८ वैशाख २०८१ शनिबार
समाज

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता माग

एकल पुरुषलाई भत्ता माग गर्न र बस खरिद गर्न दिक्तेलमा छलफल गर्दै ज्येष्ठ नागरिक। तस्बिर : दमन राई/नागरिक

खोटाङ – ज्येष्ठ नागरिक संघ खोटाङले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिइनुपर्ने माग गरेको छ। बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै सो संघले एकल महिलासरह एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता दिने व्यवस्थाका लागि माग गरेका हुन्।

महिला र पुरुषलाई समान अधिकार भनिरहँदा पत्नीको मृत्यु भएका, कुनै कारणबाट पत्नीसँग विछोड भएका, अर्को विवाह नगरेका, ७० वर्ष ननाघेका विधुरहरूले कष्टका साथ जीवन बिताइरहेको भन्दै संघका जिल्ला अध्यक्ष दुर्गाप्रसाद घिमिरेले नगरप्रमुख दीपनारायण रिजाललाई ज्ञापनपत्र बुझाउँदै वृद्धावस्था पुगेका विधुर नागरिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्थाका लागि माग राखेका हुन्।

ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, असहाय, दलित, बालबालिकासमेतले राज्यतर्फबाट सामाजिक सुरक्षाभत्ता पाइरहेको अवस्थामा एकल पुरुषलाई विभेद भइरहेको संघका अध्यक्ष घिमिरेले बताए। जिल्लाका १० स्थानीय तहमध्ये संघले पहिलोपल्ट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पुगेर विधुरका लागि भत्ता माग राखेका हुन्। विधुरलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउन क्रमशः अन्य स्थानीय तहसमक्ष पनि छलफल चलाइने संघले जनाएको छ। ‘भन्ने बेलामा महिला र पुरुष समान भनिरहेका हुन्छौं। महिला र पुरुषलाई समान अधिकार छ भनिरहेका छौं,’ संघअध्यक्ष घिमिरेले भने, ‘तर, बुढेसकालमा पुगेका विधुरको अवस्था अति नै दयनीय छ। यसबारे राज्यले सोच्न जरुरी छ।’

मन्दिरडाँडामा आफ्नो मागका विषयमा छलफल गरेपछि ज्येष्ठ नागरिक नगरपालिका पुगेका थिए। यसअघि २०७४ साल साउन २४ गते राप्रपा लामीडाँडा गाउँपालिका कार्य समितिले ६० वर्ष पुगेका एकल वृद्धलाई पनि सामाजिक सुरक्षा भत्ताको माग उठाएको थियो।

वृद्धवृद्धालाई तीर्थाटनका लागि बस खरिद गरिने
यसैबीच, ज्येष्ठ नागरिक संघले जिल्लाका वृद्धवृद्धालाई धार्मिक भ्रमण तथा तीर्थाटन गराउन बस खरिद गर्ने तयारी थालेको छ। नेपालका विभिन्न धर्मशाला, मठमन्दिर, रमणीय स्थलदेखि सहर घुमफिर गर्ने ज्येष्ठ नागरिकको चाहनालाई ध्यानमा राखी संघले ३२ सिटे बस खरिद गर्ने तयारी थालेको जनाएको छ। ज्येष्ठ नागरिकको तीर्थ भ्रमणका क्रममा जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको तस्बिर, पर्चा, विवरण राखेर पर्यटन प्रवद्र्धनमा समेत योगदान पु-याइने ज्येष्ठ नागरिक संघका अध्यक्ष घिमिरेले बताए। संघले ज्येष्ठ नागरिकको तीर्थ भ्रमणमा उपयोग गरिने बस खरिदका लागि सहयोगको याचना गरेको छ। बस खरिद गर्न सहयोग गर्ने सहयोगीको नाम, ठेगाना र रकमको मात्रा बसकै बाहिरी भित्ता र संघको कार्यालयमा ताम्रपत्रमा लेखेर राखिने जनाइएको छ। संघले वृद्धवृद्धालाई २०७५ भदौ २९ गतेदेखि १० दिनसम्म देवघाट, लुम्बिनी, म्याग्दीको गलेश्वरधाम मन्दिर, मुस्ताङको मुक्तिनाथ, बाग्लुङको कालिका भगवती मन्दिर, कास्कीको विन्ध्यवासिनी मन्दिरलगायत स्थानमा भ्रमण गराएको थियो।

प्रकाशित: १३ मंसिर २०७६ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App