युद्धले जन्माएका अशोक

शुक्रबार, १३ मङि्सर २०७६, १० : २३ नागरिक

पारसनाथ यादव

मानव समाजमा हिंसा र त्यागका अनेक दृष्टान्त छन्। कुनै व्यक्तिको सम्पन्नताको लहड र त्यागको फरक दृष्टान्तका रूपमा यसलाई लिन सकिन्छ। मौरियन सम्राट अशोक सम्राट चन्द्रगुप्तका नाति तथा विदुसराका छोरा हुन्। मगध राज्यमा सम्राट अशोकको राज्यारोहण २७३ ई.पू.मा भएको हो। त्यसपछि उनले साम्राज्य विस्तार गरेर आफू शक्तिशाली राज्यको सम्राट बन्ने सपना देख्न थाले। कालिङ्गा राज्य(हाल भारतको छत्तिसगढ राज्य)को सम्पन्नताले सम्राट अशोकलाई मगध राज्यमा विलय गराउन आकर्षण गर्न थाल्यो। सर्वप्रथम मगध राज्यमा विलय हुन कालिङ्गा राज्यलाई पत्राचार गरियो र राजा पदमानाभनले अस्वीकार गर्दा ई.पू. २६१ मा दुई राज्यबीच कालिङ्गाको द्यौली पहाड, दायाँ नदी किनारमा भीषण युद्घ भयो। 

कालिङ्गावासी कलाकौशलमा निपूण हुनाका साथै शान्तिप्रिय पनि थिए। त्यसबेलाको समयमा पनि समुद्रपारसम्मको तिनीहरूको व्यापार विस्तारले कालिङ्गावासीकोे सम्पन्नता प्रमाणित गर्छ। राजनीतिक तथा आर्थिक अवरोध सिर्जना गरेर ती राजालाई हराउने उपाय खोजीमा मौर्य सम्राट तल्लीन रहन्थे। कालिङ्गाका सेना सशक्त रूपमा प्रतिरोध गर्दै आफ्नो राज्यको रक्षामा लागिपरे। यस युद्घमा मौर्य सम्राट अशोक आफैं उपस्थित थिए र उनकै प्रत्यक्ष निर्देशनमा युद्घ भइरहेको थियो। करिब एक लाख कालिङ्गावासी सैनिक तथा जनताले युद्घमा ज्यान गुमाए र त्यत्ति नै संख्यामा मौर्य सैनिकको पनि मृत्यु भयो। साथै डेढ लाख कालिङ्गावासीलाई युद्घबन्दी बनाइयो।

युद्घपश्चात् सम्राट अशोकका आँखामा युद्धका रक्तकुण्ड र दायाँ नदीको पानी रगतले रातो भएका दृश्य घुमिरहेकाले उनी अत्यन्त दुःखी हुन थाले। युद्घका प्रत्येक दृश्यले उनको मस्तिष्कमा प्रहार गर्न थाले। सम्राट शान्तिपूर्वक बस्न नसक्ने भए। उनलाई पश्चात्ताप लाग्न थाल्यो। प्रायश्चित्त गर्न अबउप्रान्त अहिंसाको बाटो अँगाल्ने निर्णय उनले गरे। त्यसैले उनले बौद्घ धर्म आत्मसात् गरे। राज्यमा शान्ति र अहिंसाको सिद्धान्त अँगाल्न लगाए। उपगुप्तलाई धर्मगुरु मानेर उनले बौद्ध धर्म अपनाएका थिए। सम्राट अशोकले बौद्ध धर्मको प्रचारप्रसारका लागि श्रीलंका, मेसोडोनिया, ग्रिस, मिश्रजस्ता देशहरूमा आफ्ना दूतहरू पठाए। उनले बौद्ध धर्मको विस्तारमा महत्वपूर्ण योगदान पुु-याएको पाइन्छ। सम्राट अशोकको निधन ईशापूर्व २३२ मा भएसँगै मौर्य वंशको शासनकाल सधैंका लागि अन्त हुन पुग्यो। विगतका यस घटनाले वर्तमानमा नयाँ पाठ सिर्जना हुने निश्चित नै छ। मेरो अध्ययनले इतिहासमा अर्को अशोकको उदाहरण कमै होलान् जस्तो लागेको छ। सम्राट अशोकपश्चात् पनि थुप्रै युद्घ निरन्तर भइराखेको हामीले इतिहासमा पढ्दै र वर्तमानमा हेर्दै आइरहेका छौं। प्रथम विश्वयुद्घमा ४ करोड मानिस र दोस्रो विश्वयुद्घमा ७ देखि ८ करोडसम्म मानिसको मृत्यु भयो भने भारत स्वतन्त्रता संग्राममा १० लाख मानिस र बंगलादेश स्वतन्त्रता संग्राममा ३० लाख मानिसले ज्यान गुमाए।

मानव इतिहासमा भएका विभिन्न किसिमका द्वन्द्व र युद्धले धेरै भौतिक र मानवीय क्षति भएको पाइन्छ। अबको युगमा युद्ध सिद्घान्त, विचार र भावनाको हुनुपर्छ।

वास्तवमा भूभाग विस्तार, आर्थिक उपलब्धि, धर्म, राष्ट्रियता, राजनीतिक तथा सामाजिक अन्तरविरोधका कारण युद्घ हुँदै आएको कुरा इतिहासबाट प्रमाणित भइसकेका छन्। त्यस्तै वर्ग संघर्ष, उत्पादनका लागि संघर्ष र वैज्ञानिक प्रयोगबाट सामाजिक परिवर्तन हुँदैै यस चरणमा समाज प्रवेश गर्दै गएको देखिन्छ। साम्राज्यवाद सिद्घान्तले साम्राज्य विस्तार  र उत्पीडित वर्ग एवं सम्प्रदायको भावना कुण्ठित गराउँछ।  त्यस्तै सामन्तवाद सिद्घान्तले सबैलाई आफ्नो मातहतमा राखी आर्थिक तथा शारीरिक श्रम शोषणमा जोड दिन्छ। स्थायी  शान्ति कायम गर्न, सामन्तवाद, साम्राज्यवाद र विस्तारवाद अन्त्य हुन जरुरी छ। त्यसैले मानव समाजमा समानता र समाजवादी चिन्तन वृद्धि हुँदै जानुपर्ने देखिन्छ।

मानव इतिहासमा भएका विभिन्न किसिमका द्वन्द्व र युद्घले धेरै भौतिक र मानवीय क्षति भएको पाइन्छ। अबको युगमा युद्घ सिद्घान्त, विचार र भावनाको हुनुपर्छ। राज्यलाई शासकहरूले जनता शोषण गर्ने हतियारका रूपमा प्रयोग गर्दै आएको इतिहासले बताउँछ। अब त्यसलाई रूपान्तरण गरेर राज्य कल्याणकारी हतियारमा परिणत गर्न सक्नुपर्छ। राष्ट्र –राष्ट्र, क्षेत्र–क्षेत्र तथा सम्प्रदाय–सम्प्रदायबीचको अन्तरविरोध समाधान गर्दै विश्वका मानव जाति एक हौं भन्ने भावनाको विकास नै युद्घको समाप्ति हो। यथार्थमा हतियार बिसाउनु मात्र युद्घ अन्त्य हुनु होइन। विगतका द्वन्द्व, दुःख र पीडाका कुरा मात्र गर्नु मध्ययुगीन सोच  हो। समाजमा शान्ति स्थापना गर्ने विचारलाई स्थापना गर्नमै जोड दिनुपर्छ। अहिलेको राजनीतिक सिद्धान्तको प्रस्थान बिन्दु समाजवाद र गन्तव्य शोषणमुक्त मानवीय जीवन हुनुपर्छ।

ऐतिहासिक भौतिकवादले स्थापित गरेको तथ्य के हो भने एउटा वर्ग एवं सम्प्रदाय उत्सव मनाउँदै आएको छ भने अर्को वर्गको अस्तित्व मेटिँदै  गएको छ। विगतका युद्ध घटनाबाट यस पक्षको बोध गर्दै नवीन धारको विकास आवश्यक भएको छ। युद्घहरूको समाप्ति युद्घबाटै हुनुपर्ने अवस्था अब हुनु भएन। यसमा क्रमभंगताको नयाँ मार्ग  महसुस हुन थालेको छ। यो समयको गति अर्को प्राप्तिमा रूपान्तरण हुने नै छ। अन्त्यमा प्रश्न– युद्ध निम्त्याउने दोषी कि त्यसको प्रतिकार युद्घ गर्ने ?








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad