नियात्रा

स्याउगाले यालबाङ

शनिबार, १४ मङि्सर २०७६, ०९ : ५१ युवराज नयाँघरे

‘स्वागत छ यालबाङमा !’
बिहानै छ।
चिसो र घामले लखेटालखेट गरे पनि उज्यालो र झलमल तातो जितिरहेको छ। घाँटीको गलबन्दी खोलेर थन्काए पनि खोलिनँ कान छोपुवा टोपी।

टेकेलगत्तै यालबाङको माटोले भनेको थियो, ‘दुखाइपिराइ भुल्नु। यालबाङमा थकाइ मार्नु। फेरि पनि स्वागत !’
टिपरबाट झरेपछि हामी पश्चिमतिर लाग्यौँ।

अघि परैबाट पाखोमा बसेको यालबाङ देख्दा मनमा सरेथ्यो पखेराको झलमल्ल उज्यालो। मास्तिर हरियो पहाडको थुम्के–थुम्के तरेली। त्यो तरेलीलाई रूख, पोथ्रा र बुट्यानले सिँगारेथे।
दक्षिणतिर हुम्ला कर्णालीको गर्जन छ अटुट।

बाटाका दक्षिणपट्टि लस्करै घर थिए। मैले सरर्र हेरेँ यालबाङलाई। मीठो घाममा आङ तन्काएर बसिरहेथ्यो यालबाङ।
बाटो मास्तिर ठूलो, भव्य र सुन्दर गुम्बा थियो।

एकछिन आँखा चिम्लेँ। सारा चराचर जगत् बिर्सें। बा–आमालाई मात्र सम्झिरहेँ। पहाड, हिमाल, ताल, नदी, वन, हावा र घामलाई शरीरबाट बिदा गरेँ। मेरा शरीरमा टाँसिएका प्रकृतिका सबै तत्व झन्झन् गहिरिएर बसे।
मैले थपाउन खोजेँ, ती टाँसिन खोजे।

अगाडिको गुम्बाको मन्त्र हृदयको कम्पमा झन्–झन् सर्सरायो। मैले जितिनँ, नहारेका घामपानीले मुसुक्क हाँसेर भने, ‘नभाग, जीवन नै यही हो !’
त्यही भन्यो, अगाडिको गुम्बाले पनि।
‘२०४५ सालमा बन्न सुरु भएको यो गुम्बा। बनिसक्न लामै समय लाग्यो।’
कन्जोकले भने।
म लम्किरहेको छु। मेरो छेउमा छन्, मुन थापा।

खादा र धुप किनेर गुम्बाभित्र पस्यौँ हामी। भव्य पूजा भइरहेथ्यो लामाहरूको मन्त्रसँगै। ठूला–ठूला तनक्क तन्केका सुरिला बाजा बजिरहेथे। बालक, किशोर, बैँसे र वृद्ध भिक्षुहरू ध्यानमा मग्न थिए, कतै मन्त्रमा निमग्न थिए, कतै पूजामा लीन थिए।

हामी हिल्सा जाने मूल बाटोलाई बिदा गरेर दक्षिणपट्टिको गोरेटोतिर लाग्यौँ। पश्चिमपट्टिको खोँचमा थियो– महाबौद्ध माध्यमिक विद्यालय। विद्यालयको चौरमा केटाकेटीको हुल चर्कै थियो।

अलिक ओरालो र तेर्पे भएर एउटा काठेबार नाघेर पस्यौँ, आधारको कार्यालयमा। अबको दुई रात मैले यही घरमा ज्यान बिसाउनु छ, झोला बिसाउनु छ र मन सुस्ताउनु छ।
२२ जेठ।
खाना खाएर म ढुक्कले निदाएँ। निकै दिनदेखि शरीरमा भने जस्तो ओछ्यानको तातो र सुबिस्ता भित्रिएको थिएन। राम्रोसँग ओछ्यान र शरीरको मिलाप नहुँदा थकान थपिएको थपियै थियो।
‘भरे साँझ अर्कै गाउँ जाउँला !’
‘तर भोलि बिहान गुम्बा र यालबाङका दुई गाउँ पसौँला !’
कन्जोकले मलाई आफ्नो योजना सुनाए।
०००
यालबाङमा २५ घर रहेछन्।
हुम्लाका पुराना गाउँमा यालबाङको परिचय छ बेग्लै। हामी बरालिन निस्क्यौँ साँझपख। चिसोले कान, नाक र ओठलाई नचिनेको व्यवहार गरिरह्यो। उसको जिस्काइलाई खेलाँची मानिहाल्ने स्थिति नि थिएन।

