६ वैशाख २०८१ बिहीबार
राजनीति

शनिबार मतदान, बुधबार रातिबाट मौन अवधि

काठमाडौं – मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलन गर्दै शनिबार हुने उपनिर्वाचनका आवश्यक निर्वाचन सामग्री, कर्मचारी खटनपटन, सुरक्षा प्रबन्धसहितका सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। आयोगका मतदानका लागि मतपत्रलगायत निर्वाचनका सामग्री सम्बन्धित जिल्ला र मतदान केन्द्रमा पुगिसकेका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचन तयारी पूरा भएको उल्लेख गर्दै मतदानका लागि तयार भएर बस्न आग्रह गरे। ‘उपनिर्वाचन हुने ३७ जिल्लाका दुई सय ४७ मतदान स्थल तथा पाँच सय ३७ मतदान केन्द्रमा केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी आवश्यक मतदानका सामग्रीसहित मतदान केन्द्रमा पुगिसकेका छन्,’ प्रमुख आयुक्त थपलियाले भने, ‘उपनिर्वाचनका लगि आवश्यक सुरक्षा प्रबन्ध भइसकेको छ।’

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनपछि रिक्त ५२ पदहरूमा शनिवार उपनिर्वाचन हुँदै छ। जसअनुसार प्रतिनिधिसभातर्फ कास्की–२, प्रदेशसभाअन्र्तगत भक्तपुर –१ (क), बागलुङ–२ (ख) र दाङ ३ (ख) मा उपनिर्वाचन हुँदै छ। स्थानीय तहतर्फ भने धरान उपमहानगरपालिकाको प्रमुख, संखुवासभा जिल्लाको मकालु गाउँपालिकाको अध्यक्ष, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष, हुल्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र विभिन्न गाउँपालिका तथा नगरपालिकाको गरी ४३ वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ।

आयोगले उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि दुई सय ४७ मतदान स्थल र पाँच सय ३७ मतदान केन्द्र तोकेको छ। उपनिर्वाचनमा ३७ जिल्लाका दुई लाख ३३ हजार चार सय दुई महिला र दुई लाख २० हजार २० हजार सात सय १० र तेस्रोलिंगी दुई गरि जम्मा चार लाख ५४ हजार एक सय १४ जना मतदाताले मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ। २०७४ सालयता उपनिर्वाचन हुने क्षेत्रमा १६ हजार दुई सय १९ जना नयाँ मतदाता थप भएको आयोगले जनाएको छ।

उपनिर्वाचनमा प्रतिनिधिसभातर्फ ११ वटा, प्रदेशसभातर्फ १५ वटा र स्थानीय तहको सदस्यको लागि २० वटा राजनीतिक दल सहभागी भएका छन् भने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने तीन सय ३३ उम्मेदवारमध्ये राजनीतिक दलतर्फ दुई सय ५३ र स्वतन्त्र ८४ जना छन्। उपनिर्वाचनमा सुरक्षाकर्मीबाहेक पाँच हजार तीन सय ६४ कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ।

बुधबार रातिबाट मौन अवधि सुरु भएको छ। आयोगले यस अवधिमा वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरेको हो। ‘मौन अवधिमा आचार संहिताको पूर्णपालना गरी निर्धक्क रूपमा मताधिकार प्रयोग गर्ने अवस्था निर्माणका लागि सम्पूर्ण सरोकारवालाहरूसँग अनुरोध गर्दछौं,’ आयोग प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘यस अवधिमा विभिन्न आश्वासन, प्रलोभन, डर, धाक, दबाब वा प्रभावमा पारेर मतदातालाई आतंकित पार्ने, मतदान केन्द्र जानबाट रोक्ने, मतदाता परिचयपत्र कब्जा गर्ने, एउटाको नाममा अर्कैले मतदान गर्ने, निर्वाचन क्षेत्रबाहिरका व्यक्तिहरु प्रवेश गरी शंकास्पद कार्य गर्ने, तथ्यहीन, गलत र भ्रम फैलाउनेलगायत निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने कार्य हुन नदिन सम्पूर्ण उम्मेदवार, राजनीतिकर्मी, पत्रकार, कर्मचारीलगायत आमनागरिकमा अपिल गर्दछौं।’

आयोगले निर्वाचन आचारसंहिताविपरीतको कार्य हुने आशंका वा घटना भए तत्काल जिल्ला उपनिर्वाचन आचासंहिता अनुगमन समिति, स्थानीय प्रशासन वा आयोगमा जानकारी गराउनसमेत आग्रह गरेको छ। आयोगले मतदान सुरु हुनुअघि मतदान केन्द्रको तीन सय मिटरवरपर राखिएका निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित सामग्री हटाउन र यस अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन, प्रसारण वा सम्प्रेषण र मत सर्वेक्षण गर्न नपाउने जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७६ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App