दक्षिण ललितपुर यस्तै प्राकृतिक सौन्दर्य र सुन्दर मनले भरिएका मनहरूको बासस्थान हो। काठमाडौसँग कुम जोडेर बसेको छ दक्षिण ललितपुर। तर हामी ललितपुर भन्नेबित्तिकै लगनखेल, पाटन वरपरका केही स्थानलाई मात्र चिन्छौ। दक्षिण ललितपुर ३ गाउँपालिका मिलेर बनेको छ– कोन्ज्योसोम, महाङ्काल र बागमति गाउँपालिका।

दक्षिण ललितपुर प्राकृतिक सम्पदाको खानी हो। यहि सौन्दर्य समेटेर यसलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिन्छ। यहाँका तीनै वटा गाउँपालिकामा आआफ्नै कला, संस्कृति र मौलिकता छन्। दक्षिण ललितपुर प्रकृतिक सौन्दर्यले मात्र होइन, धार्मिक केन्द्रहरूले समेत प्रख्यात छ। गोटीखेलमा रहेको बैतरणीधाम, कालेश्वर, गिम्दीको चमेरे गुफा, इकुडोलको माझखण्ड विहार,  भट्टेडाँडाको राडर टावर पनि यहाँका थप आकर्षण हुन्।

सबैतिर पहाडी इलाका छ। असोजदेखि हिमाल खुल्छन्। हिमालको सुन्दर दृष्य, शीतल बतास अनि पहारिलो घामसंगै उकाली ओरालीमा पसिना चुहाउँदै हिँडदा प्रकृतिको सामीप्य मिल्छ। गाउँले जीवनको स्वाद पाइन्छ। अर्को कुरा फागुन–चैतमा डाँडै राताम्मे हुने गरि गुराँसले यौवन छर्छ। त्यस्तै मनुसनका बेला भुइँकुहिरो उडेर डाँडालाई ढाक्दा पनि स्वर्गको अनुभूति मिल्छ। त्यसैले प्राकृतिक, सांस्कृतिकसँगै कृषि पर्यटन विकासमा समर्पित हुन सके दक्षिण ललितपुर आर्थिक हिसाबले समृद्ध बन्न सक्छ। त्यसका लागि स्थानीय, गाउँपालिका, सरकार, पर्यटन बोर्ड लगायत सबै सरोकारवालाले हातेमालो गर्नुपर्छ।

यही सुन्दर दक्षिण ललितपुरमा पहेंलपुर तोरीबारीको सौन्दर्यमा रमाउँदै हिमालसँग आँखा झिम्क्याउन जाने होन त ?
(महर्जन प्रकृतिप्रेमी समूहसँग सम्बद्ध छिन्।)


 

तिप्चे झरनामा प्रकृतिप्रेमी समूह
पहेंलपुर तोरीबारीमा रंगीविरंगी फुल जस्तै पदयात्रीको लर्को। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको नीलो क्याप लगाएका पदयात्री देखेर गाउँले छक्क परे। प्रकृतिप्रेमी समूहको १५० औं पदयात्रामा सहभागी भएर कात्तिक २८ गते चौघरेको तिप्चे झरनामा पुग्यौं हामी।

हामीलाई कोन्ज्योसोमका प्रमुख गोपिलाल सिंताङले स्वागत गर्नु भयो। पहिलो पटक ठूलो संख्यामा पदयात्री आफ्नो गाउँमा आएको देखेर गाउँले पनि खुसी बने। हाम्रो समूहले स्वस्थ पर्यटन विकास गर्ने उद्देश्यले यस्तै लुकेर बसेका बस्तीहरूलाई प्रचार गर्न विगत १३ वर्षदेखि निरन्तर हरेक महिनाको चौथो शनिबार हाइकिङ गराउँदै आएको छ।  
हामी चौघरेको सिंग भन्ज्याङसम्म ८ वटा बसमा पुगेका थियौं। त्यहाँबाट ठाडो आरालो १.१ किमी झरेर तिप्चे झरनामा पुग्यौं। कलकल बगेकी सेती झरना। झरना वरपर फोटो खिच्न व्यस्त पदयात्री। प्रकृतिकै सन्तान भएकाले हामी चाँडै प्रकृतिसँग घुलमिल हुन्छौं।

विदेशमा मानव निर्मित सौन्दर्य हेर्न मान्छेको ओइरो लाग्छ तर हाम्रो देशमा यति सुन्दर प्राकृतिक सम्पदाको खानी छ। हरिया डाँडा बीचमा कति सुन्दर जल सौन्दर्य ! हामी सबै रमायौं। झरनाको किनारमा हामीलाई ढिँडो पकाउन व्यस्त थिए गाउँले। प्रकृतिको नजिक पुगेर प्राकृतिक खाना पाक्दै गरेको दृश्य सुन्दर थियो। स्वास्थ्यका लागि पदयात्रा गरिन्छ। त्यसैले संभव भएसम्म स्थानीय ठाउँकै खाजा वा खाना खानेर फर्कंदा त्यहाँबाट सागसब्जी वा फलफुल कोसेली ल्याउँदा गाउँलेलाई फाइदा पुग्छ।

हामीले झरनाको फेदमा बसेर घट्टामा पिँधेकोे मकैको पिठोबाट बनेको ढिँडो, सिस्नुको साग, गुन्द्रुकको अचार अनि दुई थरी तरकारी खायौं। यसरी अर्गानिक खाना पाउँदा सबै पदयात्रीको अनुहारमा खुसी छायो। हामीलाई ढिँडो खुवाउन मेहेनत गर्ने सबैलाई धन्यवाद !

