coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डाँडातिर उक्लिँदै ठूलो लगानी, सुनसान डाँडामा ‘लक्जरी’ होटल

पोखरा – पोखराबाट १४ किलोमिटर टाढा सराङकोटमा अहिले सुविधासम्पन्न सराङकोट माउन्टेन लज तयार भएको छ । केही समयमा पूर्ण रुपमा सञ्चालनमा आउने यो लजमा होटल बाराही समुह अन्तर्गतको लगानी छ । बाराहीले यसअघि लेकसाइड, चितवनको मेघौलीमा होटल सञ्चालन गरिसकेको छ । बाराहीले नै काठमाडौंमा पनि सुविधासम्पन्न होटल निर्माण गरिरहेको छ ।

बाराहीले लगानी गरेको सराङकोटमा केहीसमय अघिसम्म सुविधासम्पन्न होटल थिएनन् । सुविधायुक्त पूर्वाधार अभावमै सूर्याेदय र सुर्यास्तको दृष्यावलोकन गर्न र प्याराग्लाइडिङ गर्न उक्लिने बाहेक सराङकोटमा पाहुना अडिएका थिएनन् । तर, अब सराङकोट उक्लेका पाहुनालाई पोखरा फर्किन नपर्ने गरी सुविधा दिलाउन लज बनाएको बाराहीको भनाइ छ । सराङकोटको यो लजमा बाराहीसँगै अर्का व्यवसायी नारायण पहारीले पनि लगानी गरेका छन् । त्यही सराङकोटमा अहिले पाँचतारे आकारको अर्काे अन्नपूर्ण भ्यू होटल पनि निर्माणाधीन छ । अन्नपूर्ण भ्यू पनि केही समयमा सञ्चालनमा आउने तयारी छ । अन्नपूर्ण भ्युमा जापानी मुलका नेपाली नागरिकले लगानी गरेका छन् ।

समुन्द्री सतहदेखि १६ सय मिटर उचाइमा बनेको सराङकोट माउन्टेन लजमा बसेका पाहुना उत्तरतिर फर्किदा एकै नजरमा अन्नपूर्ण र माछापुच्छे«सहित हिमाली शृंखला अवलोकन गर्न पाउँछन् । त्यस्तै हेम्जाको फाँट र सेती नदी पनि देख्न पाउँछन् । पाहुनाले पोखरातिर नियाल्दा सहर र फेवातालसहितका दृष्य अवलोकन गर्न पाउँछन् । यही सुन्दरता पस्किन लजको सबैभन्दा माथिल्लो तल्लामा ‘स्वीमिङ पुल’ निर्माण गरिएको छ । पाहुनाले स्विमिङ पुलमा पौडिँदै हिमाली शृंखलासँग लुकामारी गर्न सक्छन् । कतैबाट पनि हिमाली शृंखला नछेकिने हुँदा पाहुना दिनभर रम्न पाउँछन् ।

२८ डिलक्स र दुई सुइटसहित ३० कोठाको यो लजबाट प्याराग्लाइडिङ, बञ्जिजम्प, जिप फ्लायरलगायत साहसिक गतिविधि पनि अवलोकन गर्न सकिन्छ । ‘सराङकोट पुगेका पाहुनालाई गुणस्तरीय सेवा पस्किनका लागि लगानी गरेका हौं,’ बाराही गु्रपका सञ्चालक विप्लव पौडेलले भने, ‘लज तयार पार्न कम्ति मेहनतले पुगेन ।’ करिब ३५ करोड रुपैयाँ लगानी भएको सराङकोट माउन्टेल लजलाई आकर्षक बनाउन काठ, ढुंगा र माटो जस्तो देखिने रंग प्रयोग गरिएको छ ।

ग्रामीण भेगका घरका भित्ता जस्तो यहाँका संरचना देख्दा पाहुना झनै लोभिने गरेको उनले बताए । ‘सरकारले सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ । त्यो बेलाका लागि हामीले पनि तयारी गरेका हौं,’ उनले भने, ‘यसले गुणस्तर (खर्चालु) पाहुनालाई आकर्षण गर्ने विश्वास छ ।’ दसैंदेखि आंशिक रुपमा मात्र सञ्चालनमा आएको यो लज अंग्रेजी नयाँ वर्षदेखि पूर्ण आकारमा सञ्चालन गर्ने लक्ष्य रहेको पौडेलले बताए । 

सराङकोट माउन्टेन लजका सिस्टम डेभलपर म्यानेजर प्रदीप न्यौपानेका अनुसार यो लज आठ रोपनी क्षेत्रफलमा बनेको छ । लजलाई आकर्षक देखाउन नेपाली पहिचान दिलाउने ढुंगा र गाउँघरमा देखिने स्वरुप सजाइएको छ । ‘सबै प्रकारका पाहुना हाम्रा लक्षित समूहमा पर्छन्। किनकी अहिले विदेशी मात्र नभई स्वदेशी पनि पर्याप्त खर्च गर्ने क्षमता राख्छन्,’ न्यौपानेले भने, ‘लामो पदयात्राबाट थकित अवस्थामा फर्केका पाहुनालाई यहाँ उकाल्दा उनीहरुले पदयात्राको थकान बिर्सनेछन् । पदयात्राबाट फर्केका पाहुनालाई कम्तिमा दुई दिन सराङकोटको यो डाँडामा भुलाउन सकिन्छ ।’

