८ वैशाख २०८१ शनिबार
खेल

उद्घाटन र समापनमा जोरबिजोर

फाइल तस्बिर

काठमाडौं – १३ औं  दक्षिण एसियाली खेलकुद(साग) को उद्घाटन र समापन समारोहका दिन काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ। सागको सुरक्षा समितिका संयोजक नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार  हुने उद्घाटन समारोह र २४ मा हुने समापन समारोहमा रंगशालामा भिभिआइपीको उपस्थिति हुने र उनीहरूको आगमनले यातायातको सहजतामा समस्या आउने भएकाले त्यसको सहजीकरणका लागि दुई दिन जोर–बिजोर प्रणाली लागू गरिने बताएका हुन्। त्यस्तै साग अवधिभर टुँडिखेलमा पार्किङको व्यस्था मिलाइएको समेत उनले बताए।

‘अहिले काठमाडाैंको मुख्य चुनौती भनेकै सडकमा हुने जाम हो।जुन खेलअवधिमा थप बढ्ने देखिन्छ। यसका कारण खेलाडी र दर्शकलाई खेलमैदानसम्म निर्वाध रूपमा जानका लागि कुनै समस्या हुन नदिन महानगरीय ट्रापिकसँगको सहकार्यमा त्यसैअनुरूपको कार्ययोजना तयार पारिएको छ,’ खनालले भने।

खनालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सागमा सुरक्षा व्यवस्था कडा र चुस्त हुनेमा सबैलाई ढुक्क हुन आग्रह गरेका हुन्। ‘सागमा अवाञ्छनीय गतिविधि हुन दिने छैनौँ। सागलाई सुरक्षित रूपमा अवतरण गर्न भिभिआइपी, भिआइपी, अतिथि, खेलाडी, पदाधिकारी, रेफ्री, मिडिया र दर्शकको सुरक्षा व्यवस्थामा रत्तीभर कमी हुने छैन,’ खनालले भने, ‘विदेशी पाहुनाका लागि सुरक्षा अझ चुस्त गरिनेछ।

होटलदेखि, यातायात व्यवस्थापन र खेलस्थलमा समेत विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको छ। पाहुनाहरूलाई विमानास्थलदेखि होटलसम्म, खेल्ने मैदानदेखि उनीहरूले भ्रमण गर्ने स्थलसम्म कडा सुरक्षा हुनेछ। आवश्यकता परेमा खेलाडीहरूलाई विशेष सुरक्षा व्यवस्थासहित खेलस्थलसम्म पनि पु-याइनेछ।

सुरक्षा विषयमा सावधानी र सतर्कता अपाउन आवश्यक सबै सुरक्षा उपायमा अपनाइनेछ। सम्भावित खतरालाई निस्तेज पार्ने व्यवस्था भइसकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सुरक्षा निगरानी उच्च बनाइएको छ।’ खनालले विशेष परिस्थितिका लागि थप सुरक्षाकर्मीको टिम तयार गरिने जानकारी दिए।

प्रकाशित: १३ मंसिर २०७६ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App