४ वैशाख २०८१ मंगलबार
राजनीति

यस्तो छ उपनिर्वाचन हुने क्षेत्रको अंकगणित

मुलुकमा अहिले उपनिर्वाचनको तातो छ। कास्की २ को संघीय संसदको चुनाव सबै भन्दा केन्द्रमा रहेको छ। नेकपाका नेता रवीन्द्र अधिकारी जो पर्यटन मन्त्रीको जिम्मेवारीमै रहेको बेला हेलिकप्टर दूर्घटनामा परेपछि खालि हुन गएको यो क्षेत्रको निर्वाचन परिणाम राष्ट्रिय राजनीतिको चश्मा बन्ने आँकलन भैरहेको छ। पोखरा लेखनाथ महानगपालिकाको ११ वटा वडामा रहेको कास्की २ अहिले चर्चामा छ। यस क्षेत्रबाट उम्मेदवार बनेका मध्ये रवीन्द्र पत्नी विद्या भट्टराई र कांग्रेसका खेमराज पौडेलबीच भिडन्त हुने देखिदैछ। कास्कीमा हुने संघीय निर्वाचन बाहेक मंसिर १५ मै भक्तपुर १ क, दाङ्ग ३ ख तथा बागलुङ २ (ख) मा प्रदेश सांसदका र विभिन्न जिल्लामा स्थानीय तहका रित्त स्थानहरूमा  निर्वाचन हुँदैछन्।

संघीय संसद, प्रदेश सांसदको चुनाव तथा त्यसअघि सम्पन्न स्थानीय तहको निर्वाचन पछि मुलुकमा नयाँ राजनीतिक समिकरण विकसित भएको हो।  संघीय र प्रदेशको चुनावका क्रममा मुलुकको राजनीतिमा प्रभावकारी भूमिकामा राख्ने एमाले तथा माओवादीले रणनीतिक एकीरण गरेका थिए। नेकपा नेतृत्वको दुई तिहाई बहुमतको सरकार र उसको प्रभावकारीताको मापक बन्ने बताइँदै छ यस चुनावलाई। संघीय र प्रदेशसभाको चुनाव अघि सम्पन्न स्थानीय तहको चुनावमा  मुलकभर त्रिपक्षीय भिडन्त भएको थियो। एमाले, नेपाली कांग्रेस र माओवादी फरक फरक मैदानबाट चुनावमा होमिएका थिए त्यसबेला। स्थानीयको परिणाम पछि भने एमाले र माओवादी एकीकरण भएर नेकपाको गठन भयो। स्थानीय चुनावको निर्वाचन परिणामबाट आशातित कांग्रेस संघीय र प्रदेश चुनावमा नराम्ररी पराजित भएर कमजोर प्रतिपक्षीय भूमिकामा खुम्चिएको छ।

यो रिपोर्टमा कास्की २, भत्तपुर १ क, दाङ्ग ३ ख तथा बाग्लुङ २ ख का स्थानीय तहका निर्वाचन परिणाम, प्रदेश संसद निर्वाचन परिणाम तथा संघीय सांसद निर्वाचन परिणामको तुलना गर्दे तथ्याङ्गमा आधारित भएर विश्लेषण गरिएको छ। खास गरेर निर्वाचन परिणामका तथ्य तथा अहिले निर्वाचनका क्रममा देखिएका केही राजनीतिक गतिविधिका आधार यो आलेख तयार गरिएको छ।

संघीय संसद, प्रदेश सांसदको चुनाव तथा त्यसअघि सम्पन्न स्थानीय तहको निर्वाचन पछि मुलुकमा नयाँ राजनीतिक समिकरण विकसित भएको हो।  संघीय र प्रदेशको चुनावका क्रममा मुलुकको राजनीतिमा प्रभावकारी भूमिकामा राख्ने एमाले तथा माओवादीले रणनीतिक एकीरण गरेका थिए। नेकपा नेतृत्वको दुई तिहाई बहुमतको सरकार र उसको प्रभावकारीताको मापक बन्ने बताइँदै छ यस चुनावलाई।

