coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

घरेलु महासंघ र सिटिइभिटीबीच सम्झौता

काठमाडौं – लघु, घरेलु तथा साना उद्योगमा आवश्यक सीपमूलक तालिम सञ्चालनका लागि आवश्यक पाठ्यक्रम तथा सीप प्रमाणिका निर्माण गर्ने सम्बन्धी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ।

सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण, उत्पादन तथा रोजगारी सम्बन्धमा गरिएको सहमतिका लागि महासंघका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र सिटिइभिटीका तर्फबाट सदस्यसचिव पुष्परमण वाग्लेले सोमबार राजधानीमा आयोजित एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरे।

संघ/प्रदेश÷स्थानिय तहस्तरीय जनशक्ति प्रक्षेपण कार्यक्रम सञ्चालन  गर्ने, कार्यस्थलमा आधारित सीप विकास तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न परिषद् केन्द्रीय÷प्रदेश कार्यालय तथा महासंघको पालिका÷जिल्ला÷प्रदेश÷केन्द्रीयस्तरमा आवश्यकतानुसार समन्वय हुने गरी गर्ने व्यवस्था मिलाउने सम्झौतापत्रमा उल्लेख छ।

तालिम प्रदायक शिक्षण संस्थाहरु÷शिक्षालयमार्फत सञ्चालित कार्यस्थलमा आधारित सीपमूलक तालिम कार्यक्रमका प्रशिक्षार्थीलाई महासंघका सदस्य उद्योग÷व्यवसायमा कार्यस्थल प्रशिक्षणको अवसर प्रदान गर्नुका साथै कार्यस्थलमा आधारित सीपमूलक तालिम कार्यक्रम सञ्चालनमा सहयोग गर्ने, सदस्य उद्योगलाई कार्यस्थलमा आधारित सीप प्रशिक्षण प्रक्रिया, दायित्व, जिम्मेवारी बारे अभिमूखीकरण प्रदान गर्ने पनि सम्झौतामा उल्लेख छ।

औद्योगिक प्रशिक्षार्थी तालिमका लागि उद्योग पहिचान, औद्योगिक प्रशिक्षण र आवश्यक सहकार्यका लागि महासंघले सहयोग गर्ने सम्झौतामा उल्लेख छ। कार्यस्थलमा आधारित तालिम कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएका नीतिगत सुधारका लागि सम्बन्धित निकायमा संयुक्त पहल गर्ने पनि सम्झौतामा उल्लेख छ।

नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग र महिला तथा युवाद्वारा सञ्चालित उद्यम व्यवसायमा आवश्यक सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण र सीपको आवश्यकता पहिचान गरी कार्यस्थलको सिकाइका माध्यमबाट जनशक्ति उत्पादन तथा रोजगारी सुनिश्चिततामा सम्झौताले राम्रो नतिजा दिने अपेक्षा गरिएको छ।

सहमति कार्यान्वयनले व्यवसायमा सीपमूलक जनशक्ति उपलब्ध भई उद्योगको स्तरोन्नति हुने र बेरोजगारी समस्या क्रमशः हल हुने अपेक्षा पनि गरिएको छ। कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले लघु घरेलु तथा साना उद्योगहरुमा सीपयुक्त जनशक्ति नभएसम्म यस्ता उद्योग फष्टाउन नसक्ने बताउनुभयो। उद्योग फष्टाउन नसकेसम्म देश समृद्घ बन्न नसक्ने उहाँको भनाई थियो।

उद्योगहरुमा चाहिने जनशक्ति उद्योगमैत्री हुनुपर्ने भन्दै अध्यक्ष गिरीले समय सुहाउँदो उत्पादन र प्रतिष्पर्धामा जानका लागि दक्ष जनशक्तिबाट मात्रै सम्भव हुने बताउनुभयो।

सीटीइभिटीका सदस्य सचिव डा. वाग्लेले सम्झौता कागजमा मात्रै सीमित हुन नहुनेमा जोड दिंदै उद्योगलाई कस्तो खालको कामदार आवश्यकता पर्छ त्यसै अनुरुपको जनशक्ति तयार गरिने बताउनुभयो।

उद्योग र त्यसमा काम गर्ने कामदारका लागि सम्मानजनक रुपले काम गर्ने वातावरण बनाउन सम्झौताले भूमिका खेल्ने उहाँको भनाई थियो।
 

प्रकाशित: ११ मंसिर २०७६ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App