यात्रा

पर्खपर्ख मार्दी, म भेट्न आउँछु

शुक्रबार, १३ मङि्सर २०७६, १५ : २२ शोभा ज्ञवाली  | @GyawaliShova

दसैँ भर्खरै सिद्धिएको त थियो तर सबैको मनबाट दसैँको रमाइलो ओर्लिसकेको भने थिएन । यस्तोमा थोरै समय उबारेर हिमाल नजिक जान पाए हुन्थ्यो भन्ने मनमा इच्छा थियो । त्यसैले परिवारको स्वीकृति पाएको एक घण्टाभित्रै म पोखरा उडिसकेकी थिएँ ।

परिवारको जिम्मेवारी भएको व्यक्तिलाई कहीँ न कहीँबाट बेर्न अनेकन उल्झन आइहाल्छन् भन्ने सोच पलाउनेबित्तिकै म पोखरा उडिहालेँ । अफिस खुलिसकेको थियो तर पाँच दिनभित्रै अफिस आउने गरी पाएको बिदालाई भरपूर उपयोग किन नगरुँ ? यस्तै सोच मेरो मनमा तीव्र भएर आयो ।

कम समयमा नजिकै कहाँसम्म पुग्न सकिएला त ? गमिरहँदा मेरो मन भने अन्नपूर्ण सर्किटमा अडिरहेको थियो । किनभने विगत केही समययता फुर्सद पाउनेबित्तिकै एभरेस्ट बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प, अप्पर मुस्ताङ, तिलिचो ताल, रारा ताल पुगिसकेकी हुनाले अन्नपूर्ण सर्किटमा यस पटक मैले आँखा गाढिरहेकी थिएँ तर समय कम थियो र तयारी पनि त्यति थिएन ।

त्यसैले छोटो–मीठो रोमाञ्चक यात्राका लागि मार्दी हिमाल नजिक पुग्ने आँट गरियो । पैँतालीस सय मिटर उचाइमा रहेको मार्दी बेस क्याम्प यात्रा सारै रोमाञ्चित पार्ने लाग्यो । खासगरी सूर्यको किरण हिमालहरुमा ठोकिँदा चाँदीजस्तै टलक्क टल्कने अनेकन चुचुरा देख्दा मन नै फुरुङ्ग हुन्थ्यो ।
मार्दी यात्राका लागि धेरै बाटाहरु छनोट गर्न सकिने रहेछ । मुख्यगरी भने तीन वटा थिए । पहिलो बाटो– घान्द्रुक—लान्द्रुक—फरेस्ट क्याम्प—लो क्याम्प—हाई क्याम्प भएर जान सकिन्छ ।
दोस्रो बाटो– कालिमाटी—सिदिङ—लो क्याम्प—हाई क्याम्प हुँदै जान सकिने रहेछ ।
तेस्रो बाटो– फेदी—धम्पुस—पोथना—पितम देउराली—लो क्याम्प—बादल डाडा—नाङ्गे डाँडा हुँदै हाई क्याम्प भएर जान सकिने थाहा पाएँ ।

मैले तेस्रो बाटो रोजेँ ।
शुरुको दिन फेदी (११३० मिटर) बाट यात्रा गर्दा पोथना (१७००मिटर) मा दिउँसो एक बजेतिर पुग्यौं । पोथनाको बयान गर्न शायद शब्द नै कम हुन्छ । हामी त्यहाँ पुग्दा सयपत्री र गोदावरीले मनै लोभ्याउने गरी स्वागत गरेका थिए । मिलेर बसेको बस्ती, बस्तीमा फक्रक्क फक्रेका राता–पहेँला फूल, हिराको हार लगाएझैँ वरपरको हिमाल र माथि नीलो आकाश ! यी तीनको संयुक्त बेजोड दृश्यले सारा थकान मेटिदिने ।

थकान मेट्न मम र ब्वाइल भेजिटेबल लियौँ । केही समयको सुस्ताईले फेरि नयाँ ऊर्जा थपियो । यसपछि हामी हिँड्ने तयारी थाल्दै थियौँ, झम्झम् पानी पर्न थाल्यो । केहीको सुझाव थियो– यस्तो पानी परिरहेका बेला यात्रा नगर्दा नै बेस हुन्छ । तर मलाई कुन बेला हिमाल नजिकै पुगौँ भनेर औडाहा भइरहेको थियो । पानीको प्रकृति पर्नु हो, यसलाई हामी रोक्न सक्तैनौँ । हाम्रो प्रकृति हिँड्नु हो, यसलाई पनि रोक्नु हुँदैन ।

यसपछि मैले रेनकोट लगाएँ र यात्रा शुरु गरेँ । लेकको बाटोमा जुकाको डर सबैभन्दा चर्को हुन्छ तर मलाई जतिसक्दो चाँडो हिमाल नजिक पुग्नु थियो । त्यसैले जुकाको आतङ्कले पनि मलाई रोक्न सकेन । न त अरु नै केहीको डरले मलाई रोक्न सक्यो ।