कास्की २

संघीय सांसदको चुनाव हुन लागेको कास्की २ मा पोखरा लेखनाथ महानगर पालिकाका ११ वटा वडा पर्दछन्। कास्की २ बाट संघीय संसदमा नेकपाका उम्मेदवार रवीन्द्र अधिकारी निर्वाचित भएका हुन्, कांग्रेसका उम्मेदवार देवराज चालिसे भन्दा करिव ८ हजार ५ सय बढी भोट ल्याएर। संघीय चुनावका बेला अहिले जस्तो नेकपा बनिसकेको थिएन। राजनीतिक समिकरण थियो र दुबै दलका साझा उम्मेवार बनेका थिए। नेकपाका उम्मेदवार रबीन्द्रले २७ हजार २ सय ७ मत पाएर निर्वाचित हुँदा काग्रेसका चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए। कास्की २ को चुनावमा विवेकशिल साझा पार्टीले तेश्रो स्थान तर करिव ८ सयमात्र मत पाएको थियो भने अन्य पार्टीहरूको हैसियत ४, ५ सयको आंकडामा सिमित थियो।

कास्की २ को प्रदेशसभा निर्वाचन भने नेकपा र काग्रेसका बाँडियो। कास्की २ क बाट नेकपा (एमाले)का कृष्णबहादुर थापा करिव १५ हजार मत ल्याएर निर्वाचित भए भने सोही क्षेत्रबाट कांग्रेसका गुरु प्रसाद बराललले करिव ८ हजार मत पाए। प्रदेश चुनावमा नेकपा र कांग्रेस बाहेका नयाँ शक्ति , राप्रपा विवेकशिलले पाएको मत ५ सयको हाराहारीमा रहेको छ। उता कास्की २ खमा भने निर्वाचन परिणाम कांग्रेसको पक्षमा गयो। काग्रेसका बिन्दुकुमार थापाले करिव १० हजार मत पाएर विजयी भए। नेकपा(माओवादी) उम्मेदवार राजकाजी गुरुङले ९ हजार ९ सय मत पाएर दोश्रो स्थानमा खुम्चिए। प्रदेश २ खमा कांग्रेसका बागि नरेश शंकर पालिखे करिव १ हजार ३ सय मत ल्याएर तेश्रो स्थानमा रहेका थिए भने राप्रपा लगायतका अन्य दलको हैसियत ४ सय हाराहारीको देखिन्छ।

 कास्की २ प्रदेशसभा निर्वाचनमा नेकपाका उम्मेदवारहरूले पाएको मत करिव २५ हजारमात्र छ। जबकी नेकपाका उम्मेदवार रवीन्द्रले २७ हजार बढी मत पाएका थिए। यसबाट रवीन्द्रको व्यत्तित्वकै कारण २ हजार बढी मत थपिएको थियो। उता कास्की २ प्रदेशसभा चुनावमा कांग्रेसका उम्मेदवारहरुले पाएको मत करिव १९ हजार छ जुन संघीय उम्मेदवार देवराज चालिसेले पाएको मत भन्दा बढी हो।

पोखरा लेखनाथ महानगरपालिका सहरी र घना बस्तिमा पर्ने क्षेत्र नं २ कास्कीमा तीनवटा क्षेत्र मध्ये सबै भन्दा कम मतदाता भएको क्षेत्र हो। क्षेत्र नं १ मा नेकपा र कांग्रेसले पाएको मतमात्र करिव ६५ हजार छ,  क्षेत्र नं २ मा करिव ४५ हजारमात्र र क्षेत्र नं ३ मा ५७ हजार देखिन्छ। पोखराको अघिकांश शहरी क्षेत्र राखेर रचना गरिएको क्षेत्र नं २ एमालेका दिवंगत नेता रवीन्द्रका लागि  सुरक्षित किल्लाका रुपमा विकसित गरिएको मानिन्थ्यो। स्थानीय तहको पुर्नसंरचनाकै क्रममा रवीन्द्रले आफ्ना लागि सुरक्षित क्षेत्र तयार गरेको देखिन्छ।

