coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महायज्ञमा मुस्लिमको बिवाह

महायज्ञ स्थलमा भएको विवाह समारोह। तस्बिरःनागरिक

भैरहवा– लाखौं खर्च गरेर हुने बिवाह पद्धतिलाई टोड्दै एक मुस्लिम परिवारले फरक शैलीमा बिवाह गरेका छन्।

रुपन्देहीको रोहिणी गाउँपालिकामा यस खाले उदाहरणीय बिवाह भएको हो। उक्त गाउँपालिका–२ की हसिना खातुनको बिवाह हिन्दु परम्पराबाट भएपछि पारिवारिक आर्थिक भार समेत कम भएको छ।  

आर्थिक अभावका कारण हसिनाको बिवाह गर्न सबै भन्दा चिन्तित थिए, उनका हजुरबा। अभिभावकको रुपमा हजुरबा बाहेक हसिनाको परिवारमा कोही पनि कोही थिएन। आमाको मृत्यु र र बाबु  बेपत्ता भएकोले हजुरबाको काँधमा ठूलो जिम्मेवारी थियो। 

हजुरबाको चिन्तालाई पोखरभिण्डीमा आयोजित विराटधनुष महायज्ञले समाधान गर्यो। हजारौं  संख्यामा उपस्थित स्थानीयले अर्शिवाद प्रदान गर्दै उनको बिवाह सम्पन्न भयो। रोहिणी गाउँपालिका र २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा महायज्ञ तथा कुस्ति प्रतियोगिता समेत आयोजना भएको थियो। 

बिवाहमा भारत जाराका नेउसाद आलम खाँ बेहुला थिए। खाँ र हसिनाले एक अर्कालाई ३ पटक ‘कबुल है’ भने पछि २ जनाको बिहे सम्पन्न भएको थियो। काजीले एक अर्कालाई कबुल गराएका थिए। 

हिन्दु पराम्परा अनुसारको महायज्ञमा विपन्न मुस्लिम समुदायको बिवाह गराएर गाउँपालिकाले  उदाहरणीय काम गरेको छ। गत बर्ष देखि महायज्ञमा बिवाह गर्ने गाउँपाकिाको योजना थियो। मेलामा बिवाह योग्य जोडी खोज्नको लागी गाउँपालिकाले सूचना नै प्रकाशित गरेको थियो। सूचना अनुसार स्थानीयले हसिनाको बिहेको लागी गाँउपालिकामा अनुरोध गरेका थिए।

हिन्दु समुदायको कार्यक्रममा मुस्लिम समुदायको बिहे भए यसले धार्मिक सदभावको उदाहरण कायम हुने देखेर गाउँपालिकाले पनि तत्काल उक्त जोडीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

उक्त जोडीको बिहे मुस्लिम पराम्परा अनुसार गरि आशीवार्दको लागी महायज्ञ स्थल ल्याईएको थियो। बिवाहमा गाउँपालिका, २ नम्बर वडा कार्यालय र स्थानीयहरुले सहयोग गरेका थिए। 

गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले पहिलो वर्ष १ जोडीको बिवाह गरेपनि आगामी दिनमा सामुहिक विवाहको प्रयास गरिने जानकारी दिए।

‘सम्पर्कमा आएका बिवाह योग्य विपन्न परिवारका छोरी छोराको बिवाह गरिने छ’ अध्यक्ष यादवले भने, ‘जसले बिवाहको लागि ऋण लिनुपर्छ, दाइजो दिन सक्दैंन, जन्तीलाई भोज खुवाउने सामथ्र्य राख्दैन, त्यस्तो परिवारको निःशुल्क बिवाह गराउँछौ।’ जातिय परम्परा अनुसारको नै बिवाह गर्ने नगरपालिकाको नीति रहको छ। 
 

 

प्रकाशित: ११ मंसिर २०७६ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App