coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भ्रष्टाचार गरी अकुत सम्पत्ति

बारा – सरकारी जागिरको २९ वर्षकै अवधिमा एकजना नायब सुब्बा (नासु)ले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। मालपोत कार्यालय सिमराका तत्कालीन निमित्त प्रमुख मदनप्रसाद गुप्ताले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा करोडौंको सम्पत्ति जोडेको अख्तियारले जानकारी दिएको छ।

रौतहटको गौरमा घर भएका गुप्ताले २०४७ सालमा मालपोत कार्यालय मुस्ताङबाट खरिदारको पदबाट सरकारी सेवा प्रवेश गरेका थिए। २०६४ सालमा नासुमा बढुवा भई मालपोत कार्यालय वीरगन्ज, पर्सामा उनको सरुवा भएको थियो। पर्सामा सरुवा भएपछि नासु पदमा उनले २०६४ देखि २०७४ सालसम्म काम गरे। सोही समयमा गुप्ताले घरजग्गा खरिदबिक्री गर्ने सेवाग्राहीसँग नियमअनुसार राजस्व लिए पनि थोरै दाखिला गर्ने र बढी आफूसँगै राख्ने गरेको, सार्वजनिक र विवादित जग्गामा ठूलो रकम लिएर आफूखुसी फैसला गराउन लगाउनेलगाएत कार्य गरेर करोडौं भ्रष्टाचार गरेको वीरगन्ज मालपोत कार्यालयका एक पुराना कर्मचारीले बताए।

त्यस्तै मालपोत कार्यालय कलैयामा रहँदासमेत गुप्ताले रजिस्ट्रेसन नम्बर ३ मा काम गर्ने जिम्मेवारी पाए पनि आफूखुसी अन्य रजिस्ट्रेसनहरूबाट पनि काम गर्ने गरेको मालपोत कार्यालय कलैयाका प्रमुख रामकृष्ण उप्रेतीले बताए। गुप्ताले मालपोत कार्यालय कलैया र मालपोत कार्यालय सिमरामा पनि आफूखुसी काम गरे पनि उनले गरेको काम अख्तियारले छानबिन गरिरहेकाले त्यसबारे बोल्नु राम्रो नहुने उप्रेतीले बताए। गुप्ताले सरकारी सेवामा प्रवेश गरेको लगभग २९ वर्षको अवधिमा गैरकानुनी रूपमा १४ करोड ८१ लाख रुपैयाँ भ्रष्टाचार भनी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गुप्ताले आफूले कमाएको सम्पत्ति पत्नी रिता देवी, छोराहरू विक्की र रकी गुप्ताको नाममा लुकाएको आरोपमा उनीहरूमाथि पनि मुद्दा चलाइएको छ। त्यसैगरी कविता कुमारी, निरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, मालपोत कार्यालय पर्सा वीरगन्जका कर्मचारी जुगुली प्रसाद र जगतनारायण यादवलाई पनि प्रतिवादी बनाएर उनीहरूको नाममा रहेको सम्पत्तिसमेत छानबिनको दायरामा राखेको छ। गुप्ताले जागिर अवधिमा गैरकानुनी कुल १९ करोड ३६ लाख रुपैयाँको चलअचल र तलब तथा अन्य वैध आयबाट ४ करोड ५४ लाख रुपैयाँ मात्र आर्जन गरेको अख्तियारको दाबी छ।

प्रकाशित: १२ मंसिर २०७६ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App