उनका अनुसार सराङकोटबाट तोरीपानीसम्मको छोटो हाइकिङ पनि गराउन सकिन्छ । त्यस्तै सराङकोट क्षेत्रमा साइक्लिङ र लेकसाइडसम्मको छोटो पदयात्रा पनि गराउन सकिन्छ । ‘पोखरा सहरदेखि झन्डै १४ किलोमिटर टाढाको सराङकोटमा पुगेका पाहुनाले यहाँ बस्दा फरक अनुभूति गर्न सक्छन्, जुन पोखरा बस्दा देख्न सकिन्न,’ उनले भने, ‘पोखरा बस्दा ताल र केही हिमाली शृंखलाले आकर्षण गरे पनि सराङकोट उक्लिँदा प्रकृतिसँग थप रम्ने मौका पाहुनाले पाउँछन् ।’

बाराहीले जस्तै अहिले पोखरा आसपासका डाँडामा सुविधासम्पन्न होटल बनिरहेका छन् । सांग्रिला ग्रुपले लेखनाथमा बेगनासताल नजिकै सुविधासम्पन्न रिसोर्ट बनाउँदैछ । केही समयमा सञ्चालनमा आउने सांग्रिलाको यो रिसोर्टले पनि महंगो रकम खर्चने पाहुनालाई लक्षित गरेको सांग्रिलाका आवासीय म्यानेजर गुप्त गिरीले बताए । ‘पोखरा आसपासमा राम्रा रिसोर्टको अभाव थियो । सबै पाहुना पोखरामा अडिने अवस्था छैन । पोखरा सहरभन्दा बाहिर रमाउने खर्चालु क्षमताका पाहुनालाई हामीले लक्षित गरेका हौं,’ उनले भने, ‘पोखरा आएका पाहुनालाई ती रिसोर्टमा पु¥याउँदा फरक अनुभूति उनीहरुले गर्नेछन् ।’

केही वर्ष अघिसम्म पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मात्र ठूलो आकारको लगानीमा होटल खुलिरहेकामा पछिल्लो समय व्यवसायीले आसपासका डाडाँमा लगानी गरेर सुविधासम्पन्न होटल सञ्चालन गरिरहेका छन् । व्यवसायीको समूहले अहिले पोखरा आसपासका सराङकोट, कास्कीकोट, पुम्दीभुम्दी, मट्टिखान, बेगनास, धम्पुस, रुपाकोटमा ठूलो आकारको लगानीमा सुविधायुक्त होटल तथा रिसोर्ट बनाइरहेका छन् । रुपाकोटको रुपाकोट रिसोर्टले अहिले सबैतिर पहिचान बनाइसकेको छ । त्यस्तै निर्मलपोखरी जंगल आडैमा बनेको माउन्टेन ग्लोरी फरेस्ट रिर्सोट एण्ड स्पाले पनि उत्तिकै पहिचान बनाएको छ ।

‘अहिले आसपासका क्षेत्रमा होटलमा लगानी बढिरहेको छ । यो सबैका लागि खुसीको कुरा हो,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले भने, ‘पोखराभन्दा बाहिरका डाँडाकाँडामा रमाउन चाहने पर्यटकलाई ती होटल लक्षित छन् । पोखरा सहर आफैंमा साँघुरो भइसकेको बेला आसपासका खुलेका होटलले पाहुनालाई आकर्षण गर्न सक्छन् ।

सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा आसपासका डाँडामा सुविधासम्पन्न होटल खुल्दा ती क्षेत्र पनि नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने व्यवसायीको भनाइ छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन भन्छन्, ‘पोखरा आसपासका डाँडामा अहिले व्यवसायीले ठूलो लगानी गरेका छन् । कुनै बेलाका गुमनाम ती डाँडा अहिले पर्यटनमय बन्न थालेका छन् ।’ डाँडाडाँडासम्म मोटरबाटोको पहुँच पुगेपछि होटल बन्न थालेको पनि उनले बताए । मोटरबाटोको पहुँच पुगेपछि पर्यटकलाई ती डाँडासम्म उकाल्न पनि सहज भएकाले होटलमा लगानी बढिरहेको तुलाचनले बताए ।

‘केही समयअघिसम्म लेकसाइडमा केन्द्रित लगानी अहिले डाँडाकाँडामा विस्तार भइरहेको छ । शान्त र प्राकृतिक वातावरण रुचाउने पाहुनालाई व्यवसायीले लक्षित गरेका हुन् । हिजोसम्म पर्यटनका लागि लेकसाइड मात्र भन्ने चलन थियो । अब पर्यटन डाँडासम्म उक्लिन थालेको छ,’ उनले भने, ‘पर्यटन क्षेत्रमा यसलाई सकारात्मक लिनुपर्छ । डाँडाकाँडामा पर्याप्त जग्गा पाइने भएकाले पनि सुविधायुक्त पूर्वाधार बनाउन सहज छ ।’ नेपालसम्मको पहुँच सहज हुने र पर्यटक आगमन बढाउने हो भने डाँडाकाँडामा बनेका यी होटलले पाहुना अभाव खेप्नुनपर्ने तुलाचनको भनाइ छ ।

प्रकाशित: १२ मंसिर २०७६ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App