८ वैशाख २०८१ शनिबार
खेल

भलिबलबाट प्रतिस्पर्धा सुरु

काठमाडौं – २० वर्षपछि घरेलु मैदानमा हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण औपचारिक रूपमा उद्घाटन आगामी आइतबार दशरथ रंगशालामा हुँदै छ।

करिब पाँच दिन बाँकी भए पनि खेल प्रतिस्पर्धाबाट भने नेपालले आज बुधबारबाट सुरुआत गर्नेछ। नेपालको महिला भलिबलले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बंगलादेशविरुद्ध चुनौती प्रस्तुत गर्दा उक्त खेल यस सागको पहिलो प्रतिस्पर्धा हुनेछ। नेपालले महिला भलिबलमा बंगलादेशसँग खेलेपछि १३औं सागको प्रतिस्पर्धा सुरु हुनेछ।

बुधबार दिउँसो तीन बजे महिला भलिबलको उद्घाटन खेल हुनेछ। पुरुष भलिबलमा पनि नेपालले सोही दिन बंगलादेशलाई चुनौती प्रस्तुत गर्नेछ। पुरुष भलिबल भने पाँच बजेदेखि सुरु हुनेछ। भलिबलबाहेक अन्य खेल भने उद्घाटनपछि नै हुनेछन्। साग खेल्ने सात राष्ट्रमध्ये भलिबलको पुरुष र महिला दुवैमा ६ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्दै छन्।

बुधबार दिउँसो तीन बजे महिला भलिबलको उद्घाटन खेल हुनेछ। पुरुष भलिबलमा पनि नेपालले सोही दिन बंगलादेशलाई चुनौती प्रस्तुत गर्नेछ

एक राष्ट्र भुटानको भलिबलमा सहभागिता छैन। दुई साताअघि बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन नेपाल उच्च मनोबलका साथ कोर्टमा उत्रनेछ। नेपाली महिला टोली सागमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ उत्रँदै छ। नेपालकी कप्तान अरुणा शाहीले यस पटक घरेलु मैदानमा स्वर्ण पदक जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको बताइन्।

माल्दिभ्सविरुद्ध सोझो सेटमा सफलता निकाल्दै च्याम्पियन बनेको नेपालले पहिलो पटक भलिबलमा स्वर्ण पदक चुमेको हो। सागमा भने नेपालको महिला भलिबलले तीन कांस्य जितेको छ। नेपालले सन् १९९९, २००६ र २०१६ को सागमा कांस्य पदक जितेको हो।  तीन सहर काठमाडौं, पोखरा र जनकपुरमा हुने सागको औपचारिक उद्घाटन मंसिर १५ गते (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्।

उक्त उद्घाटन समारोहका लागि आयोजक नेपालले मंगलबारदेखि दशरथ रंगशालामा डेमोस्ट्रेसनसमेत सुरु गरेको छ। सागको उद्घाटनका अवसरमा विभागीय टोली र अन्यको तर्पmबाट हुने सांस्कृतिक कार्यक्रमको पनि मंगलबारदेखि डेमोन्सट्रेसन सुरु भएको छ। उद्घाटन समारोह ३ घण्टा १४ मिनेटको हुनेछ।

उद्घाटन समारोहका ओलम्पिक एवम् सागका कीर्तिमानी खेलाडी दीपक विष्टले ओलम्पिक टर्च बाल्नेछन्। खेलाडी, प्रशिक्षक, व्यवस्थापक, पाहुना र दर्शक गरी करिब १५ हजारले जनाले प्रत्यक्ष रूपमा सागको उद्घाटन समारोह हेर्नेछन्। औपचारिक रूपमा आइतबार १३औं सागको उद्घाटन भएसँगै नेपालबाट जन्म भएको सागको तीन संस्करण नेपालमा हुनेछन््।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३औं साग राष्ट्रको प्रतिष्ठाको विषय र दक्षिण एसियाली खेलकुदकै ठूलो पर्वको रूपमा रहेको बताएका छन्। ‘ओलम्पिक ग्रिसबाट सुरु भएजस्तै साग पनि नेपालबाट सुरु भएको हो। त्यसैले यो १३औं संस्करणसम्म पुग्नु हाम्रो लागि गौरवको विषय हो। यसको निरन्तरताले ऐतिहासिक महŒव राख्दछ,’ मन्त्री विश्वकर्माले भने,‘साग आयोजनाले क्षेत्रीय सद्भावलाई पनि कायम राखेको छ।’

सन् १९८४ मा पहिलो पटक दक्षिण एसियाली फेडेरेसन (साफ) खेलकुद काठमाडौंबाटै सुरु भएको थियो। त्यति बेला पाँचवटा खेल मात्र समावेश थिए। उक्त सागमा नेपालले चार स्वर्ण जितेको थियो। त्यति बेला नेपालका लागि म्याराथन धावक वैकुण्ठ मानन्धर, बक्सरद्वय पुष्करध्वज शाही एवं दलबहादुर मगर र पुरुष फुटबल टोलीले  स्वर्ण जितेका थिए।

वैकुण्ठले त्यसपछि दुई संस्करणमा स्वर्ण जित्दै कीर्तिमानसमेत बनाएका थिए। यद्यपि, पछि तेक्वान्दोका दीपक विष्टले आठौंदेखि ११औं संस्करणमा स्वर्ण जित्दै उक्त कीर्तिमानलाई सुधार गरेका थिए। सन् १९९९ मा आठौं संस्करण पुनः नेपालमै सम्पन्न भयो। उक्त संस्करणमा १२ खेल समावेश हुँदा नेपालले सर्वाधिक सफल नतिजा ल्याउँदा ३१ स्वर्ण पदक जितेका थियो।

त्यो समयमा १० रजत र २४ कांस्य पदक पनि थिए। यसै सागमा प्रतिस्पर्धा थालेको तेक्वान्दो र करातेले सर्वाधिक सफल नतिजा ल्याएका थिए। तेक्वान्दो र करातेले समान १४/१४ स्वर्ण दिलाएका थिए। यस पटक पनि दुवै खेलबाट सोही किसिमको आशा गरिएको छ। यसै संस्करणदेखि उपत्यकाभन्दा बाहिर सागका प्रतिस्पर्धा हुँदै छन्।

२६ खेलमध्ये पोखरामा ८ खेल हुँदा जनकपुरमा एक मात्र प्रतिस्पर्धा कुस्ती हुनेछ। बाँकी खेल भने काठमाडौं हुनेछन्। यस संस्करणमा नेपालले सबै खेलमा सहभागिता जनाउँदा कुल ५ सय ९३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

 

प्रकाशित: ११ मंसिर २०७६ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App