७ वैशाख २०८१ शुक्रबार
समाज

इन्टरनेट दुरुपयोग रोक्न साक्षरता बढाउनुपर्नेमा जोड

काठमाडौं – पछिल्लो समय ठूलो चुनौतिका रूपमा देखिएको इन्टरनेटको दुरुपयोग न्यूनीकरण गर्न इन्टनेट साक्षरता बढाउनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिएका छन्। सेन्टर फर मिडिया रिसर्च नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट फ्रिडमसम्बन्धी सम्मेलनमा कार्यपत्र पेश गर्ने र त्यसमाथि टिपप्णी गर्ने विज्ञले यस्तो सुझाएका हुन्। उनीहरुले नेपालमा इन्टरनेट साक्षरता कम भएकाले नागरिकदेखि नीति निर्मातासम्मलाई इन्टरनेटको सही जानकारीबारे चेतना बढाउन आवश्यक रहेको बताए।

सेन्टर फर मिडिया रिसर्च नेपालका संस्थापक अध्यक्ष उज्ज्वल आचार्यले नेपालमा इन्टरनेट दुरुपयोग गर्नेको संख्या बढेको बताउँदै इन्टरनेटको सही उपयोग सिकाउन आवश्यक रहेको बताए। उनले साझा धारणा बनाएर अघि बढ्न सकेमा मात्र इन्टरनेट स्वतन्त्रता कायम हुने बताए।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख चिरञ्जिवी खनालले इन्टरनेटबाट धेरै फाइदा लिन सक्ने भए पनि इन्टरनेट अधिकारका बारेमा धेरैलाई जानकारी नभएको बताए।

इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजीका विज्ञ तथा काठमाडौं विश्व विद्यालयका सहप्राध्यापक डा. सुधांशु दाहालले पर्याप्त जानकारी नहुँदा नागरिक फेक न्यूज र इन्टरनेटको सिकार हुनुपर्ने स्थिति रहेको बताए। उनले इन्टरनेटलाई बदमासको नभई सज्जनको हतियार बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै इन्टरनेट सोसाइटी नेपालका पूर्व अध्यक्ष एवं कानुनविद् सन्तोष सिग्देलले इन्टरनेटमा चुनौती र अवसर दुवै रहेको बताए। उनले अवसरलाई सदुपयोग गर्ने कुरालाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको पनि बताए।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष ऋषिकेष दाहालले अहिलेका बहस प्रायः इन्टरनेट स्वतन्त्रताको पक्षमा केन्द्रित रहेको भन्दै इन्टरनेटका बहुआयामिक पक्षमा छलफल गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा इन्टरनेट सोसाइटी नेपालका कार्यवहाक अध्यक्ष रोमकान्त पाण्डेले इन्टरनेटको सही प्रयोगका लागि सबैले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

अनलाइन पत्रकारिताका जानकार एवं पहिलो पोस्ट डटकमका पूर्वसम्पादक पत्रकार उमेश श्रेष्ठले इन्टरनेटमा सही समाचारभन्दा सनसनीपूर्ण र फेक न्यूज भाइरल बन्ने प्रवृति चुनौतिपूर्ण बन्दै गइरहेको बताए।

सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले इन्टरनेट महिलामैत्री नभएको र महिलाको पहुँच पनि कम रहेको दाबी गरिन्। अधिवक्ता पवित्रा राउतले सबैमा इन्टरनेट साक्षरता नहुँदा दुरुपयोग बढेको बताइन।

कार्यक्रममा त्रिभवन विश्वविद्यालयको पत्रकार तथा आमसञ्चार विभागका उपप्राध्यापक लेखनाथ पाण्डेले पछिल्लो समय पाठक तथा स्रोता शक्तिशाली बनेको बताउँदै सूचनालाई छनोट गरेर लिन आवश्यक रहेको बताए। कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै शुक्रबार साप्ताहिकका सम्पादक केपी ढुंगानाले इन्टरनेटले वैयक्तिक स्वतन्त्रता खुम्चिदै गएको बताए।

सम्मेलनमा इन्टरनेट सेक्युरिटी इन नेपाल,् इन्टरनेट गभर्नेन्स इन नेपाल, जेन्डर एण्ड फ्रिडम इन नेपाल, प्राइभेसी एण्ड इन्टरनेट इन नेपाल र इन्टरनेट एण्ड जर्नालिज्म इन नेपाल लगायतका कार्यपत्र प्रस्तुत भएका थिए।

प्रकाशित: १४ मंसिर २०७६ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App