८ वैशाख २०८१ शनिबार
समाज

छुट्टाछुट्टै दुर्घटनामा दर्जन बढी घाइते, ४ को अवस्था गम्भीर

दुर्घटनामा परी सडकमुनि पल्टिएको सुमो जिप।

कटारी- उदयपुरमा शुक्रबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दर्जन बढी घाइते भएका छन्। जसमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

ओखलढुंगाबाट कटारी आउँदै गरेको ना १ ज ३८८६ नम्बरको टाटा सुमो सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका ४ मरुवाखण्डमा शुक्रबार दिउँसो दुर्घटना हुँदा घाइते ९ मध्ये ४ जना गम्भीर रहेको बताइएको छ।

आफै अनियन्त्रित भई दुर्घटना भई सडकबाट पल्टिदा सुमोमा सवार ओखलढुंगा सिद्धिचरण नगरपालिका ५ का ६७ वर्षीय सन्तबहादुर विश्वकर्मा, सोही ठाउँकी ६६ वर्षीया मनमाया विश्वकर्मा, ६६ वर्षीया कर्णमाया विश्वकर्मा र ओखलढुंगाकै मोलुङ गाउँपालिका ५ की ५० वर्षीय मैया विश्वकर्मा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी उदयपुरले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार अन्य घाइते हुनेमा सिद्धिचरण नगरपालिका ५ की ७० वर्षीया तिलमाया विश्वकर्मा, चम्पादेवी गाउँपालिका ५ की ४२ वर्षीया तारा तामाङ र उनकै छोरी १४ वर्षीया सेली तामाङ रहेका छन्। त्यस्तै सिन्धुली फिक्कल गाउँपालिका ५ का ५५ वर्षीय वीरेन्द्रबहादुर सुनुवार पनि घाइते भएको मगरले बताएका छन्।

घाइतेहरुलाई कटारी अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगर रेफर गरिएको छ। सामान्य घाइते भएका सर्लाहीका सोबित महतो भने कटारी अस्पतालमै उपचारपछि घर फर्केका छन्। सुमो चालक पदम राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ।

त्यसैगरी कटारी नगरपालिका ४ कै पेट्रोल पम्पनजिक शुक्रबारै भएको मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका छन्। मरुवाबाट कटारीतर्फ आउँदै गरेको स ८ प २७८४ नम्बरको मोटरसाइकल र स १ ह १०३६ नम्बरको सिटी सफारी एकआपसमा ठोक्किदा मोटरसाइकल चालक कटारी ७ का २० वर्षीय बसन्त मगर घाइते भएका हुन्।

उनको कटारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। सिटीसफारी चालक रत्नबहादुर मगरलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएर अनुसनधान अघि बढाएको जनाइएको छ।

 

प्रकाशित: १३ मंसिर २०७६ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App