कास्की २ को स्थानीय तहको निर्वाचन परिणाम भने फरक छ। कारण स्थानीय तहको निर्वाचनको समयमा एमाले माओवादी एकीकरण भएको थिएन, त्रिपक्षीय भिडन्त थियो। कांग्रेस, एमाले र माओवादीबीच मत बांडिएको देखिन्छ। कास्की २ निर्वाचन क्षेत्रमा महानगरका ४, ७,८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडा पर्दछन्। स्थानीय निर्वाचनमा महानगरका ११ वडा मध्ये ८ वटा वडामा एमालेका उम्मेदवार निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदजार ३ वटा वडामा विजयी भएका हुन्।  ११ वटै वडामा एमालेका उम्मेदवारले पाएको मत करिव २० हजार हुन्छ भने काग्रेसका उम्मेदवारको करिव १६ हजार र माओवादीले सबै वडाबाट पाएको मत करिव ३ हजार रहेको छ।

राजनीतिलाई गणित भन्ने गरिन्छ। तर, राजनीति अंक गणित जस्तो हुँदैन। ज्यामिति जस्ता सूत्र र समिकरण हुने भएकोले अहिले कास्की २ को जनमत त्यही आधारमा यताउता हुनसक्ने आंकलन भैरहेको छ। रवीन्द्रको विरासत धान्न मैदानमा विद्या उतारिएको छ भने उता सबै जस्तो चुनावमा अन्तर्घात शिकार हुने गरेको कांग्रेस यस पटक एक भएर खेमराजको पक्षमा देखिन्छ। कास्की २ कांग्रेसले केन्द्रमा १६ जना आकाक्षीको लिस्ट पठाएको थियो। जसमा खेमराजको नामै थिए। केन्द्रले कास्की कांग्रेसका पुराना नेता खेमराजलाई उठाएर पठाए पछि आपसमा प्रतिस्पर्धी देखिने युवा आकाक्षी पाका खेमराजको पक्षमा एक हुन पुगेको विश्लेषण भैरहेको छ। चुनावमा कसले जित्ने हो ? एकिन गर्न सकिने अवस्था छैन। कास्की २ को बनोट र विगतका निर्वाचनका आधारमा नेकपाका लागि सुनिश्चित क्षेत्र मानिनुपर्ने हो। तर, तीन तीन पटक कास्कीबाट निर्वाचित रवीन्द्रले जिल्लाका लागि के के गरे ? लेखाजोखा पनि हुँदैछ। पोखरा विमानस्थल ५० वर्ष अघिदेखि पंचायतकालिन योजना भएकोले यसको श्रेय अहिलेका नेताले लिन मिल्दैन भन्ने आवाज मुखरित भएको छ। यस बाहेक सडक पूर्वाधारका हिसावले पाखा पर्देछ भन्ने चिन्ता देखिन्छ पोखरा र त्यसका पछाडि रविन्द्र माथी औला उठाइँदै छ।  पोखरालाई बाइपास भएर मध्यपहाडी राजमार्ग बनिरहेको  र कालीगण्डकी कोरिडोरले पनि कास्कीलाई नछुने चिन्ता लेकसाइडमा व्याप्त देखिन्छ। राष्ट्रिय राजनीति र मिडियामा राम्रो पकड राख्न सफल रवीन्द्रले  पोखरालाई के गरे त ? प्रश्नहरू अनुत्तरिछन्।

भक्तपुर

भक्तपुर २ क मा हुन गैरहेको प्रदेशसभा सांसदको निर्वाचनमा नेकपा उम्मेदवार डिपी ढकाल, कांग्रेसका कृष्णलाल भँडेल र नेपाल मजदुर पाटीं (नेमकिपा) का निरज लवजुबीच प्रतिस्पर्धा हुने देखिन्छ। प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधन भएपछि हुन लागेको यो चुनाव एकीकरण भए पनि एमाले र माओवादी कति बलियोसँग जोडिएका छन् भन्ने उदाहरण हुने भनिदैछ। उता स्थानीय राजनीतिमा प्रभावशाली उपस्थिति राख्दै आएको नेमकिपा र राप्रपा पनि चुनावी मैदानमा उत्तिकै अर्थ राख्दछन्। राप्रपा र कांग्रेसबीच चुनावी तालमेलको घोषणा भएको छ।

