coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सात जनालाई मृत्युदण्डको फैसला

फैसलापछि अदालत परिसरबाट अभियुक्तलाई लैजाँदै बंगलादेशी सुरक्षाकर्मी। तस्बिर: एजेन्सी

ढाका – बंगलादेशको एक अदालतले मुस्लिम अतिवादी समूहमा आबद्ध सात जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ।
बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सन् २०१६ मा आक्रमण गरी १८ जना विदेशीसहित २२ जनाको हत्या गरेको आरोपमा सातजनाको उक्त समूहलाई मृत्युदण्ड दिइएको हो।

राजधानी ढाकास्थित एक खचाखच भरिएको आतंकवाद–विरोधी इजलासमा न्यायाधीश मोजिबुर रहमानले सातै जनालाई मृत्युदण्डको फैसला सुनाएका थिए। न्यायाधीश रहमानले आतंकवादी समूह इस्लामिक स्टेटमा आबद्ध रहेर सो समूहका सदस्यहरुले बंगलादेशमा आतंक मच्चाउन खोजेको बताएका थिए।

न्यायाधीश रहमानले सातै जनालाई झुण्ड्याएर मृत्युदण्ड दिन आदेश दिएका छन्। प्रहरी भ्यानमा राख्नुअघि मृत्युदण्डको फैसला सुनाइएका उनीहरुले ‘इस्लाममाथि आफूहरुको आस्था रहेको’ भन्दै चिच्याएका थिए। क्याफेमा हमला गरेको आरोपमा पक्राउ परेका आठौं व्यक्तिलाई भने थुनामुक्त गरिएको छ।

सन् २०१६ को जुलाईमा राजधानी ढाकास्थित होली आर्टिजन बेकरी क्याफेमा अत्याधुनिक राइफलसहितका इस्लामिक जिहादी युवाले अन्धाधुन्ध गोली चलाई विदेशी नागरिकको हत्या गरेका थिए। विदेशी नागरिक भेला हुने यो ढाकाको चर्चित स्थान हो। आक्रमण परी सो समय सात जना जापानी र नौ जना इटाली नागरिक मारिएका थिए। यस आक्रमणका क्रममा दुई जना बंगलादेशी प्रहरी पनि मारिएका थिए।

करिब १० घण्टा इस्लामिक जिहादीको नियन्त्रणमा रहेको सो क्याफेलाई सैनिक कमान्डोले मुक्त गराएका थिए। त्यसबेला जिहादी समूहले दुई दर्जनभन्दा बढी विदेशीलाई बन्धक बनाएका थिए। सैनिक कारबाहीमा पाँचै जना आक्रमणकारी मारिएका थिए। सो आक्रमणबाट बंगलादेशमा इस्लामिक चरमपन्थविरुद्ध तनाब उत्पन्न भएको थियो। बंगलादेश सरकारले यस आक्रमणलगत्तै देशव्यापी धरपकड र कारबाही सुरु गरेको थियो जसबाट एक सयभन्दा बढी इस्लामिक अतिवादी मारिनुका साथै झण्डै एक हजार जना पक्राउ परेका थिए।

आक्रमणकारीको खोजीका क्रममा आठ जना ढाकामा मारिएका थिए जसमा घटनाका मुख्य योजनाकार बंगलादेशी मुलका क्यानाडेली नागरिक तमिम अहमद चौधरी पनि थिए। कारबाहीमा अतिवादी समूह जमेतुल मुजाहिद्दीन बंगलादेशका कमान्डर पनि मारिएका थिए।

प्रकाशित: १२ मंसिर २०७६ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App