जसले जापानमा मिनी नेपाल बनाउँदै छन्

बुधबार, ११ मङि्सर २०७६, १२ : ४२ प्रजु पन्त

नेपालीहरु किन विदेश जान्छन् ?
पढ्न । काम गर्न । व्यवसाय गर्न ।
यो जवाफको तेस्रो शब्द सुनेपछि भने हामीलाई ‘के नेपालीले आफ्नै लगानीमा त्यो पनि विकसित मुलुकमा व्यवसाय सञ्चालन गर्न सक्छन् र ? भन्ने लाग्छ । ‘सक्छन्,’ भन्ने जवाफ आएपछि हामी घोत्लिन थाल्छौँ । विदेशी भूमिमा व्यवसाय गरिरहेका एनआरएन जीवा लामिछाने, शेष घले वा उपेन्द्र महतो लगायतका केही व्यक्तिका नाम झ्वाट्ट हाम्रो मस्तिष्कमा आउँछ ।

के यति मात्रै हुन् त विदेशी भूमिमा व्यवसाय गर्ने नेपाली ?
कि अहिलेका पुस्ताले पनि विकसित मुलुकमा नेपाल चिनाउने उद्यम गरिरहेका छन् ?
गत असोजमा भएको एनआरएनको चुनावले कुमार पन्तलाई अध्यक्ष छान्यो । यसपालिको एनआरएनको चुनावमा मत परिणामको मात्र चर्चा भएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि हयात होटलमा केही एनआरएनहरुको अभद्र व्यवहारले आलोचित पनि भयो  ।

यही सम्मेलनमा भाग लिन जापानबाट आएका थिए, ललितपुरको लुभुमा हुर्किएका  पुष्करजंग थापा । उनी जापानको मध्य टोेकियोमा मिनी नेपाल बनाउने कसरतमा छन् । पढ्न विदेशिएका उनलाई आठ वर्षको विश्वविद्यालय अध्ययनपछि लाग्यो, यत्तिका वर्ष जापान बसियो, खाली हात कसरी नेपाल जाने  ? अनि फुर्‍यो आइडिया, केही न केही त गर्नैपर्छ !

जापानको टोकियोमा झण्डै एक रोपनीमा फैलिएको घर, टहरा भाडामा लिए । जापनी शैलीको घरलाई नेपाली शैलीमा सजाए अनि सुरु गरे व्यवसाय । उनले नेपाली सैलुन, नेपाली परिकार पाइने रेस्टुराँ, नेपाली पुस्तक, हस्तकलाका सामग्री मात्र होइन, नेपाली जन्मदादेखि मर्दासम्म चाहिने सामग्रीको व्यवसाय सुरुवात गरे । त्यति मात्र हैन, जापानमा गई बसेका नेपालीका सन्तानलाई लक्षित गरी नेपाल सरकारबाट  मान्यता लिएर उनले कक्षा १ देखि ९ सम्म पठनपाठन हुने एभरेस्ट इन्टरनेसनल स्कुल सञ्चालन गरिरहेका छन् । उक्त स्कुलको उनी बोर्ड अफ मेम्बर हुन् ।

पढ्न गए, व्यवसायमा रमाए
पढ्नकै लागि विदेशिने नेपालीको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । यही मेसोमा पुस्करजंग पनि मिसिए । २०५५/५६ को ब्याचमा एसएलसी पास गरेका उनले व्यवस्थापनतर्फको प्रमाणपत्र तह नेपालमै सके । यसपछि भने उनको मनमा विदेश गएर किन नपढ्ने भन्ने हुटहुटी चल्यो । त्यसका लागि तयारी गर्न जापानी भाषा सिक्न थाले । शंकरदेव क्याम्पसमा बिबिएसमा भर्ना पनि भए । जसै जापानको भिसा आयो, यताको पढाइ छाडेर उनी जापान उडे ।

सुरुवाती केही वर्ष जापानी भाषाको पारङ्गत हासिल गर्न ल्याङ्वेज इन्स्टिच्युटमा भर्ना भए । त्यसपछि भने उनी युनिभर्सिटीमा ज्वाइन भए । उनले एसियन ग्लोबल म्यानेजमेन्टमा अध्ययन पूरा गरे ।
जापान जाँदा उनलाई नेपाल नै फर्किन्छु भन्ने लागिरहन्थ्यो । जापान बसेको आठ वर्ष पुग्दा डिग्रीबाहेक उनको हातमा सुको थिएन । उनलाई लाग्यो, यत्तिका वर्ष विदेश बसेँ तर हातमा सुको छैन । बिना पैसा कसरी स्वदेश फर्किनु ? उनलाई त्यहाँको कम्पनीमा जागिर खान मन लागेन । बरु थोरै आम्दानी होस्, यहीँ केही आफ्नै बिजनेस गर्छु ।

