coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विवादमा विशेष साधारण सभा

काठमाडौं- नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको विशेष साधारण सभा मर्जरअघि कि पछि भन्नेमा विवाद देखिएको छ। नेपाल राष्ट्र बैंकबाट आएको व्यवस्थापन समूहले मर्जरपछि मात्र विशेष साधारण सभा गर्दा हुने र बैंक संंस्थापक सञ्चालकहरु मर्जरअघि विशेष साधारण सभा गर्नुपर्ने तर्क अडानमा छन्।

बैंक संंस्थापक सञ्चालकहरु मर्जरअघि नै विशेष साधारण सभाको माग राख्दै कम्पनी रजिस्ट्रार कार्यालयमा पुगेका छन्। तर, बैंक व्यवस्थापन समूहले मर्जरअघि विशेष साधारण सभाको माग राख्नु औचित्यहीन भन्दै आएको छ।

नेपाल राष्ट्र बैंकले एनसिसी र चारवटा विकास बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति दिइसकेको छ। तर, विशेष साधारण सभा मर्जरअघि कि पछि गर्ने भन्ने विषयमा विवाद हुँदा एकीकृत कारोबार हुन सकेको छैन।

बैंक संंस्थापक सञ्चालकहरुले विशेष सधारण सभाको माग राख्दै कम्पनी रजिस्ट्रार कार्यालय पुगेको राष्ट्र बैंकबाट आएको व्यवस्थापन समूहका सदस्य रेशमराज रेग्मीले शनिबार नागरिकलाई बताए। 'रजिस्ट्रारको कार्यालयले एनसिसी बैंकलाई विशेष साधारण सभा गर्न पत्र पठाएको छ,' उनले भने, 'मर्जरअघि विशेष साधारण सभा बोलाउँदा बैंकलाई आर्थिक भार बढी पर्ने भएकाले मर्जरपछि विशेष साधारण सभा बोलाउँदा हुने तर्क अगाडि सार्दै आएका छौं।'

मर्जरअघि नै एनसिसी बैंकका दुई तिहाइ सेयर सदस्यले मर्जरको प्रस्ताव पारित गरेकोले पुनः मर्जर अघि विशेष साधारण सभा बोलाउनु आवश्यक नभएको रेग्मीको भनाइ छ। 'मर्जरमा जाने सहमति सेयर सदस्यले दिएपछि पुनः विशेष साधारण सभा गरेर त्यही प्रस्ताव पारित गराउनुको अर्थ छैन,' उनले भने, 'रजिस्ट्रारको कार्यालयले विशेष साधारण सभा गराउन भन्छ भने पनि गराउन सकिन्छ।'

एनसिसी बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंकबीच मर्जरको अन्तिम चरणमा समस्या सिर्जना भएपछि एकीकृत कारोबार हुन सकेको छैन। विवादका कारण ती बैंकहरुलाई मर्जरुमा जान नियामक निकाय राष्ट्र बैंकले अन्तिम स्वीकृति दिए पनि कम्पनी रजिस्ट्रार कार्यालयले स्वीकृति दिएको छैन।

विवादका कारण कम्पनी रजिस्ट्रारको कार्यालयले स्वीकृति दिन आनाकानी गरेको छ। मर्जको विषयमा अदालतमा मुद्दा विचाराधीन रहेको र संस्थापक सञ्चालकका तर्फबाट कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी हालेकाले निर्णयमा पुग्न नसकिएको कम्पनी रजिस्ट्रार कार्यालयको भनाइ छ

यसअघि उक्त मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले विशेष साधारण सभाबाट बाहिरिने निर्णय गरेको थियो। एनसिसी बैंकको सम्पत्ति मूल्यांकन कम गरिएको भन्दै बैंकका संस्थापक सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठ अदालत गएपछि मर्जर प्रक्रियामा ढिलाइ भएको हो। 'अदालतले पनि कुरा बुझेको छ, मर्जरमा झमेला हुँदैन,' उनले भने, 'मर्जर प्रक्रियामा कुनै अवरोध आउँदैन।'

एनसिसी र चार विकास बैंक मर्जर प्रक्रिया विवाद उद्योग मन्त्रालयसम्म पुगेको छ। एनसिसी बैंक र चारवटा विकास बैंक मर्जरमा देखिएको समस्या सल्टाउन कम्पनी रजिस्ट्रारको कार्यालय र उद्योग मन्त्रालयले गरेको प्रयास पनि सफल हुन सकेको छैन। उक्त विषयमा कानुन अनुसार निर्णय गर्ने निकाय कम्पनी रजिस्ट्रारको कार्यालय भएको भन्दै उद्योग मन्त्रालयले पन्छिएको एक सहभागीले बताए।

केन्द्रीय बैंकका अनुसार, मर्जरपछि उक्त बैंकमा एनसिसीबाट ४ जना, चार विकास बैंकबाट १–१ जना गरी ४ र एकजना स्वतन्त्र सञ्चालक गरी कुल ९ जना सञ्चालक समिति रहने छन्।

एनसिसी बैंकमा समस्या आएपछि राष्ट्र बैंकले व्यवस्थापनको जिम्मेवारी लिएको थियो। मर्जर प्रक्रिया पूरा गरेपछि बैंक सञ्चालनको जिम्मेवारी सञ्चालक समितिलाई नै दिने राष्ट्र बैंकको तयारी छ। तर, एकपछि अर्को विवाद आएपछि एकीकृत कारोबारमा ढिलाइ भइरहेको छ।

केन्द्रीय बैंकले एनसिसीसँगै नेपाल सेयर मार्केट र नेपाल फाइनान्सको व्यवस्थापन गरिरहेको छ। 

प्रकाशित: २६ मंसिर २०७३ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App