७ वैशाख २०८१ शुक्रबार
राजनीति

'टु प्लस वान' भन्दा लिपुलेक जस्तो हुन सक्छ : अध्यक्ष दाहाल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीच त्रिपक्षीय साझेदारी हुनुपर्ने बताएका छन्। नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले 'टु प्लस वान' भन्नु आफुलाई उपयुक्त नलागेको बताए। उनले भने 'यो शब्द प्रयोगले फेरी उही लिपुलेक होला भन्ने डर छ।'

त्रिदेशीय साझेदारीले नेपालको विकासको लागि उल्लेखनीय भूमिका खेल्ने दाहालले विश्वास व्यक्त गरे। त्रिदेशीय साझेदारीमा चीन र भारत पनि नेपालको स्वामित्व सहितको सहभागिताको लागि सकारात्मक भएको उनले बताए। 'टु प्लस वान भन्दा दुई विशेष र एक छुट्टै भने जस्तो हुन्छ', दाहालले भने, 'समानताका आधारमा यो हुनुपर्छ।' कनेक्टिभिटीमा नेपाललाई खाली ट्रान्जिट प्वाइन्ट मात्र नभएर साझेदारका रुपमा राख्नु पर्नेमा उनले जोड दिए।

चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा भारतको बाटो भएर आउनु महत्वपूर्ण भएको भन्दै उनले भने, 'यो त्रिदेशीय साझेदारीको रणनीतिक महत्वलाई यसले स्थापित गरेको छ।' आफु प्रधानमन्त्री भएकै समयमा त्रिदेशीय साझेदारीको विषयलाई महत्वका साथ उठाएको उनले बताए।

भौतिक विकासको कुरा गर्दा आत्मिक कुराहरु छुटाउन नहुने उनको धारणा छ। भौतिक विकास मात्र नभएर अध्ययन, चिन्तन र मननको पनि उत्तिकै खाँचो रहेको उनको धारणा छ।

दाहालले कार्यक्रममा बोल्दै एक प्रतिनिधिमण्डल सहित छिट्टै चीन भ्रमणमा जान लागेको समेत बताए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामशरण महतले चीन नेपालको भौतिक विकासको लागि साझेदार बन्न सक्ने बताए। नेपाल र चीनबीच दुई हजार वर्ष भन्दा पहिलेदेखि सम्वन्ध रहेको बताउँदै जनस्तरमा सम्वन्ध विकासको खाँचो रहेको बताए। पर्यटनको विकासमा समेत चीनले भूमिका खेल्न सक्ने उनले बताए।

प्रकाशित: १३ मंसिर २०७६ ०५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App