६ वैशाख २०८१ बिहीबार
समाज

सिन्धुलीमा २ सय २७ ओटा सुरक्षित विद्यालय भवन निर्माण

सिन्धुलीको सुनकोसी गाँउपालिका ७ मा निर्माणाधिन माध्यमिक विद्यालय मझुवाको भूकम्प प्रतिरोधी विद्यालय भवन। तस्बिर:अनिल/नागरिक

सिन्धुली- भूकम्प गएको ४ वर्ष वितिसक्दा पनि विद्यालय भवन सुस्त गतिमा निर्माण भएको छ। २०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन अझै धेरै निर्माण हुन बाकीं रहेको पाइएको छ।

पुर्ण रुपमा ध्वस्त भएका केहि विद्यालय अझै टहरामै छन्। यसका अलवा जोखिमयुक्त विद्यालय भवनमा समेत पठनपाठन हुदैं आएको छ। भूकम्प पश्चात् विद्यालय भवन बनाउने तथा टहरा निर्माण गर्ने बहानामा विभिन्न एनजिओ तथा आइएनजिओले करोडौं रुपैयाँ खर्चेको जनाए पनि हालसम्म आधा बढी मात्रै विद्यालय भवन बनेको छ।

पुर्ण रुपमा ध्वस्त भई अस्थाई टहरो निर्माण गरेर पठनपाठन गरेका विद्यालय भवन समेत अझै टहरोमै भएको स्थानीयले बताएका छन्। सरकार तथा गैरसरकारी संघसंस्थाको लापरवाहीले पुर्ननिर्माण ढिलाई भएको स्थानीय बताउँछन्। लामो समयदेखि यहाँको हरिहरपुरगढीको क्यानेश्वर मा.वि ग्वालटार उच्च मावि लगायतका दर्जन बढी विद्यालय अझै टहरोमै सिमित छन्।

जिल्लामा रहेको पाँच सय ७७ विद्यालय मध्ये विनाशकारी भूकम्पबाट ५ सय ३५ विद्यालय प्रभावित भएको सरकारी तथ्याङक छ। जसमध्ये ४५ ओटा विद्यालय पुर्ण रुपमा माटोमै मिलेको थियो भने बाकीं विद्यालयहरु चर्कने तथा पठनपाठनका लागि असुरक्षित भएको थियो।

भूकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माण हुने क्रममै छ, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई, जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का प्रमुख शिबकुमार सापकोटाले भने। २ सय २७ ओटा नयाँ विद्यालय भवन निर्माण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ। सोही कार्यालयका इन्जिनियर अनिलकुमार यादवका अनुसार भूकम्पबाट क्षतिग्रस्त एक सय आठ ओटा विद्यालय भवन अझै निर्माण हुन सकेको छैन। बाकीं विद्यालय भवन भने निर्माणाधिन रहेको इन्जिनियर यादवले बताए।

क्षतिग्रस्त विद्यालय भवनको तथ्याङक अनुसार २६ सय ६७ ओटा कक्षाकोठामा भूकम्पले क्षति पुर्‍याएको थियो। अहिले बनेका विद्यालय भवन पहिलाका जस्ता कच्चा छैनन्, उनले भने, व्यवस्थित पक्कि भवन बनेका छन्। भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको एसियाली विकास बैक, नेपाल सरकार, नेपाल रेडक्रस सहित सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले निर्माणको जिम्मा लिएका छन्।

भूकम्प गएको पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएपनि त्यो सम्भावना हुने देखिएको छैन। एसियाली विकास बैकले जिल्लाभर गरि २६ ओटा विद्यालय भवन बनाउने जिम्मा लिएको छ। १२ कोठेदेखि २४ कोठेसम्मका भवन एडिवीले बनाउने जिम्मा लिएको कार्यालयका इन्जिनियर यादवले बताए। २६ ओटा एडिवी, १ सय ९९ ओटा, जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा), १३ ओटा शिक्षा समन्वय इकाईले बनाउने जिम्मा लिएको कार्यालयले जनाएको छ।

नेपाल सरकारले पाँच वर्षभित्र निजी आवाससहित अन्य क्षतिग्रस्त भवन बनाइसक्ने लक्ष्य लिएपनि सिन्धुलीमा भने निजी आवास र विद्यालय भवननै सुस्त गतिमा निर्माण भएको छ। २०७७ साल पौष महिनासम्ममा पुर्ननिर्माण सक्नुपर्ने सरकारको लक्ष्य रहेपनि सिन्धुलीमा भने पुर्ननिर्माण नसकिने देखिएको छ। पाँच बर्षमा झन्डै ९० प्रतिशत पुर्ननिर्माण हुने देखिएको छ, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयका निमित्त प्रमुख सुर्यप्रकाश विष्टले भने।


 

 

प्रकाशित: १२ मंसिर २०७६ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App