६ वैशाख २०८१ बिहीबार
राजनीति

तीन घेरामा सुरक्षा

धरान उपमहानगरपालिका– १५ स्थित मतदानस्थल शिक्षा सदन माविबाठ मतदाता परिचयपत्र वितरण हुँदै। तस्बिर : रोहित/नागरिक

धरान – धरान उपमहानगरपालिकाको मेयर र वडा नम्बर ७ को अध्यक्ष छान्न शनिबार मतदान हुँदै छ। मतदानका लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मेयरमा विजयी तारा सुब्बा र वडा–७ को अध्यक्षमा निर्वाचित भुवन मोक्तानको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। उनीहरूको करिब डेढ वर्षअघि निधन भएको थियो।

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक अधिकृत, २ कर्मचारी र एक कार्यालय सहयोगी खटाइएको छ। उनका अनुसार आवश्यकता हेरेर ३ देखि ४ जना स्वयंसेवक पनि खटाएको छ। मुख्य निर्वाचन अधिकृत उप्रेतीले भने, ‘सबै तयारी पूरा भएको छ। निर्वाचन निष्पक्ष, भयरहित वातावरणमा गराउन प्रतिबद्ध छौं।’

मेयर चुन्न २८ वटा मतदान स्थल र ९९ मतदान केन्द्र निर्धारण गरिएको छ। मतदान केन्द्रको सुरक्षाका लागि तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको छ। १ नं प्रदेश प्रहरी प्रमुख तथा डिआइजी ठाकुरप्रसाद ज्ञवालीका अुनसार मतदान केन्द्रको सुरक्षाका लागि ७ सय ५० भन्दा बढी जनपद प्रहरी खटिएका छन्। यस्तै, सशस्त्र प्रहरी पनि पाँ सयको हाराहारीमा परिचालित छन्। नेपाली सेनाको मोबाइल टोलीले पनि निरन्तर गस्ती गरेको छ। आवश्यक परेको ठाउँमा सशस्त्र प्रहरी २ मिनेट र सेनाको टोली ५ मिनेटभित्र पुग्ने गरी परिचालन भएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए।

निर्वाचन कार्यालयका अनुसार उपमहानगरपालिकामा ९२ हजार ८ सय ५३ मतदाता छन्। स्थानीय तह निर्वाचन २०७४ मा भन्दा १३ हजार ५ सय ७१ मतदात थपिएर यो संख्या पुगेको हो।

मत गणना स्थलमा सिसिटिभी राखिने
मत गणना स्थलको सुरक्षा तथा मतगणना पारदर्शी बनाउन सिसिटिभीको व्यवस्था गरिएको छ। मतगणना धरान १५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। उप्रेतीका अनुसार मतपेटिका राख्ने कोठामा एक र गणनास्थलमा २ वटा सिसिटिभी जडान गरिएको छ। यस्तै, भवन परिसरको गतिविधि निगरानी गर्न पनि सिसिटिभी राखिने छ। उनका अनुसार चितवन भरतपुरमा २०७४ मा भएको घटना दोहोरिन नदिन मत गणनास्थको सुरक्षा प्रबन्ध कडा गरिएको हो। भरतपुरमा मतगणना भइरहँदा तत्कालीन माओवादीका प्रतिनिधिले मतपत्र च्यातेका थिए। गणना स्थलमा गणक कर्मचारी र उम्मेदवारका प्रतिनिधिबीच पनि तारजाली राखिने मुख्य निर्वाचन अधिकृत उप्रेतीले बताए। ‘मत गणना स्थलमा गणक कर्मचारी रहन्छन्, उनीहरु र उम्मेदवारका प्रतिनिधिबीचमा तारजालीको ब्यारियर राख्छौं,’ उप्रेतीले भने।

अशक्तलाई गाडीको व्यवस्था
मतदानको दिन निर्वाचन कार्यालयले नै अपांगता भएका, अशक्त तथा असहाय, वृद्धवृद्धालाई मतदान स्थलसम्म ल्याउन गाडीको व्यवस्था गर्ने भएको छ। मतदानस्थलभन्दा टाढा घर भएका वृद्धवृद्धा, असहाय तथा अपांगता भएकाहरुको मतदानको अधिकार सुरक्षित गर्न यस्तो व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले बताए। धरानमा शुक्रबार राति १२ बजेदेखि शनिबार साँझ ७ बजेसम्म अत्यावश्यक सवारी र अनुमति पत्र (पास) लिएकाबाहेक अन्य सवारीसाधन प्रवेशमा रोक लगाइएको छ।

प्रकाशित: १४ मंसिर २०७६ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App