उत्तर–दक्षिण फैलेको देखिन्थ्यो यालबाङ। तल कर्णालीका किनारदेखि माथि पहाडका कम्मरसम्म यालबाङको सौन्दर्य फैलिएको थियो।

यालबाङको माझबाट हिल्सा जाने ठूलो बाटो सुलुलु गएको छ। यो बाटोमा केही चारपांग्रेले उडाउँछन् धुलो।

हेलीले बोकेर ल्याएका यी ट्रिपर हेर्दै यालबाङका बूढाबूढी छक्कै मान्छन्। उनीहरूले कल्पना नगरेको कुरो यहाँ भइरहेको थियो। उनीहरूले सोच्नै नसकेको कुरा यतिखेर भइरहेको थियो। उनीहरूले जतिसुकै मरिमेटेर सपना देखे पनि छक्कैलाग्दो विपना भइरहेको थियो, यस बेला।
राति भान्सामा अन्डा पाकेछ।
‘यै हो सिकार !’
मुनले अन्डाको रोटी थालमा राख्दै भनेथे।

यालबाङमा मासु काट्न नपाइने रहेछ। गाउँलेले काटमार गर्दा रहेनछन्। गुम्बा बनेपछि गाउँमा उर्दीजस्तै भएछ, ‘हिंसा नगर्नू, काटमार नगर्नू।’

त्यही भएर मासु खान मानिसहरू सिमीकोटसम्म पुग्छन् रे ! मासु किन्नु परे, सिमीकोटै पुग्नुपर्ने रहेछ।

अघिल्लो वर्ष क्रोचो लुम्बादेखि यांगुर हिमालसम्म हिउँ परेछ भयानक। तल खेतसम्मै हिउँको थाक थुप्रिएछ। पुया खोलाको डाँडामा थुप्रै मरेछन्– झारल।
यतातिर मासु खाने दुई तरिका रहेछन्।
कि जीवको काल कुर्नुप-यो। कि त अकालमा ठेलिदिनुप-यो।
चरिरहेका याक्लाई कि भीरमा ठेलिदिनुप-यो, कि त ऊ कहिले मर्छ भनेर कुरिरहनुप¥यो। सोझै काटमार गर्न नपाएपछि यो असामान्य पनि भएन।

गएको वर्ष पाखामा चर्न आएका झारल हिउँमा परेछन्। हिउँमा पुरिएका खुट्टा बाहेक मास्तिरको जिउ काटेर मानिसहरूले मस्तले खाएछन्। आलो मासुको स्वाद खाएर निकै रमाए हुँदा हुन्, गाउँलेहरू।

हिउँ घट्दै गएपछि काटिएका खुट्टा बिस्तारै देखिए झारलका। यो कुरा एक कान दुई कान हुँदै गयो। हिउँको भासमा परेका झारलले अकालमा ज्यान गुमाएथे।

घोरल, झारल र नाउर निकै पाइने यतातिर, अब उप्रान्त कसैले काटमार गर्न नपाइने उर्दी नै जारी भएछ।
‘नाउर यै !’
‘घोरल पनि यै !’
‘झारल पनि यै !’
थापा, लामा र मैले अण्डा खाँदा भनेथ्यौँ।
मैले अरु थपेर हसाएँ, ‘मलाई मटन पनि यै। चिकेन पनि यै।’
०००
१ असार।
बिहान पानी छिट्यायो। मन अत्यासियो।
आज दिनभरि जस्तो यालबाङ घुमिसक्नु छ मैले। यालबाङको अनुहार हेरिसक्नु छ मैले। यालबाङसँग गाँसिएका आँगन नाघिसक्नु छ मैले।

