८ वैशाख २०८१ शनिबार
विचार

प्रधानमन्त्रीको प्रयत्न र परिणाम

दुर्गानाथ शर्मा

राम्रो काम गर्न निर्देशन दिँदादिँदै पनि जनताका काम नगरेको देखेर प्रधानमन्त्री केपी शर्मा ओलीले गत हप्ता मन्त्री हेरफेर गरे। केही पुराना फालिए, केही नयाँ थपिए। हुन त नयाँ थपेर मात्र कामको गति अघि बढ्ने होइन तर प्रधानमन्त्रीले लाए÷अह्राएका काम पनि नभएपछि उनलाई निकै रिस उठेजस्तो छ।

राजधानीका कतिपय सडकमा खाल्डाखुल्डी परेर धुलो र धुवाँको सहर भयो भन्ने सुन्दासुन्दा उनले तत्काल मर्मत गर्न आदेश दिए। यस्तो आदेश वास्तवमा प्रधानमन्त्रीको तहबाट भन्दा सडक विभाग वा त्यससम्बन्धी मन्त्रीले दिने हो। तर महिनौं बित्दा पनि खाल्डाखुल्डी पुरिएनन्। चावहिल, जोरपार्टीलगायत धेरै ठाउँमा धुलो उडेर दिउँसै रात पर्ने क्रम जारी रह्यो।

विचरा ! सोझा प्रधानमन्त्रीलाई लाग्यो होला– मैले भनेको काम पनि नगर्ने यी मनुवालाई कसरी तह लगाउने ? उनले बेलाबेला कार्यालयमा बोलाएर निर्देशन दिँदासमेत खासै काम नभएको जनगुनासो आइरहँदा एक दिन मन्त्रिमण्डलकै काम नलाग्ने मन्त्रीलाई हटाइदिए र काम गर्ने भनेर केही पुरानासहित नयाँ पात्रलाई मन्त्रिमण्डलमा  भित्र्याए।

प्रधानमन्त्रीले यो आफ्नो नयाँ टिमका सदस्यलाई बोलाएर दायाँबायाँ गर्ने  छुट तपाईंहरूलाई छैन भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ आउँदा जसरी काम भएको थियो, त्यसरी नै गर्नुहोस्, चार दिनभित्र नयाँले कार्ययोजना र पुरानाले आफ्नो प्रगति विवरण बुझाउने उर्दी नै जारी गरेका छन्। फागुनपछि राजधानीका सडकमा खाल्डाखुल्डी नदेखिउन् भन्दै लोभ गरेर तथा मिलाएर आम्दानी गरे सीधै कारबाही हुने चेतावनीसमेत दिएका छन्।

प्रधानमन्त्रीज्यू ! मन्त्री र कर्मचारी फेर्नेभन्दा पनि तिनले गरेका गलत काम वा भ्रष्टाचार बाहिर ल्याएर कानुनअनुसार तिनलाई कारबाही गर्नुभयो भने तपाईंले देखेको एउटा समृद्ध नेपालको सपना साकार हुन सक्छ।

प्रधानमन्त्रीलाई लोभ गरेर तथा मिलाएर कर्मचारीले अतिरिक्त आम्दानी गर्दारहेछन् भन्ने थाहा रहेछ त ! त्यसो गर्नेहरूलाई कारबाही गरिदिए त नयाँ आउनेले मिलाएर खाने आँट गर्न सक्ने थिएनन् कि ! कर्मचारी त्यसमा पनि, सरकारी कर्मचारीले घुस खाँदैनन् भनेर कसले पत्याउँछ ? यो कुरा त हरेक दिन समाचारमा आउने गरेका ठूलठूला व्यक्ति कसरी सम्पत्ति आर्जन गरेर मोजको जीवन बिताइरहेका छन् भन्ने तथ्य नेपाली जनतालाई मात्र होइन, कैयौं विदेशीलाई पनि राम्ररी थाहा छ। यो तथ्य कुनै बेला अन्तर्राष्ट्रिय प्रेसबाट चुहिएको पनि छ।  

