८ वैशाख २०८१ शनिबार
समाज

नियन्त्रणका लागि भएन प्रयास

दमक – हात्ती नियन्त्रणका लागि प्रभावकारी काम नहुँदा पश्चिमी झापा र दक्षिणी इलामका बासिन्दा आजित छन्। पूर्वी झापामा देखिएको हात्ती समस्या अहिले यता सरेको छ। विद्युतीय तारबारले पूर्वी क्षेत्रमा केही क्षति कम भए पनि पश्चिमी झापा र दक्षिणी इलाममा भने त्यो क्रम बढेको छ।

दमक नगरपालिका, कमल गाउँपालिका, शिवशताक्षी नगरपालिकाका केही बस्तीमा दिनहुँ जंगली हात्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन्। अहिले दमकको उत्तरी क्षेत्रमा वर्षौंदेखि कायम जंगली हात्तीको समस्या समाधान हुन नसक्दा स्थानीय निराश छन्। २ साताअघि एक हुल हात्ती दमक–३ को हम्से दुम्से सामुदायिक वनबाट बिहानको समयमा बस्तीतर्फ पसे। अनि बच्न स्थानीयले अनेकौं उपाय लगाए। कोही थाल ठटाउन थाले, कोही शंख फुक्न थाले, कोही भने साइरन बजाउन थाले। अनेक थरी उपाय लगाएपछि बल्ल हात्ती फेरि जंगलतिरै पसे। तर जोखिम भने घटेन। एकै दिन एक दर्जन घरमा क्षति गरेको हात्ती धपाउन कति रात उनीहरू अनिदै बसे।

अहिले पनि हात्तीको जोखिम घटेको छैन। कतै हात्ती आइहाल्ने हो कि भनेर निदाउनै पाइँदैन, हात्तीले क्षति पु-याएको घर देखाउँदै स्थानीया मानबहादुर गुरुङले भने, ‘यस्तै भइरहे ज्यानै जोगाउन मुस्किल पर्ने भयो।’ दिउँसो आउँदा देखिने र भाग्न सहज हुने भए पनि हात्तीले राति आक्रमण गर्ने भएकाले उनीहरूमा अझै त्यो त्रास बाँकी नै छ। ‘घरको भान्सा पूरै काम नलाग्ने बनायो, अन्नपात केही राखेन,’ गुरुङ भन्छन्, ‘कोही दिन त सुतेकै ठाउँमा मरिन्छ कि भन्ने पिर छ।’

हात्ती आएपछि सर्वसाधारणले पुल्ठो बाल्ने, चिच्याएर चर्को आवाजमा हल्ला गर्ने र हात्तीबाट जोगिन खबरदारी गर्ने बाहेक अरू विकल्प छैन।

अहिले धान पाकेर थन्क्याउने बेलामा समेत हात्तीको बथान खेतखेत डुल्न थालेपछि स्थानीय झन् त्रसित छन्। एकातर्फ हात्तीका कारण ज्यान जोगाउन कठिन छ भने अर्कातर्फ पाकेको धानसमेत ढुक्कले थन्क्याउन पाउने अवस्था छैन। यस्तै स्थानीयले लगाएको उखुबारीसमेत हात्तीकै लागि ठिक्क छ।

दमक–३ का पदम तामाङले पनि हात्तीको बथान नै गाउँ र खेतमा आएपछि धान थन्क्याउन नपाएको बताए। हात्ती आएपछि यहाँका सर्वसाधारणले पुल्ठो बाल्ने, चिच्याएर चर्को आवाजमा हल्ला गर्ने र हात्तीबाट जोगिन खबरदारी गर्ने बाहेक अरू विकल्प छैन। केही समयअघि विभिन्न संस्थाहरूले दिएको साइरनसमेत बिग्रिएपछि हात्ती आउँदा लुक्छन् वा आँट गरेर पुल्ठो बाल्दै स्थानीय निस्कन्छन्। हात्तीका कारण दमक–३ र दमकसँगै जोडिएको चुलाचुली गाउँपालिकाको दक्षिणी क्षेत्रका बासिन्दा त्रसित बन्नु परेको हो।