करिब चार बजेतिर पितम देउराली पुग्दा म जाडोले लुगलुग कामिरहेकी थिएँ । यस्तोमा हट सावर लिएर आगोनजिक बसेर गार्लिक सुप, कालो चिया एकपछि अर्को अर्डर गर्न थालेँ । होटलकी साहुनी पनि फरासिली रहिछन् । मनैदेखि पाहुनालाई मीठो बोलीले सत्कार र व्यवहार गर्न जान्ने !
यो ट्रेकिङ रुट भर्खरै खुलेको रहेछ । अरु रुटसँग दाँज्ने हो भने यो निकै व्यवस्थित लाग्यो । बस्न, खान व्यवस्थित मात्र होइन, ठाउँ पनि सफासुग्घर !

भोलिपल्ट बिहान पुनः यात्रा शुरु भयो । यो मार्दी ट्रेक ७०/८० प्रतिशत त जङ्गली बाटो र उकालीओराली मात्र छ । त्यसैले होला खतरा मोलेर एक्लै ट्रेक गर्नु हुन्न भन्ने चलन रहेछ । र, यो मलाई ठीक पनि लाग्यो किनभने सुरक्षाका अनेकन मापदण्डमध्ये सञ्चार जबसम्म बलियो हुँदैन, एक्लै ट्रेकमा निस्कनु भनेको निकै खतरनाक हुनसक्छ र ज्यानकै जोखिम पनि पर्न सक्छ ।
यो ट्रेकको अर्को विशेषता भनेको राष्ट्रिय फूल लालीगुराँशको जङ्गल यात्रा पनि हो । म हिँडेको बखत गुराँश फुल्ने याम थिएन तर वसन्त याममा यहाँ आइपुग्ने हो भने फूलले कति लोभ्याउँदो हो जस्तो लाग्यो ।

आफूलाई हौस्याउँदै, हिमाललाई चुनौती दिँदै अनि पर्खपर्ख मार्दी म भेट्न आउँछु भन्ने गीत गुन्गुनाउँदै, जंगलै जंगलको बाटोले माछापुच्छ्रे र साउथ अन्नपूर्णसँग लुकामारी खेल्दै फरेस्ट क्याम्प हुँदै (२५२० मि) हुँदै क्याम्प (२९७० मि ) सम्म पुगियो । यति यात्राका लागि करिब ७/८ घण्टा लागेको थियो । दशैँ–तिहारको छुट्टी र ५/६ दिनको ट्रेक भएकाले यहाँ ५०% भन्दा बढी नेपालीको भिड देखेँ । नेपालीहरुलाई मार्दी ट्रेकले यसरी विछट्टै आकर्षित गरेकामा खुसी पनि लाग्यो । यात्रामा प्रायः कलेज पढ्ने भर्खरका युवाहरुको लर्को देख्दा खुसी पनि लाग्यो । अहिलेको पुस्ताले नेपालको पाखा–पर्वत र हिमालमा रमाउनु भनेको भोलि उनीहरु यसको गुडविल एम्बेसडर पनि हुनु हो ।

लाग्यो– यीमध्ये भोलिका दिनमा कतिपय विदेश जाँदा हुन् र त्यहाँ यिनले आफ्नो गाउँठाउँको प्रचार गरेर पर्यटक भित्र्याउन भूमिका खेल्दा हुन् । यति मात्र होइन, जब उनीहरु अध्ययन सकेर नेपाल फर्कन्छन्, नयाँ सोच र नयाँ बुझाइका कारण नयाँ शैलीमा नयाँ काम गर्नेछन् र यसले अन्ततः देशलाई नै फाइदा पर्‍याउनेछ ।

यसपछि अर्को बास लो क्याम्पमा बस्यौँ । बिहान पुनः यात्रा शुरु भयो । नाङ्गे डाँडाबाट देखिने हिमालको मनोरम दृश्य क्यामेरामा क्याप्चर गर्दै अघि बढ्न थालियो ।

भ्यु प्वाइन्टको बाटो हुँदै हाइक्याम्प (३७०० मिटर) बाट अलिमाथि करिब ३९०० मिटर सम्म गएर हामी फर्कियौँ । यसो गर्नुको कारण आफ्नो शरीरलाई उचाइका कारणले हुने कुनै पनि खतरालाई सहजीकरण गर्नु थियो । एक्लोमोटाइज हुन फर्किंदै गर्दा केहि विदेशी गु्रपले हिमाललाई अगाडि पारेर योग गरेको देख्दा पनि मन आनन्दित भयो । यसपछि म पनि योगमा रमाउन थालेँ । स्वच्छ वातावरणमा योग गर्दा पूरै शरीर हलुका महसुस हुन थाल्यो । यस्तो लाग्यो, मनमा कुनै पीडा छैन ।

