coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्वर्ण विजेता टोलीमा चिकित्सक

काठमाडौं - नेपालले १९८४ मा आयोजना गरेको पहिलो दक्षिण एसियाली खेलकुद (साग) मा पुरुषतर्फ नेपालले स्वर्ण जित्दाको महत्वपूर्ण टोली सदस्य हुन् स्ट्राइकर किरण राई। नेपाल र बंगलादेश एकै समूहमा थिए। जहाँ समूहचरणको खेलमा नेपालले बंगलादेशलाई नतिजा सुम्पिएको थियो। नेपालले पहिलो सागमा पुरुष फुटबलमा स्वर्ण पदक जित्दा बंगलादेशलाई नै फाइनल खेलमा ४–२ ले हराएको थियो।

किरणलाई सो खेलमा आफूलाई बंगलादेशी खेलाडीले पेनाल्टी बक्समा लडाएको र रक्षक सुरेश पन्थीले पेनाल्टीको सदुपयोग गरेको अझै याद छ। टोलीमा एन्फाका पूर्वअध्यक्ष तथा राष्ट्रिय टोलीका कप्तान गणेश थापा र कृष्ण थापाजस्ता उत्कृष्ट स्ट्राइकर भए पनि किरणले उनीहरुसँगै सुरुआती ११ बाटै नेपाली अग्रपक्तिको जिम्मेवारी सम्हाल्थे।

नेपालले साफमा हालसम्म पुरुष फुटबलमा २ पटक मात्र स्वर्ण जितेको छ— पहिलो र छैटौं संस्करणमा। पहिलो संस्करणको स्वर्ण जित्दाको महत्वपूर्ण टोली सदस्य हुन् किरण राई। जो अहिले खेलाडीभन्दा पनि नाक, कान, घाँटी (इएनटी)  विशेषज्ञका रूपमा चिनिन्छन्।

‘म जाबलाखेलस्थि सेन्ट जेभियर्स स्कुलमा पढ्दादेखि नै राम्रो फुटबल खेल्थें। काठमाडौं ११ ले मेरो खेल हेर्दै सानो उमेरमा नै क्लबमा आबद्ध ग¥यो,’ राईले भने, ‘काठमाडौै–११ बाट खेल्दै गर्दा १९८० मा मैले राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएँ। मैले राष्ट्रिय टोलीमा चीनको एक क्लबसँगको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेको हुँ।’

‘मैले १९८० देखि १९८५ सम्म नेपाली राष्ट्रिय टोलीबाट खेले । तर सागमा स्वर्ण जित्दाको क्षण म कहिल्यै बिर्सन सक्दिनँ,’ राईले थपे, ‘अहिले हामी १३औं सागको संघारमा छौं। नेपाली टोलीमा क्षमतावान् खेलाडी छन्। त्यसैले नेपालले यो पटक पनि दशरथ रंगशालामा पुरुष फुटबलमा स्वर्ण भित्र्याउनेमा म आशावादी छु। अझ भनौ वर्षांै पछि रंगशालमा फुटबल फर्किंदै छ यसले मलाई थप उत्साही बनाएको छ।

राई खेलाडीको गहना भनेकै टिम भावना र अनुशासन भएको बताउँछन्। हालै अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्ट्राइकर विमल घर्र्तीमगर, मिडफिल्डर अञ्जन विष्ट र रक्षक दिनेश राजवंशीमाथि गरेको अनुशासन कारबाहीप्रति उनले एन्फा र प्रशिक्षकको कदम सकारात्मक भएको बताए।

‘मैले राष्ट्रिय टोलीबाट खेल्दा नेपालीको प्रतिनिधित्व गरिरहेको हुन्छु। विश्वको कुनै पनि राष्ट्रमा बन्द प्रशिक्षणमा रहेका खेलाडी बाहिर निस्किन पाउँदैनन्,’ राईले भने, ‘तर यस पटक साफ बन्द  प्रशिक्षणमा रहेका केही खेलाडीले अनुशासहीन काम गरे। जसमा एन्फाले कदम चालिसकेको छ। सबै खेलाडीले यसबाट पाठ सिक्नुपर्छ।’

१९८५ पछि भने युवा उमेरमै उनी फुटबल यात्रामा पूर्णविराम लगाउन बाध्य भए। रूसबाट कन्फर्मेसन आएसँगै उनी फुटबलबाट टाढिँदै चिकित्सक बन्ने सपना साकार पार्न त्यतातर्फ लागे। ‘म सानैदेखि खेलकुद र पढाइ दुवैमा अब्बल थिएँ। आफ्नो रुचिकै कारण फुटबल खेलमा आकर्षित भएको थिएँ,’ राई भने, ‘पढाइमा पनि राम्रो भएकाले आमाबुबाले कहिल्यै नखेल भन्नुभएन। म बिहान केही घण्टा दशरथ रंगशालको प्रशिक्षणमा बिताउने। त्रिपुरेश्वरकै एक होटलमा हामीलाई डाइटस्वरूप अण्डा र चनाको व्यवस्था गरिएको थियो।त्यो खाएपछि म त्यहीँबाट त्रिचन्द्र क्याम्पस जान्थें। कलेजपछि म पुन फुटबल अभ्यासका लागि रंगशालमा जान्थें। साँझमा मात्र झम्सिखेलस्थित निवासमा फर्कन्थें।’

उनी रूसबाट फर्किएपछि २०५० मा नेपाली सेनाबाट चिकित्सा पेशामा आबद्ध भए। गत वर्ष मात्र नेपाली सेनाको महासेनानी पदमा रहँदै स्वैच्छिक अवकाश लिएका राईले सरकारले स्वर्ण विजेताका लागि दिने मासिक ४ हजार भत्ता एक अनाथालयलाई दिने गरेको बताए।

किरण राई टोलीमा हुँदाका अर्का सदस्य श्रीराम रञ्जितकारले पनि राई एक क्षमतावान् खेलाडी भएको बताए। ‘किरण राम्रा खेलाडी हुन्। उनले चिकित्सक बन्नका लागि राष्ट्रिय फुटबल टोलीबाट बिट मारेका थिए,’ रञ्जितकारले भने, ‘टोलीकै कान्छो सदस्य भएकाले उनी सबैका प्यारा थिए।’

प्रकाशित: १३ मंसिर २०७६ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App