दमक–३ का वडाध्यक्ष नवीन बरालले हात्तीको समस्या समाधानमा स्थानीय स्तरको पहल मात्रै उपयोगी नहुने बताए। हामी त परम्परागत प्राविधिबाट हात्ती नियन्त्रणका लागि लागेका छौं,’ उनले भने, ‘तर यो प्रभावकारी नहुने रहेछ। हात्तीको बासस्थान भत्काउनकै लागि गत वर्ष स्काभेटर लगाएर झाडीसमेत फाँडिएको थियो। यस्तै बाटोभरि बत्तीको पनि बन्दोबस्ती गरियो। तर हात्ती गाउँ पस्न छाडेन। स्थानीय तथा प्रदेश तहबाट पनि सम्भव नभएमा केन्द्रीय सरकारबाट सहयोग लिएर पनि यो हात्तीबाट बच्ने लक्ष्य रहेको उनले बताए।

तत्कालको समस्या समाधानका लागि नगरपालिकाको गाडीमा साइरन जोेडेर जोखिमको क्षेत्रमा कुदाउने तयारी भइरहेको वडाध्यक्ष बरालले बताए। उनले भने, ‘यसअघि विभिन्न संस्थाले दिएको साइरन पनि बिग्रियो, त्यसले केही काम त दिएको थियो तर अब नगरपालिकाले गाडीमै जोडेर कुदाउने तयारी थालेको छ।’ हात्ती गाउँ छिरेपछि साइरन जडान गरिएको गाडी कुदाउने र त्यसको प्रकाश तथा अवाजले हात्ती भाग्छ कि भन्ने आशा स्थानीयको छ। साइरन जडित गाडीमा आवश्यकताअनुसार नगरप्रहरी तथा स्थानीयसमेत बसेर हात्ती धपाउने कार्यका लागि गाडीमा साइरन जडानको काम थालिएको उनले जनाए। बरालले भने, ‘हामीसँग स्रोतसाधन पनि धेरै छैन, सकेको उपाय गरिरहेका छौं तर यसको दिगो समाधानका लागि माथिल्लो तहका सरकारबाटै दीर्घकालीन योजनाको आवश्यकता देखिन्छ। यस्तै चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले पनि दमकसँगको सहकार्यमा सो समस्या समाधानको प्रयास गरिरहे पनि स्थानीय स्रोतसाधनले मात्र नभ्याउने बताएका छन्। यो समस्या समाधानका लागि सबै तहका सरकार र आवश्यक परे अन्य निकायबिच पनि सहकार्यको खाँचो रहेको उनको धारणा छ।

जंगली हात्तीबाट प्रभावित झापाको कमल गाउँपालिका–३ मा सोलार बत्ती जडान गरिएको छ। यस क्षेत्रमा बारम्बार हात्ती आउने र क्षति पु-याउने भएकाले त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले सोलार बत्ती जडान गरिएको हो। यहाँको नेपाली सेनाको २१ नं बाहिनी अड्डालगायत मन्दिर क्षेत्रमा सोलार बत्ती जडान गरिएको हो। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र कमल गाउँपालिकाको सहकार्यमा सोलार जडान गरिएको जनाइएको छ। सानुकेर्खास्थित किरातेश्वर शिव पाञ्चायन मन्दिरमा दुईवटा, २१ नं वाहिनी अड्डाको चार किनारामा चारवटा र सोनोकेर्खाबाट इलामको चुलाचुली गाउँपालिका जाने हात्ती प्रभावित सडकमा सातवटा गरी जम्मा १३ थान सोलार बत्ती जडान गरिएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंबाट १० लाख ५० हजार रुपैयाँ र कमल गाउँपालिकाबाट ४ लाख ५० हजार रुपैयाँ गरी जम्मा १५ लाख रुपैयाँको लागतमा बत्ती जडान गरिएको हो।

प्रकाशित: १३ मंसिर २०७६ ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App