८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

हेलिकोप्टर दुर्घटनामा फ्रान्सका १३ सैनिकको मृत्यु

पेरिस – मालीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा १३ फ्रान्सेली सैनिकको मृत्यु भएको सुरक्षा अधिकारीले जानकारी दिएका छन्।

अफ्रिकी मुलुक मालीको तनाबग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग गरिएका दुई हेलीकोप्टर एक आपसमा ठोक्किँदा सोमबार १३ सैनिकको मृत्यु भएको बताइएको छ। फ्रान्सले यसलाई विगत चार दशकमा आफ्नो सैनिकहरूकोे एउटै घटनामा भएको सबैभन्दा ठूलो क्षति भनेको छ।

मालीको लिप्ताको क्षेत्रमा विद्रोहीविरूद्धको स्थल सेनालाई सघाउन पुगेका हेलिकोप्टर बुर्किना फासो र नाइजरको सीमा नजिकै दुर्घटनाग्रस्त भएको फ्रान्सको रक्षा मन्त्रालयले जनाएको छ। मालीमा सरकारविरूद्ध संघर्षरत इस्लामिक विद्रोहीले पछिल्लो समय सैनिकका बाहिरी अखडाहरुलाई लक्षित गरी आक्रमण सशक्त पारेको थियो। विद्रोहीहरु जमिनमा मोटरसाइकल र ट्रकमा चढेर भागिरहेको समय सेनाको लागि बन्दोबस्तीका सामान र खाद्यान्न बोकेको एक हेलिकोप्टर ‘कोउगर’  र लडाकु हेलिकोप्टर ‘टाइगर’ एक आपसमा जुध्दा ती सैनिकको मृत्यु भएको मन्त्रालयले बताएको छ।

दुर्घटनामा भएको क्षतिबाट पाठ सिक्दै फ्रान्सको नेतृत्वमा रहेका गठबन्धन सेनाले आगामी साता साहेल क्षेत्रमा इस्लामिक विद्रोहीविरूद्धको आक्रमणलाई थप सशक्त पार्ने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले बताएका छन्। म्याक्रोंले दुर्घटनापछि माली, चाड र नाइजरका राष्ट्रपतिहरुसँग फ्रान्सको एलिसी दरबारमा भेटवार्ता गरेपछि यस्तो विषय राखेका हुन्।

मालीसहित चार पश्चिमी अफ्रिकी मुलुकमा फ्रान्सले चार हजार पाँच सयको संख्यामा रहेका आफ्ना सुरक्षाकर्मी प्रयोग गरी इस्लामिक विद्रोहीको सशस्त्र आक्रमणलाई अभियानका रूपमा निस्तेज पार्दै आएको छ।

 

प्रकाशित: ११ मंसिर २०७६ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App