भक्तपुरका दुई निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ बाट नेमकिपाका प्रेम सुवालले करिव ३३ हजार मत ल्याएर निर्वाचित हुँदा दोश्रो स्थानमा कांग्रेसका बाबुराजा जोशीले करिव १७ हजार ८ सय मत पाएर दोश्रो तथा करिव १५ हजार ३ सय मत पाएर नेकपा (माओवादी) तेश्रो स्थानमा रहेका थिए। चौथो स्थान ल्याउने विवेकशील साझा पार्टीका उम्मेदवारले करिव २ हजार ३ सय मत पाएका हुन्।

प्रदेशसभा चुनावमा भने भक्तपुर १ क मा नेकपा(एमाले) का उम्मेदवार हरिशरण लामिछाने करिव १२ हजार ७ सय मत पाएर विजयी भएका हुन्। कांग्रेसका उम्मेदवार जीवन खत्रीले करिव ९ हजार ९ सय मत पाएर दोश्रो तथा तेश्रो स्थानमा नेमकिपाका निरज लवजुले करिव ७ हजार मत पाएका हुन्। अहिलेका नेकपाका उम्मेदवार डिपी ढकाल त्यसबेला बिद्रोही उम्मेदवारको रुपमा मैदानमा थिए। उनले ७ सय ८४ मतमात्र पाएका थिए। नेकपाले अहिले तिनै बिद्राही डिपीलाई आधिकारिक उम्मेदवार बनाएको छ। नेमकिपाले पुरानै उम्मेदवार उठाएको छ भने भक्तपुर कांग्रेसको राजनीतिमा राम्रो पडक राख्दै आएका कृष्णलाललाई कांग्रेसले उम्मेदवार बनाएको छ। भक्तपुर १ क मा चाँगुनारायण नगरपालिकाका सबै वडा तथा भक्तपुर नगरपालिकाको वडा नं १० पर्दछन्।

स्थानीय चुनावको समयमा एमाले, कांग्रेस, नेमकिपाबीच प्रतिस्पर्धा रहेको थियो भने राप्रपा र माओवादी प्रभाव पार्नसक्ने शक्तिको रुपमा रहेको मत परिणामले देखाउँछ। चाँगुनारायण नगरपालिकाको निर्वाचनमा एमालेका सोमप्रसाद मिश्र करिव ८ हजार ५ सय मत पाएर विजयी भएका हुन्। मेयर पदमा कांग्रेसका राजाराम खड्काले करिव ६ हजार ८ सय मत पाएका थिए। मेयर पदमै राप्रपाका रबिन्द्रप्रताप शाह करिव ५ हजार २ सय मत पाएर तेश्रो स्थान र नेमकिपाका न्हुच्छे भत्त फोजु करिव ४ हजार ४ सय मत पाएर चौथो स्थान तथा माओवादीका शिवप्रसाद अधिकारीले करिव ७ सय मत पाएर पाँचौ स्थानमा रहेका थिए। चाँगु नारायणका ४ वटा वडामा एमाले, ४ वटा वडामा कांग्रेस र १ वटा वडामा नेककिपाका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका हुन्। चाँगुका सबै वडामा एमालेका उम्मेदवारले करिव ८ हजार ४ सय मत पाएका थिए। कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरूले पाएको मत करिव ८ हजार ५ सय, राप्रपाका उम्मेदवार वडा अध्यक्षमा कोही निर्वाचित नभएको भए पनि सबै वडा अध्यक्षका उम्मेदवारले पाएको मत करिव ४ हजार मत देखिन्छ। त्यस्तै एउटा वडामामात्र निर्वाचन हुन सकेको नेमकिपाका उम्मेदवारले सबै वडामा प्राप्त गरेको मत करिव ३ हजार ९ सय छ। उता माओवादीका उम्मेदवार कुनै पनि वडामा विजयी हुन सकेनन्। माओवादीका उम्मेदवारहरूले पाएको मत करिव १ हजार ३ सयमात्र हुन आउँछ।