यसपछि उनले विभिन्न रेस्टुराँमा काम सिके । आत्मविश्वास बढेपछि उनले आफ्नै रेस्टुराँ सुरु गरे । सन् २०१२ बाट यसरी उनले सुरु गरेको व्यवसाय झ्याँगिदै मिनी नेपाल बन्ने अवस्थामा पुगेको छ ।
सुरुमा उनले रेस्टुराँ नै किन रोजे त ? यसको पनि कथा छ । जापानमा उनी युनिभर्सिटी पढ्दै गर्दा कहिलेकाहीँ मज्जाले दालभात खान मन लाग्थ्यो । धित मरुञ्जेल नेपालीमा बोल्न मन लाग्थ्यो । यसका लागि नेपालीहरु गइरहने भारतीय रेस्टुरेन्ट जानुपथ्र्यो । ती रेस्टुराँमा काम गर्ने अधिकांश कामदार नेपाली नै हुन्थे ।

कतिपय अवस्थामा आफ्ना प्रोफेसरलाई खुसी बनाउन युनिभर्सिटीबाट नेपाली खाना खुवाउन पुष्करजंगले भारतीय रेस्टुराँ लैजान्थे । त्यो बेला विडम्बना नै थियो कि नेपाली खाना भारतीय रेस्टुराँ जानुपथ्र्यो । मेनुभरि भारतीय झण्डा हुन्थे । जापानी प्रोफेसरले सोध्थे, ‘तिमीले त आफ्नै देशको खाना ख्वाउँछु भन्थ्यौ तर यो त भारतीय रेस्टुरेन्ट हैन र ?’ अमिलो मन बनाउँदै पुस्करजंगले जवाफ दिन्थे, ‘साहु भारतीय हो । त्यही भएर भारतीय झण्डा राखेका हुन् । काम गर्ने सबै नेपाली हुन् ।’

नेपाल चिनाउने भोक
पढाइ सकेपछि नेपाल तत्कालै नफर्किने योजना बनाएका उनले नेपाली पाराको नेपाली रेस्टुराँ खोल्ने योजना बनाए । जागिर खाएर जम्मा पारेको केही पैसा उनीसँग थियो । व्यवसाय गर्ने योजना बनाएपछि उनले परम मित्र प्रकाश पौडेललाई फोन घुमाए । उनलाई राम्रै रकम सापट चाहिएको थियो । नेपाली शैलीको रेस्टुराँ खोल्ने योजना सुनेपछि प्रकाशले पनि तुरुन्त आवश्यक रकम जुटाइहाले । यसपछि सुरुवात भयो, ‘सोलमारी रेस्टुराँ’ ।

सन् २०१२ बाट सुरुवात भएको ‘सोलमारी रेस्टुराँ’ मात्र हैन, त्यहाँ नेपाली सैलुन, गुन्द्रुकदेखि नेपाली ब्रान्डका चाउचाउ अनि नेपाली पुस्तक, नेपाली पोशाक, नेपाली संस्कृतिमा प्रयोग हुने थुपै्रथुप्रै सामग्रीहरु राखे । गाग्री, ताउलोदेखि दियोबत्तीसम्म अनि नेपाल आउने–जाने टिकटको पनि व्यवस्था गरे ।
उनको यो व्यवसाय अहिले राम्रोसँग चलिराखेको छ । उनी लगायतका केही साथीलाई नेपाली शैली त लगभग भिœयाइयो, नेपालको कला र संस्कृति भावि पुस्ताले जानेन भने हामी त्यसै मासिन्छौँ भन्ने सोचेर एभरेस्ट इन्टरनेसनल स्कुल खोल्ने योजना बुने । नेपाल सरकारको शिक्षा मन्त्रालयसँगको समन्वयमा खुलेको यो विद्यालय नेपालकै कोर्स अफ स्टडीअनुसार पढाइ हुन्छ ।