त्यो दिन हामीले त्यहाँबाट गएकै ठाडो उकालो चढेर बाघ भैरव, लाँकुरी भन्ज्याङ हुदै नल्लुुसम्म करिब १० किमी पदयात्रा ग-यौं। पदयात्रामा पहाडी जीवनशैली, पहेंलपुर तोरीबारी अनि गाउँलेको मिठो मुस्कान पायौं। फर्कंदा अर्गानिक सब्जी किनेर ल्यायौं। यति सुन्दर ठाउँको प्रचार हुन बाँकी छ। यसमा सरोकारवालाको ध्यानाकर्षण हुन जरुरी छ।

कसरी पुग्ने ः लगनखेलबाट चौघरेको सिंगभन्ज्याङसम्म बसमा। लगनखेल–सिंगभन्ज्याङ २५ किमी। सिंगभन्ज्याङबाट ठाडो ओरालो हुँदै तिप्चे झरना र झरनाबाट गएकै बाटो उकालो चढेर बाघभैरव, लाँकुरी भन्ज्याङ हुँदै नल्लु खोलासम्म पदयात्रा। सिंगभन्ज्याङ–तिप्चे झरना १.५ किमी ठाडो ओरालो, झरना– बाघभैरव १.५ किमी, बाघभैरव– लाँकुरी २ किमी, लाँकुरी– नल्लु खोला ५ किमी। जम्मा पदयात्रा दुरी १० किमी। समय ४ देखि ५ घण्टा।

आउनुस् है !
सन्तलाल लामा
वडाध्यक्ष, कोन्ज्योसोम गाउँपालिका–१
हाम्रो गाउँ सुन्दर छ। तिप्चे झरना मात्र होइन, घुम्नका लागि हाम्रो गाउँमा अरू ठाउँ पनि छन्। हाम्रो गाउँमा आउनु भएका पदयात्रीलाई ढिँडो र तरकारी बनाएर खुवाउन पाउँदा एकदमै खुसी लाग्यो। यति धेरै (२५० जना)ं पदयात्री एकै पटक गाउँमा आउँदा हामीमा उत्साह बढेको छ। हामी गाउँका अन्य गन्तव्यलाई पनि चम्काउने छौं। सबैलाई हाम्रो गाउँमा स्वागत छ है !

पर्यटनमा जोड
गोपिलाल सिंताङ
अध्यक्ष, कोन्ज्योसोम गाउँपालिका
पहाडी भुगोल भएको गाउँपालिका भएकाले हामीले कृषि र पर्यटनमा जोड दिएका छौं। हामी अर्गानिक खेतीसँगै पर्यटन प्रवद्र्धन गरिरहेका छौं। यहाँका प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदालाई समेटेर प्रचार गर्दैछौं। होमस्टेहरूलाई नयाँ स्वरुपमा सञ्चालन गर्दैछौं। त्यसका लागि गाउँलेलाई होमस्टे गरिएका ठाउँमा पु-याएर प्रशिक्षण दिने काम हुँदैछ।

हामी पर्यटन पूर्वाधार विकासका काम गरिरहेका छौं। गुप्तेश्वर गुफा भन्दा माथि कोन्ज्योसोमको प्रतिमा (तीनवटा बुद्धका मूर्ति) बनाउँदैछौं। १० देखि १५ वर्षमा निर्माण पुरा हुनेछ। त्यसैगरी काम्लेचौरमा फुटबल चौर बनाउँदै छौं। त्यस्तै महिलालाई सिपमुलक तालिम दिएर गाउँमै स्वरोजगार सृजना गराउने अभियान जारी छ। हामीले विदेशिएका युवालाई गाउँ फर्क अभियान चलाएका छौं। विदेशबाट फर्केर आउनेलाई गाउँमै बाख्रा पालन, गाइभैंसी पालन र अगार्निक तरकारी खेती गर्न पाँच लाख रुपैयाँसम्मको ऋण सहयोग गछौं।

हामी आफ्नो गाउँ आफैं बनाउँछौं। मेहेनत गर्न सके गाउँमै सुन फलाउन सकिन्छ। हामी कोन्ज्योसोमलाई अर्गानिक कृषि पर्यटन गन्तव्य बनाउने प्रयासमा छौं। हामीलाई तपाइँहरू सबैको साथ र सहयोगको खाँचो छ।








यसमा तपाईको मत

अन्य समाचार

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

Ncell Footer Ad