८ वैशाख २०८१ शनिबार
समाज

सुस्त गतिमा सारिँदै धेरै माछा मरे

काठमाडौं- राजधानीस्थित रानीपोखरीको पानी सुकेपछि त्यहाँ रहेका माछा कमलपोखरी सारिँदै गरे पनि सुस्त गतिले माछा धमाधम मर्न थालेका छन्। पोखरीको रत्नपार्क छेउको हिलोमा माछा मरिरहेका छन्। पोखरी वरिपरि किनारमा हिलो पनि सुकिसकेको छ। हिलो सुकिसकेको ठाउँमा मरेका माछा प्रशस्त छन्। पोखरीको किनारमा मात्र नभएर बाल गोपालेश्वर मन्दिर वरिपरि मरेका माछा प्रशस्त रहेको पोखरीबाट माछा कमलपोखरी सार्न खटिएका कामदारले बताए। पोखरी बाहिरबाटै पनि पोखरीमा मरेका माछा सहजै देखिन्छन्। मरेका माछाको दुर्गन्ध सडकमा फैलिएको रानीपोखरी छेउ हिँड्ने बटुवाले बताए।

काठमाडौं महानगरपालिकाले पर्यटकीय केन्द्र बनाउने भन्दै रानीपोखरीमा निर्माणसम्बन्धी विभिन्न काम गरिरहेको छ। हिलो समेत सफा गर्ने भन्दै पोखरीमा केही महिनायता पानी हालिएको छैन। पानी नहाल्दा पोखरीको पानी सुकेर माछा धमाधम मरिरहेका हुन्।

माछा मरेको समाचार सञ्चारमाध्यममा आएपछि महानगरपालिकाले पोखरीमा निर्माण ठेक्का दिएको वर्ल्ड वाइड/कँडेल/केएनकेबी जेबीलाई त्यहाँका माछा कमलपोखरी सार्न लगाएको थियो। ठेकेदार कम्पनीले गत मंगलबार माछा सार्न थाले पनि सुस्त गतिले गर्दा अझै सकिएको छैन।

दैनिक हजारको हाराहारीमा माछा सारिरहेको निर्माण कम्पनीले दाबी गरेको छ। ‘हामीले दैनिक एक हजारको हाराहारीमा माछा कमलपोखरी सारिरहेका छौं,’ निर्माण कम्पनीका अर्जुन कँडेलले भने, ‘हिलोमा खप्टिएर बस्दा रहेछन्। जति सार्‍यो, त्योभन्दा धेर फेला पर्छन्।’ ठेकेदारले माछा सार्न जम्मा २/३ जना कामदार मात्र लगाएको छ। चिप्लो र हिलोले गर्दा माछा समाउन निकै गाह्रो हुने कामदारले बताए। कामदार कम भएकाले पनि माछा सार्न ढिलो भइरहेको छ। ढिलाइ हुँदा मर्ने माछाको संख्या बढ्दै गएको छ।

माछा सार्न अहिंसाप्रेमी साकाहारी समाजका दुई जना सदस्य पनि शुक्रबारदेखि सघाइरहेका छन्। ‘माछा मरेको देखेर स्वयंसेवा गर्न आयौं,’ समाजका  उपाध्यक्ष दुर्गानाथ दाहालले भने, ‘जनशक्ति र माछा ओसार्ने साधन नहुँदा माछा धमाधम मरिरहेका छन्।’ दाहालका अनुसार पानी सुक्दा मरिरहेका माछाभन्दा बढी भित्र मरिसकेका माछाको संख्या निकै बढी छ।

कामदार थपेर तीव्र गतिमा नसारे बाँकी माछा सार्न अझै ८/१० दिन लाग्ने दाहालले बताए। पानी सुक्दै गएकाले सारुन्जेल हजारौं माछा मरिसक्ने उनको अनुमान छ।

महानगरपालिकाले माछा सार्न निर्माण कम्पनीलाई अह्राउने बाहेक कुनै चासो नदेखाएको वरिपरिका स्थानीयले बताए। महानगरपालिकाले बेवास्ता गरी माछा सार्ने काम निर्माण कम्पनीको भन्दै जिम्मेवारी पन्छाएपछि माछा मरिरहेका हुन्। महानगरपालिकाकै बेवास्ता गर्दा निर्माण कम्पनीले समेत कछुवा गतिमा माछा सारिरहेको हो। महानगरपालिकाले माछा सार्ने खर्च दिनुपर्ने भन्दै निर्माण कम्पनीले सुस्त गतिमा सारिरहेको अनुमान महानगरपालिकाकै एक कर्मचारीले गरे।

रानीपोखरीको निर्माण हेरिरहेका महानगरपालिकाका सहरी विकास पूर्वाधार शाखा प्रमुख उत्तरकुमार रेग्मीसँग यसबारे सोध्दा माछा सारिसकेको जवाफ दिए। माछा सारि नसकिएको र धमाधम मरिरहेको जानकारी गराउँदा उनले निर्माण कम्पनीले सारिरहेको बताउँदै यसबारे आफूसँग धेरै नसोध्न रेग्मीले भने।

स्वयंसेवा गरिरहेका दाहालले भने महानगरपालिकाकै बेवास्ताले माछा मरिरहेको आरोप लगाए। ‘माछा मरिरहेको देखेर पानी हाल्ने अनुमति माग्न महानगरपालिका गएका थियौं,’ दाहालले भने, ‘महानगरपालिकाले हिलो निकाल्न पानी सुकाएकाले पानी हाल्न नमिल्ने बतायो।’ कम्पनीले सारिरहे पनि अहिलेकै गतिमा अझै धेरै दिन लाग्ने देखेर आफूहरूले सहयोग गरिरहेको बताए।

यसअघि जेठमा पनि महानगरपालिकाले रानीपोखरीका केही माछा बालाजु बाइसधारा पार्कमा सारेको थियो। बालाजुमा नसहजाएपछि अहिले महानगरपालिकाले माछा कमलपोखरीमा सार्न लागेको हो।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘रानीपोखरी पुनर्निर्माण ठेक्का निर्माण कम्पनीलाई दिइसकेकाले माछा सार्ने जिम्मेवारी पनि उसैको हो।’ उनले पानी सुकेर माछा मर्न थालेको जानकारी पाएपछि निर्माण कम्पनीलाई सार्न लगाइएको बताए।

प्रकाशित: २६ मंसिर २०७३ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App