करिब ३३ जना शिक्षकशिक्षिका र २०० जना भन्दा बढी विद्यार्थी रहेको यस विद्यालयमा नेपाली कला–संस्कृति सिकाइन्छ । ‘म त १८ वर्षसम्म नेपाल बसेँ,’ पुष्करले भने, ‘नेपाली कला संस्कृति रहनसहनबारे जानकार भएँ । यतैको शैलीको व्यवसाय गरेँ । जसै नेपाल चिनाउने व्यवसाय गरियो, आफ्ना सन्तानलाई नेपाली शिक्षाबाट किन वञ्चित गर्ने भनेर स्कुल पनि सुरुवात गरियो ।’

नेपालीको सल्लाह, जापानीको हल्ला
विश्वमै जापानीहरु धेरै बाँच्नेमा मात्र हैन धेरै अनुशासितमा पनि पर्छन् । जापानीहरु आक्रोश र भय हैन, शान्ति र मिहिनेतमा विश्वास गर्छन् । जापानीहरु कतिसम्म शान्तप्रिय र मिहिनेती हुन्छन् भन्ने प्रमाण त हिरोसिमा र नागासिकीमा बम बिस्फोट भएपछि ती शहरको पुनर्निर्माणमा उनीहरुले देखाएको सक्रियताले नै बताउँछ ।

‘जापानीहरु शान्तसँगले काम गर्ने र आफ्नो कारणले अरुलाई हल्ला नहोस् भन्नेमा सधैँ सचेत रहने गर्छन्,’ पुष्करले भने, ‘मिहिनेती त हामी पनि हुन्छौँ तर हामी उनीहरुले हल्ला गरे जसरी सल्लाह गर्छौँ ।’
पुष्करको व्यवसायमा ४० प्रतिशत नेपाली र ६० प्रतिशत जापानी ग्राहक हुन् । जापानीहरु रेस्टुराँमा आएको साथी र परिवारसहित आएको बेला शान्तसँग खान्छन्, होहल्ला नगरी कुरा गर्छन् । त्यसको ठीक विपरीत नेपाली ग्राहकको बानी हुने उनको अनुभव छ । एकअर्काको आँखा जुधे पनि किन हेरेको भनेर झगडा गर्न बेर नमान्ने पुष्करको अनुभव छ । ३७ वर्षीय पुस्करले सानोतिनो झगडा त आफैँ थुमथुमाउने प्रयास गर्छन्, ठूलै झगडा पर्दा भने एक पटक प्रहरी नै गुहारेका पनि छन् । ‘नेपालीको झगडा परेको भनेर प्रहरी बोलाउन साहै्र नराम्रो लाग्छ,’ पुस्करले भने, ‘खाने अनि कुटाकुट नै गर्ने बानी भने हटाइदिए हुन्थ्यो भन्ने लागिरहन्छ ।’

देश फेरियो, फेरिएन बानी
सन् २००७ भन्दाअघि सबैको हातहातमा अहिले जस्तो छ्यास्छ्यास्ती मोबाइल हुँदैनथ्यो । २००७ ताका नै मोबाइल सबैको हातहातमा पुग्न थाल्यो । अहिले म्यासेन्जरमा चिन्दै नचिनेकोलाई हाइहेल्लो भनेजस्तै त्यतिबेला ब्लफ कल गर्ने चलन थियो । कतैबाट नम्बर भेटाइयो भने फोन गरिहाल्ने ।
यस्तो चलन नेपालमा मात्रै हैन, जापानमा पनि रहेछ ।
पुष्करजंगलाई पनि ब्लफ कल नआउने कुरै भएन ।

एक दिन नचिनेको नम्बरबाट पुष्करजंगको मोबाइलमा फोन आयो । उनले फोन उठाए । उताबाट लेडिज आवाज सुने । ब्लफकल कर्ता महिलाले आफ्नाबारेमा नखुलाई भनिन्, ‘तपाईंको नम्बर केही समय अघि जापानमा भएको स्टेज कार्यक्रममा सहभागी भएको बेला लिएका थियौँ ।’

ब्लफ कल आएको चाल पाएपछि पुष्करजंगले यस्तो गर्न नहुने भनी सम्झाइबुझाइ गरे । फोन गर्नेलाई पुष्करको बोलीवचन खुब चित्त बुझेछ । यसपछि भेट गराइदिए कामना भण्डारीलाई । त्यसरी फोन गर्ने कोही नभएर कामनाका बहिनीहरु थिए ।

