८ वैशाख २०८१ शनिबार
समाज

मतदानका दिन सार्वजनिक यातायात नचल्ने

काठमाडौं – शनिबार हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन क्षेत्रसँग सम्बन्धित ठाउँहरूमा सार्वजनिक सवारीसाधन नचल्ने भएका छन्। उपनिर्वाचनलाई दृष्टिगत गर्दै उक्त क्षेत्रमा शुक्रबार राति १२ बजेपछि एम्बुलेन्स, दमकल, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारमाध्यम बाहेकका अन्य सवारीसाधन नचल्ने भएका हुन्। स्थानीय प्रशासनले शान्तिसुरक्षाको अवस्थालाई ध्यानमा राखेर ती क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री र सेवनमा समेत प्रतिबन्ध लगाएको हो।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मौन अवधि सुरु भएकाले आचारसंहिता पालना गरी सहयोग गर्न सबैमा आयोगले अपिल गरेको बताए। ‘मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसारका लागि कार्य गर्न गराउन पाइनेछैन,’ आयोगले भनेको छ, ‘यदि कसैले आचारसंहिताविपरीत कार्य गरेमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ बमोजिम उम्मेदवारी रद्द गर्नेसम्मको कारबाही हुनेछ।’ आयोगले राजनीतिक दल, उम्मेदवार र सम्पूर्ण सरोकारवाला निकायलाई आचारसंहिताको पूर्ण पालनाका लागि सहयोग गरिदिनसमेत आग्रह गरेको छ।

आयोगले मतदान केन्द्रमा खटिएका कर्मचारीलाई अपांंगता, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त र बिरामी मतदातालाई प्राथमिकता दिनसमेत निर्देशन दिएको छ। २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनपछि विभिन्न कारणले रिक्त भएका ५२ पदमा शनिबार बिहान सात बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ। उपनिर्वाचनमा ३ सय ३३ उम्मेदवारले भाग लिएका छन् भने ४ लाख ५४ हजार १ सय १४ मतदाताले मतदान गर्न पाउनेछन्।

प्रकाशित: १३ मंसिर २०७६ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App