भक्तपुर १ क मा पर्ने भक्तपुरको वडानं १० मा भने नेमकिपा २ हजार २ सय बढी भोट ल्याएर अग्रस्थामा छ। यस वडामा कांग्रेस करिव ५ सय मतको हाराहारी र एमाले ३ सय मतको हाराहारीमा देखिन्छ।

भक्तपुर १ क मा पर्ने स्थानीय तहका प्रमुखमा एमाले उम्मेदवारले पाएको मत ८ हजार आठसय, नेपाली कांग्रेसका उम्मेदवारले करिव ७ हजार ३ सय, राप्रपा उम्मेदवारले करिव ५ हजार दुई सय, नेमकिपा उम्मेदवारले करिव ६ हजार ६ सय र माओवादी उम्मेदवारले पाएको मत ८ सय ३४ देखिन्छ।

अघिल्लो प्रदेशसभा निर्वाचनमा व्रिदोही बनेका माओवादीका डिपिलाई आधिकारिक उम्मेदवार बनाएको कुरा सुरुमा एमालेका कार्यकर्ताले रुचाएका थिएनन्। प्रारम्भममा पार्टीको चाँगुनारायण नगर कमिटीको कार्यालयमा तालाबन्दी गर्नेसम्मको प्रतिक्रिया थियो। पार्टी हाइकमानको निर्देशनमा बाहिर सतहमा देखिने बिद्रोह सामसुम पारिएको छ। तर, एमालेको बलियो उपस्थिति रहेको स्थानमा माओवादी तर्फबाट उम्मेदवार हुनुले ठूलो अर्थ रहेको छ। प्रदेशसभा निर्वाचनमा स्थानीय राजनीतिमा प्रभावकारी भूमिका खेल्ने राप्रपा र नेकपा आफै एक्लै विजयी हुन नसकेपनि परिणामलाई प्रभाव पार्न सक्ने भएकोले भक्तपुर १ क नेकपा र कांग्रेसबीचनै तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। नेकपा, कांग्रेसको प्रतिस्पर्धाबीच नेमकिपा उम्किन सक्ने त होइन ? राजनीतिक वृतमा चर्चाको विषय बनेको छ।

दाङ

दाङ निर्वाचन क्षेत्र ३ खमा हुन गैरहेको निर्वाचनमा नेकपा र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ।  ३ खमा नेकपा(एमाले)बाट निर्वाचित उत्तर कुमार ओलीको निधन पछि खालि भएको क्षेत्र हो। ३ ख मा नेकपाबाट ओलीको विधवा विमला ओली छन् भने कांग्रेसका पुराना नेता केशव आचार्य मैदानमा उत्रिएका छन्। कांग्रेसका खुमबहादुर खड्का र दिपक गिरीको प्रभाव क्षेत्र मानिदै आएको दाङ्ग ३ को संघीय निर्वाचनमा एमालेका हिराचन्द्र केसि करिव ४० हजार मत पाएर विजयी भएका हुन्। दोश्रो स्थानमा कांग्रेसका दीपक गिरीले करिव ३३ हजार ७ सय मत प्राप्त गरेका थिए भने तेश्रो स्थानमा मालेले १ हजार ४ सय मत पाएको देखिन्छ।

प्रदेशसभा चुनावमा भने ३ क बाट कांग्रेसका डिल्ली बहादुर चौधरी करिव १७ हजार मत ल्याएर विजयी भए भने दोश्रो स्थानमा नेकपा(माओवादी)का जगप्रसाद शर्माले करिव १४ हजार मत पाएका थिए। ३ क मा राप्रपा लगायतका दलको हैसियत हजार भन्दा कम देखिन्छ।