यसपछि त विदेशमा नेपाली बोली बोल्ने समूह फेला परेपछि पुष्करलाई पनि रमाइलो लाग्यो । यसपछि दिन प्रतिदिन पुष्कर र कामनाको प्रेम झ्याङ्गिदै गयो । उनीहरुको प्रेम प्रसंगबारे जापानमा रहेका पुष्कर र कामनाको परिवारभित्रै पनि चर्चा हुन थाल्यो ।

प्रेममा पो जात हेरिन्न, जसै प्रेमलाई विवाहमा परिणत गराउन खोजिन्छ अनि बाधा बन्छन् सामाजिक मूल्य मान्यताहरु । प्रेम गर्न पो हृदयसँग सोधिन्छ तर जब विवाह गर्ने बेला हुन्छ अनि परिवार र आफन्तीसँग सल्लाह हुन्छ नै ।

कामनाको घरमा एक साँझ बैठक बस्यो । मिटिङ यतिसम्म लम्बियो कि साँझ सुरु भएको मिटिङ बिहान तीन बजे मात्रै टुंगियो । कामनामाथि पुष्करलाई छाड्ने दबाब बढ्यो । ‘मन भारी बनाएँ,’ कामनाले भनिन्, ‘जसै विवाह नगर्ने भनेर घरमा सल्लाह भयो मैले बा–आमाको सल्लाह मान्ने निर्णय लिएँ र पुष्करलाई म्यासेज गरेँ ।’

गुल्मीको रुपाकोटमा हुर्किएकी कामनालाई जातीय प्रथाबारे राम्रो जानकारी थियो तर प्रेम अङ्कुराउन जातले छेकेन । कामनाको परिवार ब्राह्मण हो भने पुष्करको क्षेत्री । यही कारणले उनीहरुको विवाह हुन नसक्ने कामनाको परिवारको निष्कर्ष थियो ।

कामनाले मिटिङ भएको दिन पठाएको म्यासेजको अन्त्यमा लेखेकी थिइन्, ‘...जातको कारण हामी एक हुन सकेनौँ । आफ्नो ख्याल राख्नू, समयमा खानू, म तपाईंको खबर बहिनीहरुबाट बुझिरहन्छु ।’
जब कामनाको यस्तो मायालाग्दो म्यासेज पुष्करले पढे, उनलाई भाउन्न भएर आयो । उनलाई लाग्यो, ‘मलाई यत्तिको माया गर्ने मानिस अब संसारमा अर्को पाउँदिनँ । बरु यसका लागि जतिसुकै संघर्ष गर्नुपरे पनि परोस् !’

उनलाई लाग्यो– जाबो जातकै कारण यति धेरै माया गर्ने मान्छेलाई किन छोड्ने ?
त्यसपछिका दिनमा त उनीहरु बीचको प्रेम झन् झाङ्गियो । जसै प्रेम झाँगिदै गयो घरमा कामनाको बिहेको चर्चा चुलिन थाल्यो । कामनाले पुष्करका प्रति प्रेम प्रकट गरेपछि अन्त्यमा कामनाका बुबाले निर्णय सुनाए– छोरीको खुसी मेरो खुसी !
यसपछि त अरु के चाहियो ? सन् २००९ मा यो जोडीको विवाह भयो । अहिले उनीहरुका साथमा एक छोरा पनि छन् ।

एकअर्काको राम्रो नराम्रो बानी के हो त ?
कामनाले भनिन्, ‘राम्रो बानी चाहिँ अरुलाई एकदमै हेल्प गर्नुहुन्छ ।’ अनि नराम्रो बानी नि ? उनले पुलुक्क पुष्करको अनुहार हेर्दै हाँस्दै भनिन्, ‘काम भनेपछि मलाई पनि दिनुपर्ने समय बिर्सनुहुन्छ ।’
‘त्यसो हैन,’ पुष्करले सम्झाउने भावमा भने, ‘काम नै यस्तो छ कि समयमा घर पुगौँ भन्दा पनि ढिलो भइहाल्छ !’

पुष्करलाई पनि कामनाका राम्रा र नराम्रा बानीबारे हामीले सोध्यौँ । उनले कामनाका राम्रा बानी भन्न धेरैबेर लाएनन् । उनले भने, ‘हरेक कुरामा आइडिया दिने, एकचोटी भनेको कुरा कहिल्यै नबिर्सने ।’
अनि नराम्रो बानी नि ? पुष्करले भने, ‘त्यस्तो नराम्रो त केही छैन । घर ढिला पुग्यो भने अलि छिटो रिसाइहाल्छिन् ।’








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad