८ वैशाख २०८१ शनिबार
समाज

खोलामा मनपरी गर्ने २७ टिपर नियन्त्रणमा

नवलपरासी- खोलानालाबाट अवैध रुपमा बालुवा, गिटी र ढुंगा निकालेर ओसारेको आरोपमा नवलपरासी जिल्ला विकास समितिले शनिबार २७ वटा टिपरलाई नियन्त्रणमा लिएको छ। निर्माण व्यवसायीले बिनास्वीकृति खोलानालाबाट मनपरी गिटी, ढुंगा र बालुवा निकालेको जनगुनासो आएपछि स्थानीय विकास अधिकारी (एलडीओ) सहितको टोलीले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा केरुंगे खोलाबाट ती टिपरलाई नियन्त्रणमा लिइएको हो।

 'नवलपरासी जिविसले नदीजन्य निर्माण सामग्री उत्खननका लागि दाउन्ने पश्च्मिको एउटा खोला मात्रै ठेक्का लगाएको छ। तर दाउन्ने पूर्वको कावासोतीको केरुंगे खोलाबाट अनधिकृत रुपमा बालुवा, गिटी र ढुंगा निकालेर ओसारेको जनगुनासो आएपछि शनिबार अनुगमनमा गएका थियौं', एलडीओ जीवलाल भुसालले भने। अनुगमन टोलीले केरुंगे खोलाबाट २७ वटा टिपर, तीन जेसिभी र दुई ट्याक्टर नियन्त्रणमा लिएको हो।

 नियन्त्रणमा लिइएका सबै गाडीलाई इलाका प्रहरी कार्यालय, कावासोतीमा राखिएको छ। तीन वर्षअघि गिटी र ढुंगा निकाल्ने ठेक्का पाएको संवृद्धि निर्माण सेवा कम्पनीले अहिले पनि खोला उत्खनन गरेर निर्माण सामग्री उठाइरहेको पाइएको जानकारी भुसालले दिए। ठेकेदारका मानिसले भने पहिला निकालेर राखेको गिटी र बालुवा अहिले उठाउन लागेको बताएका छन्।

 खोलाबाट गिटी र बालुवा झिकेर थुप्रो लगाएको भेटिएको एलडीओ भुसालले बताए। 'एक वर्ष ठेक्का पाएपछि जेठ मसान्तसम्म गिटी र बालुवा निकाल्न पाइन्छ। निकालेको सामग्री पूरै उठाइसक्नुपर्छ, बाँकी रहे त्यसको जानकारी तत्कालै जिविसमा दिनुपर्छ। र त्यसरी जानकारी दिएको दुई साताभित्र उठाइ सक्नुपर्ने नियम छ', उनले भने।

 तर तीन वर्षअघि पाएको ठेक्काको आधारमा अहिले गिटी र बालुवा निकालेर बेच्नु नियमसंगत नदखिएकाले टिपरलाई नियन्त्रणमा लिइएको अनुगमन टोलीले जनाएको छ। टिपर र ठेकेदारलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने भएको छ।

एलडीओ भुसालले नियमविपरीत जानेलाई कारबाही गरेरै छाड्ने बताए। गिटी, ढुंगा, बालुवा उत्खनन्का लागि ठेक्का दिएर नवलपरासी जिविसले अघिल्लो वर्ष पाँच करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन गरेको थियो।

 जिविसको राजस्वको प्रमुख आधार मानिएको गिटी, ढुंगा उत्खननमा अनियमितता हुनेगरेको जनगुनासो व्यापक  छ। चुरेसँग जोडिएकाले केरुंगे खोला वातावरणीय दृष्टिले निकै संवेदनशील मानिन्छ।

प्रकाशित: २६ मंसिर २०७३ ०२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App