६ वैशाख २०८१ बिहीबार
अन्य

बिहेको बातचित

काठमाडौं - मंसिरलाई विशेषगरी विवाहको महिना भनिन्छ। यो महिनामा हिन्दूहरुको पर्व विवाह पञ्चमी पनि पर्छ। त्यसैले मंसिर लागेसँगै घर–परिवार, छरछिमेक र साथीसँगी उमेर पुगेका युवायुवतीको विवाहको चर्चा हुने गर्छ। काम र करिअरमा केन्द्रित भइरहेका कलाकार महिलाले पनि मंसिरमा हुने बिहे चर्चाको सामना गर्नुपर्छ।

१५ वर्षअघिसम्म कलाकार दीपाश्री निरौलालाई मंसिर लागेसँगै घर–परिवारबाट विवाहको कुरा आउँथ्यो। त्यतिबेला उनलाई पनि विवाह गरिहाल्नुपर्छ भन्ने लाग्थ्यो। अहिले उनी भन्छिन्, ‘विवाह फुसर्दमा गरिने काम हो। तर म विवाहको विरोधी होइन। परिपक्व नभई हतार र दबाबमा गरेको विवाह सफल नहोला भन्ने लाग्छ।’

छोरीले कलाकारिता क्षेत्रमा कमाएको मान, प्रतिष्ठालाई देखेर अहिले परिवारले विवाह गर्नैपर्छ भनेर जोड नगरेको उनले बताइन्। विवाह कुनै निश्चित उमेरमा गर्नैपर्छ भन्ने उनलाई लाग्दैन। ढिलै भए पनि आफूले विवाह गर्ने उनको भनाइ छ। ‘तर, विवाहपछि कलाकारिता क्षेत्रलाई भने छोड्छु होला।’

‘म विवाहको विरोधी होइन। परिपक्व नभई हतार र दबाबमा गरेको विवाह सफल नहोला भन्ने लाग्छ,’ दीपाश्री निरौला

विवाहलाई धेरैले आफ्नो जीवनकै महत्वपूर्ण निर्णयका रूपमा लिन्छन्। लोकदोहोरीको क्षेत्रमा चर्चा कमाएकी मोडल पार्वती राईको बुझाइमा एक–अर्कालाई साथ दिने प्रतिबद्धता, त्यसका लागि सम्झौता हो– विवाह। परिवारकी जेठी छोरी भएकाले आफूले परिवार र आफन्तबाट मंसिर वा कहिल्यै पनि विवाहको दबाब झेल्नुनपरेको उनको भनाइ छ। ‘मलाई विवाहका विषयमा निर्णय गर्न बुवाआमाले पूरा स्वतन्त्रता दिनुभएको छ,’ उनी भन्छिन्, ‘म यस्तो मान्छेसँग विवाह गर्छु, जोसँग मेरो चिना होइन, मन मिलोस्।’

कहिले बिहे गर्ने भन्नेबारे भने उनले निर्णय लिइसकेकी छैनन्। ‘आफ्नो भविष्य बनाउने काममा व्यस्त हुँदाहुँदै विवाहको बारेमा सोच्ने फुर्सद हुँदैन,’ उनी भन्छिन्, ‘जीवनलाई अलिक नजिकबाट नियालेपछि विवाह गर्नै मन नलाग्ने रहेछ।’
विवाह जस्तो निर्णय हतार गरेर, भावनामा बहकिएर, कसैको कुरामा पग्लिएर लिन नहुने, पछि डिभोर्स हुन सक्ने उनको तर्क छ।

लोकगीत अभियनबाट छोटो समयमै चर्चा कमाएकी मोडल करिश्मा ढकाललाई भने विवाहको केही चिन्ता छैन। भर्खर २० पार गरेकी उनी माया पाउन र घरजम चलाउन विवाह भने गर्नुपर्ने बताउँछिन्। ‘विवाह गर्ने उमेर नपुगेर वा कान्छी छोरी भएर होला, घर–परिवार, आफन्त कतैबाट अहिलेसम्म मेरो विवाहको कुरा उठेको छैन,’ करिश्मा भन्छिन्, ‘म सबै कुरामा योग्य भएपछि मात्रै विवाह गर्ने सोचमा छु, त्यसका लागि ६÷७ वर्ष पनि लाग्न सक्छ।’

नायिका नीता ढुंगानाले पनि अहिलेसम्म विवाहका लागि घरबाट कुनै दबाब झेल्नुपरेको छैन। ‘परिवारमा सबै बुझ्ने हुनुहुन्छ, उहाँहरुले आफ्नो हिसाबले गर भन्नुहुन्छ,’ उनी भन्छिन्, ‘लाइफ प्लानिङ सोचेजस्तो र  चाहेजस्तो नहुने भएकाले मैले विवाह कहिले गर्छु, आफैंलाई पत्तो छैन, तर गर्न चाहिँ एक दिन अवश्य गर्छु।’ विवाह जीवनभरको आधार भएकाले सोचेर, बुझेर मात्रै बिहे गर्नुपर्ने उनको बुझाइ छ।

हामीकहाँ विवाह वा घरजम गर्नु र सन्तान जन्माउनुलाई महत्वपूर्ण रुपमा हेरिन्छ। उमेर पुगेका छोराछोरीलाई घरपरिवारबाटै विवाहको कुरा चलाइन्छ। प्रायः युवतीको जस्तै अनुभव छ, नायिका आँचल शर्माको पनि। उनी भन्छिन्, ‘मंसिर लाग्दा होस् या अन्य महिनामा, घरमा मेरो विवाहको बारेमा कुरा चलिरहेकै हुन्छ। राम्रो मान्छे आएको अवस्थामा वैवाहिक सम्बन्धमा बाँधिने मैले पनि योजना बनाएकी छु।’

प्रकाशित: १४ मंसिर २०७६ ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App