तर जतिसुकै चेतावनी दिए पनि सरकारी कर्मचारीले घुस खान छाड्ने होइनन् ! भर्खरै अख्तियार दुरुपयोग अनुसन्धानका पूर्वप्रमुख आयुक्तले ‘सबै आरोपमा शून्य प्रतिशत पनि सत्यता छैन’ भन्दै ठाडै अस्वीकार गरेका छन्। उनले एक दैनिक पत्रिकालाई दिएको अन्तर्वातामा मलाई नसोध्नुहोस्, मलाई थाहै छैन, आफैं अनुसन्धान गर्नुहोस् भनेर आफ्नै तर्क माथि पारेका छन्। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक दायिŒव बोकेका, अख्तियारकै पूर्वप्रमुख गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएको सम्भवतः यो पहिलो घटना भएको त्यो पत्रिकाको टिप्पणी छ। अब मन्त्रीहरू झिक्तैमा अथवा नयाँ ल्याउँदैमा नेपालको प्रशासनिक र राजनीतिक क्षेत्रमा हुने गरेका यस्ता भ्रष्टाचार र अनियमितता हुँदैनन् भन्ने कुनै ग्यारेन्टी छ ? छैन। त्यसैले प्रधानमन्त्रीज्यू ! मन्त्री र कर्मचारी फेर्नेभन्दा पनि तिनले गरेका गलत काम वा भ्रष्टाचार बाहिर ल्याएर कानुनअनुसार तिनलाई कारबाही गर्नुभयो भने तपाईंले देखेको एउटा समृद्ध नेपालको सपना साकार हुन सक्छ।
हुन त अहिले नै, मन्त्रिपरिषद् पुनर्गठन गर्दासमेत तपाईं पार्टी र नेता तथा अन्य त्यस्तै कुराबाट प्रभावित हुनुभएको भन्ने चर्चा बजारमा छन्। तपार्इंले जसलाई झिक्नुपर्ने हो ती झण्डा हल्लाएर हिँडेकै छन् र कतिलाई न्याय भएको छैन भन्छन्, जनता।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले त आफ्नो क्षेत्रमा राम्रै काम गरेका थिए। केही पत्रिकाले उनलाई रोजगार कार्यक्रमअन्तर्गत हचुवाका भरमा ३ अर्बभन्दा बढी बजेट उपलब्धिविहीन रूपमा खर्च गरेको आरोप लगाएका छन्। यो साँचो हो भने तपाईंले यो तथ्य अनुसन्धान गरी विष्टलाई कानुनी कारबाही गर्न सकेको भए, पछि आउने विष्टहरूले पनि त्यसरी खर्च गर्ने थिएनन्। प्रधानमन्त्रीज्यू ! तपाईंले काम नगर्ने ठेकेदारको जमानत जफत गर्नुहोस् भनेर मन्त्री र सचिवहरूलाई धेरैपटक निर्देशन पनि दिनुभएकै हो तर तिनले यस्ता कति जना ठेकेदारलाई कारबाही गरे त ? प्रधानमन्त्रीले क–कसलाई कति अनुदान दिइएको छ अनुगमनमा म मान्छे पठाउँछुसम्म भन्नुभएको छ। यसबाट प्रधानमन्त्रीलाई खर्च गरेको चित्त बुझेको छैन र यस्तो अनुदान दुरुपयोग भएको खबर पनि छ। त्यसैले यिनलाई दोष लगाउनुभन्दा प्रमाण फेला पारेर कानुनी रूपमै जनतामाझ नंग्याइदिनुभयो भने, नेपाली जनता तपाईंसँग धेरै खुसी हुनेछन्।

कैयौं भ्रष्टाचार दिनहुँ बाहिर आइरहेका छन्, ती गलत छन् भने सरकारले गलत भन्न सक्नुपर्छ र ती साँच्चै भ्रष्टाचार हुन् भने तिनलाई कानुनी कारबाही गरेर जागिर खोसिदिने हो भने अर्काले फेरि त्यस्तो दुस्साहस गर्ने आँट गर्दैन। हामीकहाँ भ्रष्टाचार गर्नेलाई बचाउने न्यायिक संयन्त्र छन् जसले तथ्य खोज्नेभन्दा अर्कै साधन खोजीमा तल्लीन हुने भएकाले भ्रष्टाचार फासफुस हुन्छ। नेपालको सबैभन्दा ठूलो रोग भनेकै भ्रष्टाचार हो। जनताले तिरेको कर र विदेशी राष्ट्रले नेपाललाई माया गरेर दिएको सहयोग रकम यसरी नै सकिने गरेका छन्।

