७ वैशाख २०८१ शुक्रबार
खेल

आत्मविश्वास गुमाउँदा चुक्यो नेपाल

काठमाडौं - दबदबा बनाइरहेको अवस्थामा खेलाडी परिवर्तन गर्ने निर्णय गलत साबित हुँदा नेपाली महिला भलिबल टोली १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारतविरुद्ध जित निकाल्न चुकेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न समूह ‘ए’ को खेलमा बलियो टोली भारतविरुद्ध उत्कृष्ट सुरुआत गरे पनि नेपालले लय गुमाउँदा सहज पराजय बेहोर्न बाध्य भएको हो। पहिलो सेटमा नेपाल गेम पोइन्टनजिक पुग्दा भारत  २४–२३ ले पछाडि थियो। तर, तालमेल मिलिरहेको अवस्थामा प्रशिक्षक जगदीश भट्टको खेलाडी परिवर्तन गर्ने निर्णय गलत साबित हुन पुग्यो।

प्रशिक्षक भट्टले रेश्मा भण्डारीको स्थानमा निरुता ठगुन्नालाई मैदान पठाएका थिए। भारतकी कप्तान निर्मलाले नयाँ खेलाडी निरुतालाई लक्षित गर्दै लगातार दुई जम्प सर्भिस गर्दा सफलतासमेत प्राप्त गरिन्। त्यससँगै नयाँ खेलाडीलाई सर्भिस लगाउने निर्मलाको योजना सफल हुँदा नेपालले लगातार अंक गुमाएपछि पहिलो सेट २६–२४ ले गुमाउन पुगेको थियो।

यस सेटमा नेपालले एक समय २१–१७ को अग्रतामा लिएको थियो। यद्यपि, त्यसलाई जोगाउन नसक्दा नेपालले सेटसँगै आत्मबल पनि गुमायो। पहिलो सेटमा हारनजिक पुगेर उत्कृष्ट पुनरागमन गरेको भारत त्यसपछिका दुई सेट एकपक्षीय बनाउन सफल भयो। दोस्रो सेटमा भारतले प्लेसिङबाट अंकखाता खोलेको थियो।

बिहीबार कभर्डहलमै भएको पुरुष भलिबलमा उपाधिको दाबेदार भारत पहिलो जितबाटै सेमिफाइनलमा पुग्न सफल भएको छ। बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेपछि भारतलाई पहिलो खेलबाटै सेमिफाइनल पुग्ने आधार बन्यो। नेपालसँग शुक्रबार हुने समूह ‘ए’ को अन्तिम खेल गुमाए पनि भारत सेमिफाइनल पुग्नेछ।

त्यसलगत्तै नेपालकी प्रतिभा मालीले स्पाइकबाट अंक बराबरी गर्दै खेलमा फर्किने प्रयास गरे पनि भारतले सफल हुन दिएन। दोस्रो सेटमा भारतले ब्लकमा परिवर्तन गर्दा नेपालका स्पाइकरलाई रोक्ने योजना सफल भयो। बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक १८ स्कोर गरेकी स्पाइकर प्रतिभा मालीलाई भारतका ब्लकरले दोस्रो सेटमा निरास बन्न बाध्य बनाए।

सेटमा सुरुआतदेखि दबाब बेहोरेको नेपालको रिसिभ पनि बिर्सनलायक रह्यो। यता, भारतले ब्लक र डिफेन्समा सुधार गर्दै दोस्रो सेट भने २५–१२ ले सहजै आफ्नो बनाएको थियो। दुई सेटमा अग्रतासँगै उच्च आत्मबलका साथ खेलेको भारतले तेस्रो सेटमा लगातार सुरुआती पाँच अंक बटुल्दै सहज नतिजा निकाल्ने संकेत गरेको थियो।

तेस्रो सेट पनि भारतले २५–१६ ले आफ्नो बनाउँदै नेपाललाई ३–० को सोझो सेटमा हार चखायो। हारपछि नेपालका प्रशिक्षक भट्टले पहिलो सेटमा अन्तिम समय खेलाडी परिवर्तन गर्नु सही भएको भन्दै आफ्नो निर्णयको बचाउ गरे।
‘भारतीय खेलाडीको जम्प सर्भिस आउने आंकलन गरेको थिएँ। कमजोरलाई रिसिभ लाग्छ भनेर नै रिसिभ राम्रो भएकी निरुतालाई मैदान पठाएको थिएँ,’ प्रशिक्षक भट्टले भने,‘तर युवा खेलाडी भएकाले सोचेअनुरूप प्रदर्शन हुन सकेन। हामीले लगातार अंक गुमाउन पुग्यौं।’ साथै प्रशिक्षक भट्टले जित्नुपर्ने पहिलो सेट गुमाउँदा भारतसँग पराजित हुनुपरेको पनि बताएका छन्।