पानी छिट्याउँदै गरे पनि हामी गुम्बातिर लाग्यौँ। बाटो मास्तिर ठूलै ठाउँ ओगटेको थियो नाम्खा ख्युङजोङ गुम्बाले।
कन्जोक र म गुम्बाको आँगनमा पुग्यौँ।
‘मिलेसम्म रिन्पोछेसँग भेट्टाउँछु म !’
लामाले बाटैदेखि भनेथे।
त्यहीँ गएपछि थाहा भो, रिन्पोछे थिएनन् गुम्बामा।
यो गुम्बा बनाउनमा पेमा रिक्साल रिन्पोछेको ठूलो लगानी रै’छ। रिन्पोछेको निकै मेहनत र पसिना चुहाइले यो भव्य गुम्बा बन्न सकेछ।

खादा र धुप किनेर गुम्बाभित्र पस्यौँ हामी। भव्य पूजा भइरहेथ्यो लामाहरूको मन्त्रसँगै। ठूला–ठूला तनक्क तन्केका सुरिला बाजा बजिरहेथे त्यो बेला। बालक, किशोर, बैँसे र वृद्ध भिक्षुहरू ध्यानमा मग्न थिए, कतै मन्त्रमा निमग्न थिए, कतै पूजामा लीन थिए।

एकपटक मन्त्रको भुनभुन भयो अविरल। अर्कोपटक बाजाहरू धोद्रे स्वरमा बजे अविचल। अनि दुवै स्वाट्टै हराए। हृदय भयो चकमन्न। त्यही सुनसानमा म पश्चिमपट्टि रहेको छात्राबासतिर गएँ।
त्यहाँ दिङ्गाका छेफेल लामा, कारखाङका तेन्जन लामा, खगाल गाउँका ताक्पार लामा, यारीका जाङमो लामा, हेक्पाका सोनाम कोन्छोक लामा र ताङ्गिनका दावा तुन्डुप लामासँग भेट भयो।
उनीहरू आएका थिए चन्दा दिन। रिन्पोछेले पूजा गरिदिऊन् भनेर बाहिरै खादा किनेर कुरिरहेथे।
‘कुन पूजा ?’ सोधैं मैले।
‘छेच्यु र नेर्ङा पूजा।’
यी सबै पूजा रिन्पोछेले गर्ने परम्परा रहेछ।
गुम्बा ठूलो थियो। मूल चैत्यबाहेक वरिपरि घेरिएका अरु पठनपाठन गरिने कक्षा, आवास, भोजन, पूजापाठ, बिक्री, भण्डार, सुरक्षा लगायत सयौँ कक्षहरू थिए। अत्यन्तै कलात्मक गुम्बाभन्दा पूर्वतिर थियो अर्को आकर्षक स्तूप। केही फन्को मारेर तल सडकतिर झ-यौँ।
‘भोक मारौँ है !’
मैले खोजेको कुरा भने कन्जोकले।
त्यसपछि हामी गुँडमै फर्कियौँ। जाडो थियो। मस्तले खाइयो, थपिथपी।
०००
घाम ढल्केपछि हामी यालबाङ गाउँ घुम्न गयौँ।
पुरानो र नयाँ गरी दुईवटा गाउँ थिए, यालबाङका। पुरानो गाउँ तल कर्णालीको किनारसम्मै लेपासिएको थियो। बाटो खुलेपछि धेरै घर मास्तिर नि बनेथे।
हामी अघिल्लो दिन चारपांग्रेमा झरेको ठाउँसम्म मूल बाटो भएर पुग्यौँ।
सोनाम त्यही भेटिइन्।
‘खोइ त निमा ?’
मैले सोधिहालेँ।
‘गुम्बा गएकी छ !’
मनमनै लाग्यो, ‘अब यो युवतीको मन थिरमा आउला कि !’

