७ वैशाख २०८१ शुक्रबार
अर्थ

चार सम्पदा पुनर्निर्माणको तयारी

काठमाडौं– भूकम्पमा क्षतिग्रस्त सम्पदामध्ये चार वटा सम्पदाको पुनर्निर्माण गर्न भारतसँग अन्तिम चरणमा छलफल भैरहेको छ । पुरातत्व विभागका अनुसार पाटन दरबार स्क्वायर परिसरस्थित भीमसेन मन्दिर, पाटनको पुरानो अदालत पुनर्निर्माण, राजधानीको सेतो मछिन्द्रनाथ र टेकुस्थित बमविकटेश्वर सत्तल र मन्दिर पुनर्निर्माण गर्न नक्सा, डिजाइन र लागत अनुमानमाथि भारतसँग छलफल भइरहेको छ । भारतले १९ वटा सम्पदा पुनर्निर्माण गर्न चासो देखाएको थियो । तीमध्ये बाँकी सम्पदा पुनर्निर्माण गर्न आवश्यक अध्ययन भैरहेको र डिजाइन तथा नक्सा तयार हुने क्रममा रहेको छ ।

‘भारतले १९ वटा सम्पदा पुनर्निर्माण गर्न प्रस्ताव मागेको थियो,’ विभागका वरिष्ठ इन्जिनियर सम्पत घिमिरेले भने, ‘तीमध्ये चार वटाको नक्सा, डिजाइन र लागत अनुमान भारतलाई बुझाइसकिएको छ ।’ विभागका प्रवक्ता रामबहादुर कुँवरले पुनर्निर्माण गर्न भारतीय पक्षले चार वटामध्ये दुई वटा काठमाडौं र दुई वटा ललितपुरका छन् । ती सबैको डिजाइन, नक्सा र लागत अनुमान भारतीय पक्षलाई बुझाइसकेका बताए । ‘पुनर्निर्माण थाल्ने मिति र अन्य विभिन्न विषयमा भारतीय पक्षसँग हामी छलफल गरिरहेका छौं,’ प्रवक्ता कुँवरले भने, ‘चाँडै नै सबै टुंगो लाग्नेछ ।’ घिमिरेले ती चार वटा सम्पदा पुनर्निर्माणको एमओयु हुन मात्र बाँकी रहेको बताए ।

भारतले पुनर्निर्माण गर्न चासो देखाएका १९ वटा सम्पदामध्ये १७ वटाको अध्ययन अनुसन्धान भइसकेको इन्जिनियर घिमिरेले बताए । अध्ययन भइसकेकामध्ये चार वटाको नक्सा, डिजाइन र लागत अनुमान तयार भएको छ भने दुई वटा हिमाली क्षेत्रमा रहेकाले जाडो याममा अहिले अध्ययन अनुसन्धान गर्न कठिन भएको उनले बताए ।

भारतले पुनर्निर्माण गर्ने पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनर्निर्माणका लागि ६ करोड १५ लाख ८१ हजार २ सय ७३ रुपैयाँ लागत अनुमान गरिएको  इन्जिनियर घिमिरेले बताए । उनका अनुसार पाटनको पुरानो अदालत पुनर्निर्माण गर्न ९ करोड ५६ लाख ३२ हजार ७ सय ८६ रुपैयाँ लागत अनुमान गरिएको छन् ।

त्यसैगरी काठमाडौंको सेतो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गर्न विभागले ६ करोड ८८ लाख ४४ हजार ९ सय १३ रुपैयाँको लागत अनुमान गरिएको बताउँदै इन्जिनियर घिमिरेले भने, ‘टेकुस्थित बमविकटेश्वर सत्तल र मन्दिर पुनर्निर्माणमा १३ करोड ५७ लाख ५८ हजार १ सय ४४ रुपैयाँ लाग्ने अनुमान छ ।’

 

प्रकाशित: २५ मंसिर २०७३ १२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App