८ वैशाख २०८१ शनिबार
राजनीति

स्वास्थ्य स्थितिमा क्रमिक सुधार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार पनि सघन उपचार कक्ष (आइसियु) मै राखियो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको चिकित्सकले जनाएका छन्। संक्रमण हुन सक्ने भएकाले बिहीबार पनि प्रधानमन्त्री ओलीसँगको भेटघाटमा रोक लगाइएको छ। सघन उपचार कक्षमा राख्दासम्म भेटघाट गर्न नदिने सेन्टरले जनाएको छ।

प्रधानमन्त्री ओली बिहीबार दिउँसो सघन कक्षमै केहीबेर हिँडेको र उनले खाना पनि राम्रोसँग खाएको चिकित्सकले जनाएका छन्। उपचारमा खटिएका डा. अरुण साय्मीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिँदै खाना खाएको र केहीबेर हिँडेको बताए। ‘उहाँको अवस्था राम्रो छ, केहीबेर हिँडडुल गर्नुभयो। उहाँलाई आइसियुमै राखेर उपचार भइराखेको छ,’ डा. साय्मीले भने।

प्रधानमन्त्री ओली बिहान ओछ्यानबाट उठेर सोफामा पनि बसेका थिए। ‘उहाँ केहीबेर सोफामा बसेपछि ओछ्यानमै फर्कनुभयो’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने। उनको स्वास्थ्य अवस्थामा बुधबारभन्दा बिहीबार थप सुधार आएको चिकित्सकले जनाएका छन्।

प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हँुदै गएको बताए। ‘उहाँलाई अहिले जनरल वार्डमा सार्ने कुरा भएको छैन, आइसियुमै राखेर उपचार भइराखेको छ। बिहीबार निकै फ्रेस देखिनुभएको छ’, थापाले भने।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्विट गर्दै आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको जनाएका थिए। ‘दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यतिबेला मेरो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको छ। स्वास्थ्य स्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक धन्यवाद व्यक्त गर्छु,’ ट्विटमा उल्लेख छ।

डा. साय्मीका अनुसार सघन कक्षमा रहँदासम्म प्रधानमन्त्रीलाई भेटघाटमा रोक लगाइएको छ। प्रधानमन्त्रीको परिवारका सदस्य र सचिवालयका सीमित सदस्यलाई भने थोरै समय भेट्न दिइएको छ। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार साँझ सेन्टर पुगेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि केही मिनेट भेट गरे।

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारी र डा. दिव्यासिंहको टोलीले गरेको थियो।

प्रकाशित: १३ मंसिर २०७६ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App