राति मज्जाले निद्रा पर्‍यो तर साढे तीन बजे नै अर्को यात्राका लागि तयार हुनु परिहाल्यो । उठेर निधारमा टर्च बाल्यौँ र निस्कियौँ भ्यु क्याम्पको यात्रामा । एकाबिहानै निधारमा टर्च बाल्दै निस्केको मानिसको लामो क्याराभ्यान टाढासम्म देख्दा राँके जुलुसजस्तो देखिन्थ्यो । भ्यु प्वाइन्ट पुग्दा मौसम बिग्रिएको थियो तर चार हजार मिटर माथिको दृश्य भने बडो मनोरम थियो ।

यो दृश्यमा हामी अल्झिएनौँ । यसपछि पुनः यात्रा शुरु ग¥यौँ र बेस क्याम्पसम्म पुग्यौँ । भ्यु प्वाइन्टबाट बेस क्याम्पको बाटो त्यति डरलाग्दो थिएन, जति हाई क्याम्पबाट भ्यु क्याम्पको थियो ।
बेस क्याम्पबाट हामी तल ओर्लनै पथ्र्यो, ओर्लियौँ भ्यु क्याम्पमा । यहाँ आउने बाटोमा तीन वटा चिया पसल थिए, जहाँ हामीले चिया कफी खाएर ओरालो लाग्यौँ । बाटोमा याम फार्म पनि रहेछ । हामी त्यो याक फार्म हेर्न निस्कियौँ । यहीँ मैले पहिलो पटक नाकको दुध पिएँ, घिउ र छुर्पी किनेँ । शिवलाल गौतमले साठी वटा याक र नाक पालेर गुजारा चलाइरहेका रहेछन् ।

यसपछि हामी आरालो लाग्यौँ र स्नो ल्यान्ड होटलमा छिर्‍यौँ । त्यहाँका सञ्चालक राजुले स्वादिलो खान्की पस्किए । उनीसँग कुराकानी गर्ने क्रममा थाहा पाएँ, यो ठाउँमा यदि फोन राम्रोसँग चल्ने हो भने र वाइफाईको व्यवस्था हुने भए, यो जत्तिको गतिलो ट्रेक कुनै पनि हुँदैनथ्यो ।

यो क्षेत्रको विकास गर्न हाई क्याम्पलाई सेन्टर पारेर ब्याम्बो हुँदै अन्नपूर्ण बेस क्याम्पको बाटो खोलिदिए, दुई वटा ट्रेक हुन्थ्यो । १२/१३ दिनको छुट्टिमा आएका पर्यटकलाई पर्याप्त रमाउने अवसर हुन्थ्यो र यसो गर्दा यहाँको व्यापार पनि फस्टाउँथ्यो ।

राजु र उनका भाइ यहाँको सम्भावना देखेर जापान र खाडी मुलुकबाट फर्केर व्यवसाय गर्न आएका रहेछन् । उनले भने, ‘खासमा मिहिनेत गर्नेहरुका लागि यहाँ हावामा पैसा उडिरहेको छ । त्यही उडिरहेको पैसा समात्न हामीले यहाँ व्यवसाय गरेका हौँ ।’

राजुको कुरा सुन्दा मनाङको भ्राताङमा समराज र माया गुरुङले स्याउखेती गरेको, फार्म हाउस चलाएर मज्जाले आम्दानी गरिरहेको कुरा याद आयो, जुन कुरा मैले मनाङको यात्राको क्रममा महसुस गरेकी थिएँ ।

हुन पनि नेपालमा यस्ता धेरै युवा छन्, जसले विदेशमा तालिम प्राप्त गरी स्वदेश फर्केर व्यवसाय गरिरहेका छन् । मात्र सरकारले थोरै प्रोत्साहन थपिदिए पुग्छ । यहाँ पनि फोन र वाइफाईको समस्या रहेछ । इन्ट्री प्वाइन्ट र हेल्थ पोस्टको आवश्यकता देखिन्छ । को मान्छे आए र को गए भन्ने कतै टिपिँदैन ।

ट्रेकिङ रुटका कतिपय बाटा त यति खतरनाक छन् कि तिनलाई सामान्य गोरेटो मात्र बनाउन सक्दा पनि कुनै दुर्घटना भए छिटो भन्दा छिटो उद्धार गर्न सकिन्थ्यो । हाई क्याम्पबाट लो क्याम्प हुँदै सिदिङको ओरालो झरेर पाँचौँ दिन पोखरा आइपुग्दा मेरो यात्राको धङधङी सकिएको थिएन ।

यात्राका बेला सँगालिने स–साना रमाइला पलहरु सम्झँँदै घर फिर्दा मलाई फेरि कुन बेला मार्दीको यात्रा सुरु गर्न पाइएला भन्ने लागिसकेको थियो ।








यसमा तपाईको मत

अन्य समाचार

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

Ncell Footer Ad