हामी नयाँ गाउँ नफिरी सडकै सडक पूर्वतिर लाग्यौँ। निकै पर पुगेर फेरि ओरालो झरेपछि पुरानो गाउँ पुगिन्थ्यो यालबाङको।

कर्णालीपारि अनौठो खपटे–खपटे पहाड थियो। ती खपटामा पनि नाउर र झारल उफ्रिरहेका देखिन्थे। पखेरा थिए अग्ला न अग्ला।

ती अरिमट्ठे र अक्करे ढुंगामा हिउँ राशि खसिरहेको देखिन्थ्यो, खतत्त–खतत्त। कति ढुंगेनी चुच्चा र चेपमा हिउँ जब्बरिएर बसेको देखिन्थ्यो।
यतिखेर मै नि कतै खस्थेँ, कतै जब्बरिएर बस्न पुग्थेँ।

हिउँले ताछेका, खारेका, तिखारेका, मुठारेका र घिच्याइमुन्ट्याई गरेका डाँडा जताततै टुप्लुकिन्थे। त्यस्तै जताततै हप्की–दप्की लाएर सम्मिएका खर्क र पाटनहरू नि देखिरहेथेँ म।

हुम्लामा खसहरूलाई टोपीटाले भन्छन् लामाहरूले। उनीहरूले नै रोङवा भनेको औल वा गर्मीको बासिन्दा भन्ने अर्थ रहेछ।
हामी यालबाङको पुरानो भेरा गाउँमा छि-यौँ। माटो छापेका, अगाडिपट्टि ह्वांगै थिए माथिल्लो तला। अन्न सुकाउन, घाम ताप्न मिल्ने खालको भाग हरेक घरमा देखिन्थे। सबैजसो घरहरू लड्न आँटेका र पुरानिएका देखिन्थे।

कुनै–कुनै घरका तल्लो तलामा घोडा, झोपा देखिन्थे। केही घरमा फाट्टफुट्ट आइमाईहरू मसिना बच्चा बोकेर यताउता गरेका देखिन्थे। धेरै घरमा ताल्चा ठोकिएको थियो।

स्याउ, आरु र ओखरको लदाबदी थियो पुरानो यालबाङमा। स्याउगाले उज्यालोमा थियो यालबाङ।
धेरै घर त लड्नै लागेका देखिन्थे।
‘खोइ त यहाँका मान्छे ?’
‘सबै मास्तिर सडकमा !’
कन्जोकले भने।

बाटोमा थान देखियो। अनेक रातासेता धजा फर्फराइरहेथे ढुंगेनी– थानमा। गाउँलेले मानिआएका विश्वासमा हाम्रो मनले अविश्वास गर्ने कुरा भएन। हिल्सा र फोलाको देउता थान रै’छ यो ।
यालबाङको पुरानो गाउँ एउटा ठूलो अक्करे ढुंगामाथि बसेको थियो। त्यही ढुंगाको पूर्वी कुनामा भेटिएकी थिइन्, आङमु लामा।
‘जू ! जू !’ नमस्ते फर्कायौँ आङमुको।

कसैगरी उनले फुत्कन दिइनन्। घरमा पसेर पानी खाई उम्कुँला भनेको जुमाको दूध तताइहालिन्। नखाई जानै पाइएन। आङमुको हार्दिकतामा सर्लक्कै गलेँ म।
पुरानो यालबाङमा भेटिएकी उनी नै थिइन्।

त्यसपछि हामी ढुंगेनी उकालो लागेका थियौँ। ढुंगेनी उकालो पूर्वी कुनालाई सबैले मान्दा रहेछन्। लामा बस्तीमा नि हिन्दू शैलीको पूजापाठले मनमा खुल्दुली गरायो।

सबै घर रित्ता, ढल्न लागेका, पाखो खुस्केका र पर्खाल भत्किरहेका देखिन्थे। बाटो आएपछि पुरानो र परम्परा यसैगरी मास्तिर सर्दोरहेछ, सुविधातिर, नयाँ र सहजतातिर जाँदो रहेछ। घरहरूले त्यही बोलिरहेका थिए।

