कैलाली – दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा पर्ने नेपाली भूभाग भारतले आफ्नो नक्सामा राखेपछि पछिल्ला दिनहरूमा नागरिकस्तरबाट दैनिकजसो विरोधका कार्यक्रम भइरहेका छन्। यसैक्रममा राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले कालापानी अभियानको सुरुआत गरेको छ। अभियानमा कैलालीको धनगढीबाट राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ता बुधबार मोटरसाइकल -यालीसहित दार्चुलाका लागि हिँडेका छन्।
मोटरसाइकल -यालीको सुरुआत गर्नुअघि धनगढीको पार्क मोडमा उद्घाटन गरिएको छ। राष्ट्रिय झन्डा र राष्ट्रिय जनमोर्चाको झन्डा जिल्ला अध्यक्ष नन्दराज भट्टलाई हस्तान्तरण गर्दै केन्द्रीय सदस्य मनोज भट्टले कालापानी अभियानको मोटरसाइकल -याली उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य भट्टले सरकारको नेतृत्व गर्ने दलको मौनताका कारण नेपाली भूमिमाथि भारतले हस्तक्षप गर्ने गरेको आरोप लगाए। ‘कालापानीमा भारतीय सेना बसेपछि ३५ वटा सरकार परिवर्तन भए,’ उनले भने, ‘तर कुनैले कालापानी हाम्रो भूमि हो भनेर भारतसँग भन्न सकेन।’ सत्ता बचाउने आशामा सरकारमा रहेका राजनीतिक दलले भारतविरुद्ध बोल्न नसकेको उनको भनाइ छ। तर पनि वर्तमान सरकारले थोरै पहल चालेको बताउँदै उनले सो प्रयास पर्याप्त नभएको बताए। ‘वर्तमान सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो त भन्यो,’ उनले भने, ‘यति मात्रैले पुग्दैन, अब कूटनीतिक पहल पनि गरिनुपर्छ।’ आफूहरूले सरकारलाई दबाब दिन थालेको अभियान भएको बताउँदै उनले भने, ‘लिपुलेक, लिम्पियाधुरासम्बन्धी हामीले जागरण ल्याइराखे सरकारलाई घच्घच्याउन बल पुग्छ।’
उनले हालै भारतले जारी गरेको राजनीतिक नक्सा सच्याई तत्कालै कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाइनुपर्ने माग राखेर राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीबाट दार्चुलासम्म मोटरसाइकल अभियान सुरु गरेको छ। नेपाली भूमिको रक्षा गर्न सरकारलाई दबाब दिने उद्देश्यले सो अभियान सञ्चालन गरिएको राष्ट्रिय जनमोर्चाका प्रदेश सचिव लक्षिराम आचार्यले बताए। अभियानमा सयभन्दा बढी मोटरसाइकल राष्ट्रिय झन्डासहित दार्चुला लागेका हुन्। पहिलो दिन बुधबार अत्तरिया तथा बुडरमा -याली तथा सभाको आयोजना गरिएको छ। मंसिर १२ गते डडेलधुरा र बैतडीको पाटनमा पनि -याली तथा सभा गरिने कार्यक्रम रहेको बताउँदै आचार्यले भने, ‘१३ गते दार्चुलाको खलंगा, १४ गते दाचुर्लाकै गोकुलेश्वर, १५ गते बैतडीको गोठालापानी र डोटीको दीपायलमा -याली र सभाको आयोजना गरिनेछ।
अभियानको समापन राष्ट्रिय जनमोर्चाका राष्ट्रिय अध्यक्ष चित्रबहादुर केसीले महेन्द्रनगरमा मंसिर १७ गते गर्ने कार्यक्रम छ।’ १८१६ मार्च ४ मै सुगौली सन्धिबाटै निक्र्योल भएको महाकाली नदीको मुहानसम्मको भूभाग नेपालकै भएको उल्लेख भए पनि अहिले आएर भारतले कालापानी, लिपुलेक लिम्पियाधुरा आफ्नो भएको नक्सा सार्वजनिक गर्दा आफ्नो भूमि खोसिएको पीडा महसुस भएको स्थानीय बताउँछन्।
प्रकाशित: १२ मंसिर २०७६ ०२:०७ बिहीबार