७ वैशाख २०८१ शुक्रबार
खेल

सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी श्रीलंका

काठमाडौं - नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग)को भलिबलमा शुक्रबार महिलातर्फ सेमिफाइनलमा स्थान बनाउँदा पुरुष टोली भने समूह चरणबाटै बाहिरिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा पुरुषततर्फ शुक्रबार भारतसँगको पराजयसँगै नेपालले समूहका कुल दुई खेलमै हार बेहोर्दै लिग चरणबाटै यात्रा टुङ्गाउँदा महिला टोलीले सेमिफाइनलमा स्थान बनाएको छ। नेपाली महिला टोलीले शनिबार श्रीलंकाविरुद्ध सेमिफाइनलमा चुनौती प्रस्तुत गर्दैछन्। समूह ‘ए’ मा नेपालको पुरुष टोलीले लिगका दुई खेलमै हार बेहोरेको थियो।

शुक्रबार भारतविरुद्ध ३–० को सोझो सेटमा पराजय बेहोरेपछि नेपाली पुरुष टोली गत वर्ष जस्तै यस संस्करणमा पनि लिग चरणबाटै यात्रा टुङ्गाउन बाध्य भयो। नेपालले भारतसँग २५–१५, २५–१३ र २५–१६ ले सहजै हार बेहोरेको थियो। गत बुधबार बंगलादेशविरुद्धको खेलमा अप्रत्यासित हार बेहोर्नु नै नेपालको पुरुष टोलीका लागि घातक साबित भयो।
भारतमा सम्पन्न गत १२औं संस्करणमा पनि नेपाली महिला टोलीले सेमिफाइनलमा स्थान बनाएको थियो। गत संस्करण नेपाली चेलीले कांस्य पदक दिलाएका थिए। त्यससँगै नेपालले सागको महिला भलिबलमा तीन कांस्य जित्यो। २० वर्षअगाडि सन् १९९९ मा नेपालमै सम्पन्न आठौं संस्करणमा तेस्रो हुँदा नेपालले सागमा पहिलो कांस्य जितेको थियो। सन् २००६ मा श्रीलंका सम्पन्न दशौं सागमा पनि नेपालले कांस्य जितेको थियो।

घरेलु मैदानमा जारी यस सागमा पनि नेपालले सेमिफाइनलको यात्रा तय गर्दा लगातार दोस्रो पटक पदक जित्ने सम्भावना कायमै राखेको छ। नेपालको समूह ‘ए’ मा बलियो टोली भारतले शुक्रबार बंगलादेशलाई हराएपछि घरेलु टोलीले सेमिफाइनलमा स्थान बनाउन सफल भयो। तीन राष्ट्र रहेको समूहमा बंगलादेश भने दुई खेलमा हार बेहोर्दै घर फर्किएको छ।

बंगलादेशले उद्घाटन खेलमा नेपालसँग सोझो सेटमा हार बेहोरेको थियो। शुक्रबार भारतविरुद्धको दोस्रो खेलमा पनि २५–८, २५–११ र २५–९ सोझो सेटमा हार बेहोरेपछि बंगलादेशको महिला भलिबल टोलीले १३औं सागको यात्रा टुङ्गायो। यस जितसँगै भारत समूहको दुई खेलमै जित निकाल्दै ६ अंकका साथ समूहविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो।

यता, भारतसँग पराजित नेपाल भने दुई खेलबाट तीन अंक बटुल्दै समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो। अर्को समूह ‘बी’ मा पाकिस्तान अनुपस्थित भएपछि एक मात्र खेल माल्दिभ्स र श्रीलंकाबीच शुक्रबार भएको थियो।

शुक्रबार माल्दिभ्समाथि २५–१५, २५–१८ र २५–१४ को सोझो सेटमा जित निकाल्दै श्रीलंका समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो। हारका बाबजुत माल्दिभ्सले भने उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउन पायो। माल्दिभ्सले शनिबारको पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतको सामना गर्नेछ। दोस्रो सेमिफाइनलमा नेपालले पनि शनिबार नै श्रीलंकाविरुद्ध चुनौती प्रस्तुत गर्नेछ।

पुरुषतर्पm समूह ‘ए’ बाट भारत विजेता र बंगलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छन्। समूह ‘बी’ बाट पाकिस्तान र श्रीलंकाले १/१ खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गर्दा माल्दिभ्स दुबै खेलमा हार बेहार्दै समूहचरणबाटै बाहिरियो। श्रीलंकाले शुक्रबार माल्दिभ्सलाई २५–१८, २५–२३ र २५–१७ ले हराएको थियो।  

नेपालको महिला भलिबल टोलीले सेमिफाइनलमा स्थान बनाउँदा पुरुष टोलीले समूहको सबै खेल हार्दै घरेलु मैदानमा जारी १३औं सागको यात्रा टुङ्गाएको छ। नेपाली महिला टोलीले शनिबारका सेमिफाइनलमा श्रीलंकाविरुद्ध चुनौती प्रस्तुत गर्दै छ।

प्रकाशित: १४ मंसिर २०७६ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App