तर इतिहास, परम्परा, हिजोको संसार र चिनुबानु माटैमा मिलाउनुपर्छ भन्ने त छैन होला नि... !
मनमा सिस्नुले हिर्काउन छोडेन।
बडेमानको बसाहाजस्तो ढुंगा छ। अजंगको सेतो हात्ती बसेजस्तो छ, चट्टान त। आँखैले हेरिनभ्याइने साँढेजस्तो छ, आपट्टे चट्टान त।

त्यसैमा कति रूख, लहरा थिए। पानीको सानो खोल्सो नि कुद्दो रहेछ बर्खातिर। कुलेसाका डोब ढुंगाभरि थिए।
ढुंगेनी चुली नाघेर खोल्सो त-यौँ।

हरिया झ्याम्म रूखहरू थिए। सर्लक्क लहलहराएका लहराहरू थिए। नयाँ र पुरानो यालबाङ बस्ती पश्चिम खुर्मुरिने भीर थियो। थिरी–थिरी गर्दै हामी उत्तरतिर लाग्यौँ।

रसिला गराहरू थिए। नयाँ–नयाँ तरकारी, फूल र फलमा रोपाइँ गरेथे गाउँलेले। तर ज्यान गुडेर एकैचोटि तल हुम्ला कर्णालीमा चोबलिन्थ्यो। डराई–डराई मैले खुट्टा लम्काएँ।

मास्तिर पुगेपछि अर्को ढुंगेनी थुम्को भेटियो। पसल थिए केही। मान्छेको भीडभाड थियो बेपत्तै।
‘यो अब नयाँ यालबाङ !’
कन्जोक अघिअघि थिए।
उनले सेरोफेरो देखाए। ३०–३२ नयाँ रङ, शैली, रूप र ढंगका घरहरू बनेका थिए। ती थिए अलिक छरिता र उज्याला। ती काठ र जस्ताले सिँगारिएका थिए। ती आँखामा चमक भर्ने रङले सजिएका थिए।
बाटैमा एउटी सुत्केरी भेटिइन्।
‘कताबाट ?’
‘तालिम लिएर !’
‘केको तालिम नि ?’
‘तरकारी उमार्ने !’

ती जम्मा ५ दिनकी सुत्केरीलाई निहालेँ। उनको बच्चालाई हेरेँ। उनको साहस र रुचिलाई पर्गेलेँ।
खोल्सो तरेर उकालो लाग्यौँ हामी। सुत्केरीको जोडी पछाडि प-यो।
‘बिचरी भत्ताको आशमा !’
कन्जोकले कुरो खोले।
‘यिनले तर्कारी त के रोप्लिन्। दुई–चार सय भए पनि भत्ता आउला र भोक टारुँला, बच्चालाई स्याहार होला भनेर...।’
मैले थपेँ, ‘...सबै कष्ट भुल्दै भए पनि आएकी सुत्केरी बिचरी !’
यालबाङको नयाँ बस्तीमा सरकारी अड्डा, प्रहरी थाना, गाउँपालिकाको कार्यालय नि यतै रहेछ। सबैमा आँखा लगाउँदै हामी माथिको गुम्बानिर आइपुग्यौँ।
घाम डुबुँला–डुबुँला भएथ्यो।
०००
हामी आधार पुग्नु अगाडिको थुम्कोमा बस्यौँ। हिल्सा गएको बाटो नौडाँडा पारिका थुम्का, चुली र वन भएर उत्तर–पश्चिमतिर बेगिइरह्यो।
मैले पूर्वतिर पसारिएको ठूलो चौर देखाएँ, तल हुम्ला कर्णाली तीरमा।
‘त्यो यालबाङ चौर !’
कन्जोकले देखाए।

‘त्यहाँ ५०–६० वर्ष अघिसम्म ठूलो हाट बजार लाग्ने गथ्र्यो। दार्चुलादेखिका मानिसहरू यहाँ आउँथे। भोटका व्यापारी नि भित्रिन्थे। तिब्बतका सामानहरू लस्कर बाँधेर घोडा र याकमा आउँथे। हाम्रै जुम्ला, बाजुरा, कालीकोटेहरू नि बर्खाभरिलाई पुग्ने अन्नपात किन्न आउँथे रे।’
‘अहिले बजार नि छैन। रित्तो चौर त्यत्तिकै छ। अब यो बाटो बनेसँगै केही होला कि ?’
लामाले बोलेको सुनेँ।