पहिलो सेट गुमाउँदा आफ्ना खेलाडी नर्भस भएको प्रशिक्षकको बुझाइ छ। ‘भारतसँग राम्रो प्रदर्शन गर्ने योजना थियो। पहिलो सेटको सुरुआतमा राम्रो पनि ग¥यौं,’ प्रशिक्षक भट्टले भने,’ तर अनुभवी टोलीविरुद्ध सदुपयोग हुन सकेन। जितनजिक पुगेर पनि पहिलो सेट गुमाउन पुग्यौं। पहिलो सेट हार्दा खेलाडी पनि नर्भस भएँ। विपक्षी सहजै हाबी भयो।’
भारतका कप्तान निर्मला र प्रशिक्षक टी बालाचन्द्रले दोस्रो सेटमा ब्लकलाई बलियो बनाउने रणनीति सफल भएको बताए। कप्तान निर्मलाले नेपालको खेलमा सुधार भएको समेत प्रतिक्रिया दिइन्। समूह ‘बी’ को एक मात्र लिग खेल माल्दिभ्स र श्रीलंकाबीच शुक्रबार हुनेछ। यो खेलको विजेता नै समूहविजेता बन्नेछ।

तीन टोली रहेको यस समूहमा भारत अनुपस्थित भएपछि लिगमा एक खेलबाटै नकआउट चरण निर्धारण हुने तय भयो। शुक्रबार नै समूह ‘ए’ को अन्तिम खेलमा भारत र बंगलादेश भिड्दै छन्। यस खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।  

बिहीबार कभर्डहलमै भएको पुरुष भलिबलमा उपाधिको दाबेदार भारत पहिलो जितबाटै सेमिफाइनलमा पुग्न सफल भएको छ। बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेपछि भारतलाई पहिलो खेलबाटै सेमिफाइनल पुग्ने आधार बन्यो। नेपालसँग शुक्रबार हुने समूह ‘ए’ को अन्तिम खेल गुमाए पनि भारत सेमिफाइनल पुग्नेछ। नेपालसँगको जितले भारतलाई समूह विजेता बन्न भने सघाउ पुग्नेछ।

समूह ‘ए’ मा समान एक खेलबाट भारतले तीन अंक बटुल्दा नेपाल एक अंकसहित लिगको अन्तिममा छन्। बुधबार नेपालविरुद्ध जित निकालेको बंगलादेशको भने दुई अंक छ। नेपालसँग ३–२ को जित निकालेको कारण बंगलादेशले एक अंक बाँडेको हो।  यद्यपि, नेपाल पराजित भएको खण्डमा या नेपालले भारतविरुद्ध ३–२ को जित निकाले पनि बंगलादेश अन्तिम चारमा पुग्ने अन्तर्राष्ट्रिय रेफ्री गौतम लासिवाले बताए।

त्यसैले शुक्रबार भारतविरुद्ध सोझो सेटमा जित निकाल्नुको विकल्प नेपालसँग हुनेछैन। भारतले बंगलादेशविरुद्ध एकपक्षीय प्रदर्शन २५–१८, २५–१४ र २५– १५ को सहज जित निकालेको थियो। नेपालले सेमिफाइनलको यात्रा तय गर्न उपाधिको दाबेदार मानिएको भारतलाई शुक्रबार हराउनुपर्नेछ।

अर्को समूह ‘बी’ को पहिलो खेलमा बिहीबार माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै पाकिस्तानले सुखद सुरुआत गरेको छ। पाकिस्तानले पहिलो सेट २५–१६ ले सहजै आफ्नो बनाएको थियो। तर, दोस्रो सेटमा माल्दिभ्सले चुनौती दिए पनि पाकिस्तानले २५–२३ ले आफ्नो बनाउन सफल भयो।

दुई सेटमा अग्रतासँगै उच्च आत्मविश्वासी बनेको पाकिस्तानले तेस्रो सेट २५–१५ ले आफ्नो बनाउँदै सुखद सुरुआत ग-यो। जितसँगै पाकिस्तान सेमिफाइनलनजिक पुगेको छ। पाकिस्तानले समूहको अन्तिम खेलमा शनिबार श्रीलकांसँग खेल्दा माल्दिभ्स भने शुक्रबार नै आफ्नो अन्तिम खेल श्रीलंकाविरुद्ध जोगाउने प्रयासमा हुनेछ।

प्रकाशित: १३ मंसिर २०७६ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App