दाङ ३ खमा नेकपा(एमाले) उत्तर कुमार ओली करिव २३ हजार ९ सय मत पाएर विजयी भएका हुन्। कांग्रेसका बुद्धिराम भण्डारीले करिव १७ हजार ५ सय मत पाएका हुन्। नेकपा र कांग्रेस बाहेक माले, राप्रपाको उपस्थिति हजार मत भन्दा कमको देखिन्छ।

दाङ ३ खमा तुल्सिपुर नगरपालिकाका १, २ , १०, ११ वडा पर्दछन् भने डंगिशरण, शान्तिनगर, बबई गाउँ पालिका पर्दछन्। तुल्सिपुर नगरपालिकाको १ नम्बर वडामा एमालेका उम्मेदवार विजयी भएका थिए भने वडा नं २, १० र ११ मा काग्रेसका उम्मेदवार विजयी भएका हुन्। तुल्सिपुर नगरमा एमालेका वडा अध्यक्ष उम्मेदवारले करिव ४ हजार मत पाएका थिए भने कांग्रेसका उम्मेदवारले पाएको मत करिव ४ हजार २ सय र माओवादी वडा उम्मेदवारले पाएको मत करिव १ हजार ६ सय थियो।

डंगिशरण गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो। ७ वटा वडा रहेको डंगिशरणका वडाहरू मध्ये एउटामा एमाले, तीनवटा वडामा कांग्रेस र तीनवटा वडामा माओवादी उम्मेदवार विजयी भएका हुन्। डंगिशरणका ७ वटै वडाबाट एमालेका उम्मेदवारले करिव २ हजार ६ सय मत पाएका थिए। कांग्रेसका वडा अध्यक्ष उम्मेदवारले पाएको मत करिव २ हजार ८ सय, माओवादीका उम्मेदवारहरूले करिव २ हजार ५ सय मत पाएका थिए।

शान्तिनगर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत ४ वटा वडामा कांग्रेसका उम्मेदवार, ३ वटा वडामा माओवादी तथा एउटा वडामा एमाले विजयी भएका हुन्। शान्तिनगरका सबै वडाबाट एमालेले पाएको मत करिव ३ हजार हुन्छ भने कांग्रेसका उम्मेदवारले पाएको मत करिव ४ हजार र माओवादी उम्मेदवारले पाएको मत करिव ३ हजार ३ सय छ।

त्यस्तै बबई गाउँपालिका चुनावमा अध्यक्ष उपाध्यक्ष लगायत ५ वटा वडामा एमाले, १ वटा वडामा कांग्रेस तथा एउटा वडामा स्वतन्त्र निर्वाचित भएका हुन्। बवाईका सबै वडाबाट एमालेले पाएको मत करिव ४ हजार ३ सय, कांग्रेसका उम्मेदवारले पाएको मत करिव ३ हजार ८ सय र माओवादीले पाएको मत करिव २ हजार २ सय छ।

दाङ ३ खमा पर्ने तुल्सिपुर १, २, ९ र १० का वडा अध्यक्षहरू तथा डंगिशरण, शान्तिनगर, बबई गाउँ पालिकाका अध्यक्षका उम्मेदवार मध्ये एमालेका उम्मेदवारले करिव १४ हजार ४ सय, कांग्रेसका उम्मेदवारले करिव १४ हजार ८ सय र माओवादी उम्मेदवारहरूले करिव ७ हजार मत पाएको देखिन्छ। ५ नम्बर प्रदेश प्रमुख शंकर पोखरेलको प्रभाव क्षेत्र मानिने दाङ ३ ख का प्रतिस्पर्धी उम्मेदवार विमला ओली उत्तम कुमार ओलीको विरासतको रुपमा राजनीतिमा प्रवेशी गरेकी हुन् भने दाङको कांग्रेस राजनीतिमा पुरानो नेता भनेर चिनिएका केशव प्रतिस्पर्धामा छन्।

त्यसो त २ क अन्तर्गत पर्ने घोराही १६ वडामा पनि निर्वाचन हुँदैछ। प्रदेश प्रमुख सांसद शंकर पोखरेलको क्षेत्रमा पर्ने १६ नम्बरमा स्थानीय चुनावमा एमालेका लक्षीन बुढा निर्वाचित भएका थिए। बुढाको निधन पछि हुन लागेको निर्वाचनमा नेकपाले सुरेश केसीलाई आधिकारिक उम्मेदवार बनाएको छ भने पूर्व एमालेका जगललाल चौधरी बागि बनेका छन्। वडा १६ मा कांग्रेसले ताराबहादुर डाँगीलाई उम्मेदवार बनाएको छ। शंकर पोखरेलले आफू  ३ ख को चुनावमा केन्द्रीत भएको बताउँदै आएका छन् र घोराही १६ को सन्दर्भमा फेसबुकमा आधिकारीक उम्मेदवारलाई जिताउन आग्रह गरेको स्टाट्समात्र राखेका छन्। शंकरको गृहनगरमा भैरहेको यस चुनावमा शंकरले भित्रभित्रै जगलाल सघाएको अनुमान गरिदैछ। जसको प्रत्यक्ष प्रभाव ३ खमा भैरहेको प्रदेशसभा चुनावमा परिरहेको स्थानीय चर्चाको विषय हो।

बागलुङ

बागलुङ २ खका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सांसद टेकबहादुर घर्तीको निधन पछि चुनाव हुन लागेको हो। वाग्लुङ २ बाट संघीय सांसदमा नेकपा (माओवादी)का देबेन्द्र पौडेलले करिव २८ हजार ८ सय मत पाएर विजयी भएका हुन्। कांग्रेसका उम्मेदवार नरबहादुर पुनले करिव १९ हजार ९ सय मत प्राप्त गरेका थिए। एमाले, काग्रेस, माओवादी र जनमोर्चाको राजनीतिक मैदान मानिने वाग्लुङको प्रदेशसभा निर्वाचनमा २ ख बाट जनमोर्चाका टेकबहादुर घर्ती नेकपाको उम्मेदवार बनेका थिए। घर्तीले करिव ११ हजार ८ सय मत पाएर विजयी भएका थिए। कांग्रेसका उम्मेदवार जीतबहादुर शेरचनले करिव ८ हजार ६ सय मत पाएर दोश्रो स्थान लिएका हुन्।

अहिले यस क्षेत्रमा जनमोर्चाका स्थानीय नेता खेमबहादुर शाही नेकपाको उम्मेदवार बनेका छन् भने कांग्रेसले जीत बहादुर शेरचनलाई फेरी मैदानमा उतारेको छ।

वाग्लुङ २ खमा ढोरपाटन नगरपालिकाका सबै वडा निसि खोला तथा तमनखोला गाउँपालिका पर्दछन्। स्थानीय चुनावमा ढोरपाटन नगरको मेयरमा देवकुमार नेपाली विजयी बनेका थिए। माओवादी कार्यकर्ता नेपाली पार्टीले टिकट नदिएको झोकमा उम्मेदवारी दर्ता हुने दिन एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन। उनैले मेयर पद पनि हात पारेका हुन्। २ खको चुनावमा नेपालीको प्रभावकारी भूमिका देखिन्छ। एमालेका पुराना नेता कार्यकर्ताको असन्तोषबीच जनमोर्चाका खेमबहादुरको उम्मेदवारी चुनौतीपुर्ण देखिन्छ नेकपाका लागि। आन्तरिक असन्तोष व्यवस्थापन गरिसकेको भए पनि एमाले, माओवादी तथा जनमोर्चाका समर्थकबीच समन्वय सहज देखिन्न। पूर्व माओवादी शेरमान घर्तीको बागि उम्मेदवारीको व्यवस्थापन भएर घर्ती आफै खेमविक्रमको पक्षमा खुलेर प्रचारमा लाग्नुलाई सकारात्मक कदम भनेको छ नेकपाले।