मन्त्री र ठूला तहका मानिस भ्रष्टाचारमा र खासगरी दलका नेता जो माथिल्लो पदमा पुगेका छन्, तिनको कमाउने बेला यही हो। किनभने अघिल्लो चुनावमा भएको खर्च उठाउने र भोलि आउने निर्वाचनमा लड्न तिनलाई पैसा चाहिन्छ। भ्रष्टाचारबाहेक कुनै खेती, व्यापार तथा उद्योग नभएका÷नगरेका यिनलाई चुनाव लड्न पैसा कहाँबाट आउँछ ? त्यसैले हाम्रो राजनीतिक प्रणाली नै भ्रष्टाचारमुखी छ। तसर्थ यसमा सुधार गर्नु नेपालको सबैभन्दा सुरक्षित विकासको ग्यारेन्टी दिनु हो।

प्रधानमन्त्रीज्यू ! तपाईंलाई चुनावताका बग्ने पैसाको खोलोबारे थाहै होला। मेडिकल कलेजको दुरवस्था तपाईंलाई थाहै छ। मेडिकल कलेजका सञ्चालकमा नेताहरू नै छन् वा ठूलठूला पदका व्यक्ति छन्। त्यसैले तिनले समेत तपाईंको निर्देशन मानेका छैनन्। गरिब अभिभावकको हुर्मत लिने यी अपराधीलाई तपाईं समातेर खोरमा पठाउन किन सक्नुहुन्न ? विद्यार्थीबाट दिएको बढी रकम फिर्ता गर्न कलेज सञ्चालकहरूलाई दिएको म्याद पूरा भइसक्दा पनि उनीहरू सुनेको नसुनेझैं गर्छन्। डाक्टर गोविन्द केसी एक जनाको प्रयत्नले मात्र यसमा सुधार हुन सक्दैन। तपार्इंले नसक्ने भएकैले अहिलेसम्म यो सानो विवाद पनि टुंगो नलागेको !

तपार्इं नेकपाको अध्यक्ष पनि हो, तर प्रधानमन्त्रीको पदमा विराजमान भइसकेपछि तपाईं जनताको प्रधानमन्त्री हो, पार्टीको होइन। यसपटकको मन्त्रिमण्डल पुनर्गठनमा पनि तपाईंको सूचीमा कामै नगर्ने मन्त्री र पैसामै राल चुहाउनेहरू पनि पार्टीकै ठूला नेताका कारण बचे। यो जनताको भनाइ हो।

भारतले गरेको नेपाली भूमि अतिक्रमणप्रति अहिलेसम्म नेपालका तर्फबाट खासै केही काम भएका छैनन्। तपाईंले सोझै भारतका प्रधानमन्त्री मोदीसित सम्पर्क गरेर प्रारम्भिक कुरा गरे पनि हुँदो हो। मोदीसँग टेलिफोन वार्तापछि विशेषज्ञ टोली पठाएर स्पष्ट रूपमा वार्ता नगरे कालापानी समस्या कहिल्यै टुंगिनैे छाँट छैन। भारतले दह्रो भएर पाकिस्तानको विरोधबीच पनि जम्मु–कश्मीर आफ्नो बनायो। अहिले भारत संसारकै शक्ति बन्ने अभियानमा छ। उसले सजिलै नेपाललाई यो तिम्रो भूमि फिर्ता गरें भन्लाजस्तो अहिलेसम्मको अवस्था हेर्दा देखिँदैन।
अन्त्यमा, तपाइंको शीघ्र स्वास्थ्य लाभको कामना !

प्रकाशित: १३ मंसिर २०७६ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App