coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साढे ११ करोड हिनामिना गर्ने कार्यालय सहायक पक्राउ

कपिलवस्तु- बैक सरह काम गर्ने कपिलस्तुको तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा साढे ११ करोडको हिनामिनाको  घटना बाहिर आएको छ। सहकारीका कर्मचारी र बचत संकलनकर्ताबाट बचत र कर्जामा कुल ११ करोड ४९ लाख ६ हजार रकम अपचलन भएको हो।

बैंकका सीईओ मुकुन्द बर्माका अनुसार प्रारंभिक विवरण अनुसार बचत तर्फ ८ करोड ४० लाख ४४ हजार र कर्जा तर्फ ३ करोड ९ लाख २२ हजार रकमको अत्तोपत्तो नभएको बताए। कर्मचारीले गरेको बदमासी बारे ४ महिना अघि नै पत्ता लागे पनि गुपचुप राखिएको थियो। एक साता अघि ठगीका बारे तौलिहवा बजारमा चर्चा चलेपछि बचतकर्ताहरुले आफ्नो रकम फिर्ता लिनेको भिड लागेको थियो। तर सहकारीले तरलताको अभवा जनाउदै रकम दिन नसकेपछि ठगीको घटना बारे सहकारीले आफै पत्रकार सम्मेलन गरी कुरा बाहिर ल्याएको हो।

सहकारीका कार्यालय सहायक राजेशकुमार कान्दुले १ करोड ४ लाख ३२ हजार ७ सय १२ रुपैयाँ हिनामिना गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत मुकुन्द बर्माले बताए। २०७४ असार २१ गतेदेखि २०७५ माघ २५ गतेसम्म ४ वटा ठेलीको हिसाब गर्दा कार्यालय सहायक कान्दुले उक्त रकम हिनामिना गरेको देखिएको छ। आरोपी कर्मचारी कान्दुले सहकारीमा देखिएको हिनामिना रकम करिब २ करोड रुपैयाँ व्यक्तिगत प्रयोजनमा उपभोग गरेको स्वीकार गरे।

आरोपी कान्दुले २ करोड दिएर बाँकी रकम मिन्हा गरिए आफुले तत्कालै रकम उपलब्ध गराउने समेत बताएका थिए। २०५२ सालमा स्थापना भएको सहकारीमा लेखाको नियम अनुसार खातापाता व्यवस्थित गरिएको थिएन। गत बर्षको फागुनमा बैंकको कार्यकारी प्रमुखमा बर्मा नियुक्त भएपछि सहकारीको श्रेस्तामा कडाई गर्न थाले। बर्मा कै कडा मिहिनेत र निरीक्षणपछि कर्मचारीहरुको कर्तुत पत्ता लागेको सहकारीका अध्यक्ष रामेन्द्र्र सिंह रावलले बताए।

गत आर्थिक वर्षसम्म कर्मचारीहरुले संकलन र लगानी गर्ने ऋणको रकमको बासलात, लेजरमा उठाउने गरिन्थ्यो। कारोवारको भउँचर भने बनाउने चलन नै थिएन। लगानीकर्ताको खातामा सही प्रबृष्टी गरिने गरिएको थियो। तर लेजरमा हिनामिना गरिएको रकम चढाइने गरिएको थिएन। ‘वासलात र लेजर मिलाएर मात्र कारोवार गरिन्थ्योे यसबाट ठगीका बिषयमा पत्ता लगाउन गाह्रो भो’ सीईओ बर्माले भने ‘भउँचर बनाएर काम गर्दा चालु आर्थिक वर्षदेखि कर्मचारीहरुले गर्ने बदमासी बन्द भएको छ।’

गत आर्थिक वर्षमा संकलन गरिएका र संस्थामा जम्मा भएका रकम बिच ६३ लाख ६६ हजार २ सय ९१ रुपैयाँ फरक परेको छ। अन्य रकम ४ करोड बढीको फारम भेटिएको बर्माले बताए। सहकारीका बचत संकलक श्रवणकुमार गुप्ता (तेली) ले २७ लाख ६९ हजार २ सय ४३ रुपैयाँ हिनामिना गरेका छन्। बचत संकलक सुन्दरकेशव गुप्ताले १९ लाख ५ हजार ७ सय ६६ रुपैयाँ, कमलेश बारीले ४ लाख ८२ हजार ५ सय ४९ रुपैयाँ हिनामिनामा गरेका छन्। श्रवणले १० लाख ११ हजार नगद जम्मा गरेको र बाकीं रकम १७ लाख ५० हजार ऋण देखाएर मिलान गरिएको छ।

यस्तै, संकलनकर्ता सुन्दरकेशव गुप्ताले ६ लाख ५५ हजार नगद दाखिला गरेका छन् भने १२ लाख ५० हजार ऋण देखाएर हिसाब मिलान गरिएको सहकारीको श्रेस्तामा उल्लेख छ। सहकारीमा शेयर पुँजी बापत १ करोड छ लाख, २१ करोड ६४ लाख निक्षेप संकलन भएको र १० करोड डेढ लाख ऋण लगानी रहेको छ। हिनामिना प्रकरण बारे सहकारीमा खोजबिना भईरहेको अध्यक्ष रावलले बताए।

हिनामिनको खबरपछि सहकारीमा रकम झिक्नेको भीड
रकम हिनामिना भएको खबरपछि गत बिहीबारदेखि नै रकम झिक्न सदस्यहरूको भीड लागको छ। रकम झिक्न गएका बचतकर्ता सहकारीले रकम भुक्तानी नदिएपछि निराश भई फर्केका छन्। आफूले करिब ६ लाख रुपैयाँ बचत जम्मा गरेको तर झिक्न जाँदा १ लाख पनि नपाएको कपिलवस्तु नगरपालिका १ का बचतकर्ता रामनाथ गुप्ताले बताए। ‘विश्वासमा रकम जम्मा गरेँ तर चाहिँदा रकम फिर्ता पाइनँ’, बचतकर्ता गुप्ताले भने, ‘छोरीको विवाहका लागि जुटाएको पैसा अब नपाइने हो कि भन्ने चिन्ता बढ्यो।’ सहकारीका अनुसार ३ दिनभित्र १ करोड ६ लाख बढी भुक्तानी गरिएको छ।

रकम हिनामिना गर्ने मुख्य आरोपी राजेश पक्राउ
सहकारीको रकम हिनामिना गर्ने मुख्य आरोपी राजेश कान्दु पक्राउ परेका छन्। सहकारीका शेयर सदस्यहरुले बुधबार जोहरी दर्ता गराएपछि गुप्तालाई प्रहरीले तौलिहवा बजारबाट पक्राउ गरेको हो। गुप्तामाथि सहकारीको एक करोड ४ लाख हिनामिना गरेको आरोप लागेको प्रहरी नायव उपरीक्षक सुनिल मल्ले बताए। ‘अदालतबाट म्याद थपेर कारवाही प्रकृया अघि बढाएका छौं’ उनले भने। श्रोत अनुसार हिनामिना गरेको रकमबाट गुप्ताले तौलिहवामा तीन तले घर बनाएका छन्। ठाउँठाउँमा घडेरी समेत खरिद गरेको र मिटर ब्याजमा समेत रकम लगानी गरेका छन्। गुप्ताले सहकारीमा एक दशक अघिदेखि यस्तो कारोबार हुदैं आएको संचारकर्मीलाई बताएका छन्। आफुले केही वर्ष अघिदेखि मात्र यस्तो गरेको पनि उनले बताए।

 

प्रकाशित: ११ मंसिर २०७६ १३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App