जाडो थियो। धेरै हिँडेकाले तातेथ्यो जिउ। तर नाक र कान भने चिसोले डामेर घर पस्न मन गरिहाल्थे।

हामी उभिए पूर्वतिर थियो एउटा ठूलो झोलुङ्गे पुल। पुलबाट पूर्वतिर लागेको गोरेटो ठाडै दक्षिणको चेप भएर एकनासले उकालिइरहेथ्यो।
‘काँसम्म पुग्छ यो बाटो ? म अनकन्टार पो देख्छु त उता।’
‘याला पुग्छ। रानी सैना र सैपाल पछाडि भएर याला पुगिन्छ। त्यहाँ पनि ३२ घर छन्। चौरी पालेर बसेका छन्। भीरैभीर भएर याला पुगिन्छ। सिकार खेलेर यालाका मान्छे बाँच्छन्।’
‘अहिले पनि अनकन्टारको जीवन छ त्यहाँ। सल्ली, यालबाङ र मुचुबाट यालामा पुगिन्छ। जुडिबुटी, गुच्ची च्याऊ, यार्सागुम्बा खोजेर बाँचेका छन् लामाहरू, यालामा।’
कन्जोक बोलिरा’छन्।
४२५० मिटर काटेर बल्ल पुगिन्छ याला। जब कि यालाको उचाइ रहेछ, ३६५० मिटर। साह्रै कष्ट काटेर त्यहाँ पुगिँदो रहेछ।
यालालाई घोर दुःख, महाकष्ट र औधि आपतको रूपमा हेर्ने चलन रहेछ हुम्लामा।
‘याला नजा, पुया नजा
सग्गे लाग्न हिउँ छ
बरु म अनुने खाउँला
एक्लो शाहीको जिउ छ।’
स्वास्नीले लोग्नेलाई यसो भनेर सम्झाउँछे। गोठ र खर्क जाने लोग्नेलाई यै गीतमार्फत फकाएको चर्चाले यालाको विकटता देखिन्थ्यो।
मुगु, डोल्पा, बझाङतिरका नि याला वरपर यार्सागुम्बा टिप्न जाँदा रहेछन्। तर त्यताको यार्सा उत्तिको गतिलो हुन्न रे।
त्यसो त यतैतिर पाइने रहेछ, खोट सल्ला, कुटुकी, जटामसी र आत्तिस। त्यस्तै पाँच औंले, पदम चाल, सुनपाती, वन लसुन, सतुवा जस्ता जडीबुटीहरू सबै चीनतिर जान्छन् रे।
हामीले चिनेर पनि मूल्य बुझेनौँ। जानेर पनि अझै मूल्यवान् बनाउन सकेनौँ। त्यो छटपटी यालबाङको यो भुइँले झन् बिउँताइरा’छ मलाई।
यालबाङको लेककै खर्क, पुया खोला जाने पुल त्यै थियो। याला जाने बाटो नि त्यै कर्णालीको पुल नाघेपछि तेर्छिदो रहेछ।
‘के छ र हेरुँ, को छ र भेटुँ’ का तुलबुलमा मेरा आँखा थिए। त्यसै–त्यसै पुलकित थिएँ म।
कीरा लाग्ने, गर्मी लाग्ने भएकाले अब गोठालाले बिस्तारै भेडा, च्यांग्रा यालाको लेकतिर लाने समय भएको रहेछ। फेरि बुकी पलाउने माथि पाटनमा भेडाबाख्रा लगिने रहेछ।
मैले पारि पुयाको उकालीमा गहिरेर हेरेँ, याला जाने ठाडै उकालीमा सेता–काला भेडाबाख्रा चलमलाएको देखिन्थे।
गोठालाले उकालिरहेथे भेडाका बथान पुया खोलाको उकालीमा। तल कर्णालीको छालमा थपिएका थपिएकै थिए पानीका छाल र गुजुल्टाहरू।
यालबाङको अनुहार टाँसियो मीठो भएर छातीभरि।
०००








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad