coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एमबिबिएस प्रवेश परीक्षा नतिजामा 'गडबडी'

काठमाडौं- बाराका सुमन पटेलले एमबिबिएस पढ्न पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा नाम निस्केपछि खुसी भएर परिवारले नै भोज गरे। निकै मिहिनेत र परिश्रमको परिणामास्वरुप प्रतिष्ठानमा एमबिबिएस पढ्न नाम निकालेपछि साथीभाइ र छिमेकी परिवारमा उनले साटेको खुसियाली तीन दिनपछि दुःखमा बदलियो।  यो दुःख सुमनको कारणले होइन,  प्रतिष्ठानको  लापारबाहीका कारण आएको हो।

सुनसरीका विपीन मेहेताका परिवारले पनि छोराले एमबिबिएस प्रवेश परीक्षा पास गरेको भन्दै छरछिमेकमा मिठाई बाँडेर खुसियाली साटे। सामान्य परिवारका विपीनको यो खुसी पनि धेरै दिन टिकेन। प्रतिष्ठानले तीन दिनपछि नै नतिजा प्रकाशनमा प्राविधिक त्रुटि भएको भन्दै नयाँ नतिजा प्रकाशन गरेपछि उनको नाम हट्यो।

भर्नाका लागि नाम निस्किएपछि बधाईं साटासाट र मिठाइ बाँडेका दुई सय ८७ जना विद्यार्थीको नाम हटाएर प्रतिष्ठानले अर्को सूची टाँसेपछि अनियमितताको आशंका।

प्रतिष्ठानको प्रवेश परीक्षा  नतिजा प्रकाशनमा चरम लापारबाहीका कारण सुमन र विपीन मात्र होइन २ सय ८७ विद्यार्थी पीडित बन्न पुगे। पीडित विद्यार्थीले पहिलो नतिजा कायम गर्न माग गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएका  छन्।

पीडित २ सय ८७ विद्यार्थीले अधिवक्ता शंकरदत्त बडूको सहयोगमा बिहीबार सर्वोच्च अदालतमा न्यायाका लागि पहिलोे नतिजा कायम गर्न माग राखेर प्रतिष्ठानविरुद्ध मुद्दा दायर गरेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षि सत्र ०७३–०७४ का लागि चिकित्साशास्त्र स्नातक (एमबीबीएस) तहको सातौं समूहको विद्यार्थी भर्ना छनोट गर्न  कात्तिक२७ गते प्रवेश परीक्षा सञ्चालन गरेको थियो। लिखित परीक्षाको नतिजा मंसिर १४ गते प्रकाशित भयो। जसमा ३ सय ७७ विद्यार्थी भर्नाका लागि योग्य भएको भन्दै विद्यार्थीको आइडेन्टिफिकेसन नम्बर टाँसियो। पास भएका  विद्यार्थी प्रतिष्ठानले अन्तर्वार्ताका लागि तोकेको मंसिर १९, २० र २१ गते तयारीमा जुटे।

तर पास भएका विद्यार्थीको सपना त्यतिखेर खोसियो, जब प्रतिष्ठानले १७ गते आफ्नो वेबसाइटमा कोडिङडिकोडिङमा त्रुटि भएको भन्दै पुनः नयाँ नतिजा प्रकाशित गर्‍यो। नयाँ नतिजामा तीनजनाको नाम थपिएर ३ सय ७७ बाट बढाएर ३ सय ८० पुर्‍याइयो। पहिलो लिस्टमा पास भएका २ सय ८७ जनालाई फालेर नयाँ नाम निकालिएको थियो।

'अन्य वर्षमा एक सातामा प्रकाशित हुने नतिजा यो वर्ष १८ दिनपछि सार्वजनिक भयो,' सुमनले नागरिकसँग भने, 'पास भएको खुसीमा सबैसँग बधाईं साटें, अन्तर्वार्ताको तयारीमा जुटेको थिए तर प्रतिष्ठानले हामीलाई मर्नु न बाँच्नु बनायो।' उनले आक्रोश पोखे, 'प्रतिष्ठानले कोडिङडिकोडिङ त्रुटि भएको भन्दै नयाँ नतिजा प्रकाशन गर्दा तीनजना कसरी बढे?' कोडिङ डिकोडिङ सच्याउँदा पास भएका विद्यार्थीको नाममात्र तलमाथि हुने हो नयाँ आउने होइन। कतै न कतै गडबडी भएको छ।'

पीडित विद्यार्थी संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रेका छन्। समितिका अध्यक्ष विपीन मेहेताले प्रष्ठिानले विद्यार्थीलाई मात्र होइन परिवारलाई नै मानसिक तनाब दिएको गुनासो गरे। 'प्रतिष्ठनका पदाधिकिारी आर्थिक प्रलोभनमा र दबाबमा परेर आफैंले प्रकाशित गरेको नतिजा उल्टाएर नयाँ प्रकाशित गरी हामीलाई मानसिक तनाब दिएका छन्।' उनले थपे, 'प्रतिष्ठानको ऐनविपरीत नयाँ नतिजा प्रकाशित भएको छ। '

अधिवक्ता बडूले प्रतिष्ठानले कानुनविपरीत विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको र दबाबमा परेर पहिलो नतिजा त्रुटिपूर्ण भन्दै दोस्रो प्रकाशित गरेको जनाए। उनले प्रष्ठिानको ऐनमा एकपटक नतिजा प्रकाशित भएपछि सच्याएर दोस्रो पटक निकाल्ने व्यवस्था नभएको उल्लेख गरे। 'कोडिङडिकोडिङमा त्रुटि भएको बहानामा नयाँ विद्यार्थी समावेश गर्नु र पहिलाको भन्दा तीनजना विद्यार्थी बढाएर  नतिजा प्रकाशित गर्नुले नै प्रतिष्ठानमाथि प्रश्नचिह्न उब्जिन्छ,' अधिवक्ता, बडूले भने, 'प्रतिष्ठान सभा, प्राज्ञिक परिषद्, निर्देशक, उपकुलपति, सहकुलपति स्वास्थ्यमन्त्री र प्रधानमन्त्री कुलपति भएको स्वायत्त संस्थाले २८७ विद्यार्थीको भविष्यमाथि खेलबाड हुनेगरी त्रुटि गर्नु लज्जास्पद हो।' उनले थपे, 'लापारबाही गर्नेमाथि कारबाही हुनुपर्छ।'

प्रतिष्ठनका एक कर्मचारीका अनुसार परीक्षा समितिले प्रवेश परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्न अस्ट्रेलियाको न्युक्यासटेल विश्वविद्यालयमा पठाउने गरेको खुलाए। अधिवक्ता बडूले अस्ट्रेलियाबाट उत्तरपुस्तिका परीक्षण भएपछि कोडिङडिकोडिङ त्रुटि बहानामा नयाँ विद्यार्थी र थप तीन विद्यार्थी समावेश गरे फेरि नतिजा प्रकाशित गरी प्रतिष्ठानका पदाधिकारीले ऐनविपरीत कार्य गरेको दाबी गरे।

प्रतिष्ठानका निर्देशक डा. विष्णु शर्माले नयाँ नतिजामा तीन विद्यार्थी कसरी थपिए भन्नेबारे आफूले भन्न नसकने जबाफ दिए। उनले परीक्षा समितिले परीक्षाका सबै कार्य सम्पन्न गर्ने र निर्देशक भएको नाताले आफूलाई यस विषयमा अन्तिममा मात्र थाह भएको  बताए। 'नयाँ नतिजा प्रकाशित गर्दा पुराना २ सय ८७ विद्यार्थी फालिएका छन्, उनीहरूमाथि अन्याय भएको हो,' निर्देशक शर्माले भने। परीक्षामा भएको अनियमितताबारे स्वास्थ्य मन्त्रालयले छानबिन गरिरहेको छ।

प्रकाशित: २६ मंसिर २०७३ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App