स्थानीय तहको निर्वाचनमा ढोरपाटन नगरपालिकामा एमाले, माओवादी र जनमोर्चाबीच प्रतिस्पर्धा थियो। मेयर उपमेयर सहित तीनवटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए। जनमोर्चाकका उम्मेदवार तीनवटा वडामा, माओवादी उम्मेदवार ३ वटा वडा तथा कांग्रेस एउटा वडामामात्र विजयी भएको थियो। ढोरपाटनको चुनावमा एमाले करिव २ हजार ७ सय मत पाएर विजयी बनेको थियो भने कांग्रेसका उम्मेदवारले करिव १ हजार ९ सय, माओवादीका उम्मेदवारले करिव १ हजार १ सय तथा जनमोर्चाका उम्मेदवारले करिव १ हजार ६ सय मत पाएका थिए।

त्यस्तै २ खमा पर्ने निसि खोला कांग्रेस, माओवादी र जनमोर्चाको प्रतिस्पर्धा रहेको गाउँपालिका हो। अध्यक्ष उपाध्यक्ष सहित ४ वटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। एउटा वडामा माओवादी र एउटा वडामा जनमोर्चा तथा एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन्।

तमन खोला गाँउ पालिकामा पनि नेपाली कांग्रेस अग्रस्थान तथा माओवादी, एमाले र जनमोर्चाको उपस्थिति देखिन्छ। स्थानीय चुनावमा तमन खोला गाँउपालिकाको मेयर उपमेयर लगायत तीनवटा वडामा कांग्रेस, दुईटा वडामा माओवादी र एउटा वडामा एमाले उम्मेदवार विजयी भएका हुन्।

वाग्लुङ २ खका ढोरपाटन नगरपालिका, निसि खोला तथा तमन खोला गाउँपालिकाका स्थानीय चुनावमा एमालेले मेयर तथा अध्यक्षका उम्मेदवारले पाएको मत करिव ३ हजार हुन्छ। कांग्रेसका उम्मेदवारले पाएको मत करिव ६ हजार ९ सय, माओवादीले पाएको मत करिव ४ हजार ४ सय तथा जनमोर्चाका उम्मेदवारले पाएको मत करिव ३ हजार ४ सय थियो। एमाले, माओवादी तथा जनमोर्चाका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा करिव १० हजार ८ सय मत पाएका हुन्।  करिव १ हजार अर्थात करिव ११ हजार ८ मत पाएर जनमोर्चाका उम्मेदवार टेक बहादुर घर्ती निर्वाचित भएका थिए।  उता कांग्रेसका उम्मेदवार  जीतबहादुर शेरचनले पाएको करिव ८ हजार ६ सय मत त्यसै क्षेत्रका कांग्रेसका मेयर, अध्यक्षले पाएको मत भन्दा करिव १ हजार ७ सय मत बढी हो।

स्थानीय तहको चुनावमा त्रिपक्षी भिडन्त भएको पृष्ठभूमिमा सघीय र प्रदेशसभाका भने नेकपा र काग्रेसबीच प्रतिस्पर्धा भएको थियो। केन्द्र तथा प्रदेशसभाका अधिकांश स्थानमा नेकपाको वर्चस्व रहेको अहिलेको अवस्थामा भैरहेका चुनावी नतिजामा दुई वर्ष अघिकै राजनीतिक गणित दोहोरिने हो वा सरकारका कामकारवाहीको आधारमा मतदाताको मन बरालिने हो ? आसन्न उप चुनावबाट रित्त रहेका स्थानीय तह, प्रदेश सभा र सघीय संसदमा जनताका प्रतिनिधि छानिने छन्। तर, यो भन्दा महत्वपूर्ण कुरा सरकारको कार्यशैलीको तथा एमाले र माओवादी एकीकरणको मात्रा मापन गर्ने कडी बनेको छ उपनिर्वाचन।

 

 

प्रकाशित: ११ मंसिर २०७६ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App