४ वैशाख २०८१ मंगलबार
राजनीति

समन्वय अभावले स्थानीय सरकार अन्योलमा

गणेश विशु/गोविन्द केसी

वीरेन्द्रनगर/दैलेख – पञ्चपुरीमा रहेका भेरी–कर्णाली दोभान, साततले गुफा, गुप्ती र दह ताल सुर्खेतका पर्यटकीय क्षेत्र हुन्। नेपाल भ्रमण वर्ष सुरु हुन एक महिनामात्रै बाँकी छ तर यहाँ त्यसको तयारीका लागि स्थानीय सरकार सक्रिय भएको देखिँदैन।

संघ, प्रदेश र स्थानीय सरकारबीच नेपाल भ्रमण वर्षको तयारीका विषयमा समन्वय अभाव देखिएको छ। समन्वय अभावमा भ्रमण वर्ष कसरी मनाउने भन्ने विषय अन्योलमा परेको छ। स्थानीय सरकारसँग समन्वय नभए स्थानीय तहमा भ्रमण वर्ष फितलो हुने स्थानीय सरकार प्रमुख बताउँछन्। कर्णाली प्रदेश पर्यटकीय आकर्षणको केन्द्र भए पनि प्रचारप्रसार र यहाँसम्म पुग्न सडक सञ्जाल नहुँदा पर्यटकीय सम्पदा ओझेलमा छन्। कर्णालीका करिब ८० प्रतिशत पर्यटकीय क्षेत्र दैलेखको दुल्लु नगरपालिकामा रहेको त्यहाँका मेयर घनश्याम भण्डारीले बताए। यी पर्यटकीय क्षेत्रमा पर्यटक ल्याउन योजना नभएको भन्दै उनले भ्रमण वर्षका लागि प्रदेश र केन्द्र सरकारले नगरपालिकासँग समन्वय नगरेको गुनासो गरे। यहाँ नेपाली भाषाको पहिलो शिलालेख, खस राज्यको संग्रहालय, कृति खब्बा, बाइसे राज्यको जीर्ण दरबारलगायतका पर्यटकीय क्षेत्र छन्। ‘महŒवपूर्ण कार्यक्रम हुँदै गर्दा स्थानीय सरकारसँग समन्वय हुनुपर्ने हो,’ उनले भने, ‘तर समन्वय हुन सकेन।’ स्थानीय सरकारले यो अभियानलाई साथ नदिँदासम्म प्रभावकारी हुने देखिँदैन।

कर्णाली प्रदेश पर्यटकीय आकर्षणको केन्द्र भए पनि प्रचारप्रसार र यहाँसम्म पुग्न सडक सञ्जाल नहुँदा पर्यटकीय सम्पदा ओझेलमा छन्।

‘कसरी कार्यक्रम सञ्चालन गर्ने भनेर प्रदेश र संघ सरकारले समन्वय गरेका छैनन्,’ पञ्चपुरी नगरपालिकाकी उपमेयर मुक्तिदेवी रेग्मी (पुरी) ले भनिन्, ‘त्यसैले भ्रमण वर्ष कसरी मनाउने, अन्योलमा छौं।’

सल्यानको छत्रेश्वरी गाउँपालिकामा भने गाउँपालिकास्तरीय पर्यटन प्रवद्र्धन प्रचारप्रसार समिति गठन भएको छ। त्यहाँ केन्द्र र प्रदेशले समन्वय नगरे पनि स्वतःफुर्तरूपमा काम गर्न थालिएको छ। सल्यानका तीन पर्यटकीय क्षेत्रमध्ये छत्रेश्वरी मन्दिर यस गाउँपालिकामा पर्छ।

पर्यटन वर्ष मनाउन जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गर्न पत्र पठाएको प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले बताए। स्थानीय तहसम्म नगएर जिल्लास्तरसम्म पुगेको उनको भनाइ छ। ‘यसबाट आउने लाभ केन्द्र वा प्रदेश सरकारले लिँदैन,’ उनले भने, ‘यहाँ पर्यटक भित्रिए भने यहाँ आम्दानी बढ्छ र यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन्छ।’ स्थानीय तह पनि आफ्नै भनेर यस कार्यक्रममा लाग्नुपर्ने उनले बताए।

स्थानीय तहमा पनि समिति गठन गर्ने निर्णय भएको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए। स्थानीय तहको भूभाग नै प्रदेशको भएकाले प्रदेश र स्थानीय तहबीच समन्वयको खाँचो रहेको मन्त्री बुढाको भनाइ छ। नगरपालिकामा मेयर र गाउँपालिकामा अध्यक्ष संयोजक रहनेगरी समिति गठन हुने उनले जानकारी दिए।

डोल्पाको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, जुम्लाको सिंजा उपत्यका, मुगुको राता ताल, दैलेखको पञ्चकोसी धार्मिक पर्यटन विकास (पञ्चकोसी ज्वाला क्षेत्र) र सुर्खेतको काँक्रेविहार, देउतीबज्यै र मदन आश्रित पार्क प्रमुख पर्यटकीय क्षेत्र हुन्। सल्यानको कुपिन्डे दह, जुम्लाको डुडुल चैत्य, हुम्लाको लिमी उपत्यका, कालीकोटको पचाल झरना, जाजरकोटको खलंगा दरबार क्षेत्र, दैलेखको कोतगढी–पञ्चदेवल–बेलासपुर–महाबु पर्यटकीय विकास क्षेत्र, सुर्खेतको जाजुरा दह, गुप्ती ताल, भादले गुफा, शिव गुफा, गिद्देडाँडा र रुकुम पश्चिम गोतामकोट चित्री पाटन, स्यार्पु ताल, मौराखारा लेक पर्यटकीय क्षेत्र हुन्। एक सय नयाँ पर्यटकीय गन्तव्यमा कर्णालीका २१ वटा पर्यटकीय क्षेत्र समावेश छन्।

प्रकाशित: ११ मंसिर २०७६ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App