coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ग्रामीण विद्युतीकरणमा सहकार्य गरिने

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कतार फन्ड फर डेभलपमेन्टको प्रतिनिधिमण्डलबीच नेपालको ऊर्जा, सौर्य ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानीको सम्भावना खोज्ने विषयमा भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मंगलबार भएको द्विपक्षीय भेटवार्तामा दुवै मुलुकबीच सहकार्य गरेर ऊर्जा क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको थियो ।

कतारी विदेशमन्त्रीका अन्तर्राष्ट्रिय विकास मामिला हेर्ने सल्लाहकार समिर आर फ्रेङ्गीले नेपालको विकासमा सहयोग गर्न कतार इच्छुक रहेको बताए । उनले कतारले नेपालको ऊर्जा, पयर्टन र कृषि क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको भन्दै लगानीका क्षेत्रबारे चासो राखेका थिए । ऊर्जा क्षेत्रमा समेत आफूहरु लगानी गर्न इच्छुक रहेको उनको भनाइ थियो । ऊर्जामन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध मजबूत हुने विश्वास व्यक्त गरे ।

उनले  सरकारले ऊर्जा क्षेत्रमा उदार नीति लिएको र वैदेशिक लगानीको क्षेत्रमा समेत शतप्रतिशत प्रत्यक्ष लगानी गर्नसक्ने प्रावधान रहेको भन्दै लगानीका लागि अनुरोध गरे । ‘सरकारले जलविद्युत्मा उदार नीति अवलम्बन गरेको छ, पहिलो १० वर्षमा ८० प्रतिशत आयकर छुट र दोस्रो वर्ष ५० प्रतिशत छुट दिने नीति हामीले लिएका छौं, नेपालमा स्थायी सरकार भएकाले लगानीका लागी समेत उपयुक्त वातावरण छ,’ मन्त्री पुनले भने । सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त योजनालाई सफल पार्न कतारको समेत सहयोग आवश्यक रहेको धारणा राखे ।

हाल ८० प्रतिशत जनतामा विद्युत्को पहुँच पु¥याइसकेको भन्दै ऊर्जामन्त्री पुनले सरकारले तीन वर्षभित्र देशभर विद्युतीकरण गर्ने योजना अघि सारेको भन्दै कतार सरकारसँग ग्रामीण विद्युतीकरणका क्षेत्रमा समेत सहकार्य गर्न सकिने प्रस्ताव राखे । नेपालमा उत्पादित बिजुली सरकारले खरिदको ग्यारेन्टी गर्ने व्यवस्था गरेको भन्दै मन्त्री पुनले देशबाहिर समेत भारत र बंगलादेश पनि क्षेत्रीय बजारका रुपमा रहेको जानकारी दिए ।
 

प्रकाशित: ११ मंसिर २०७६ ०२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App