coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश २ का जिल्लाहरुमा गढीमाई मेलाको तयारी

रौतहटको सुन्दरपुरस्थित गढीमाईको मन्दिर। फोटो : मदन/नागरिक

रौतहट- प्रदेश २ का विभिन्न जिल्लाहरुमा जताततै पञ्चवर्षिय गढीमाई मेलाको चहलपहलमा वृद्धि भएको पाइएको छ। गढीमाईको प्रसिद्धिको कारणले मध्यतराईका रौतहटमा सात, सर्लाहीमा दुई, र बारा जिल्लामा दुई गरी एघार स्थानमा मेलाको तयारी सँगसँगै चहल पहलमा वृद्धि हुदै गएको देखिएको छ।

प्रत्येक पाँच वर्षमा लाग्ने बाराको बरीयारपुर र जितपुरमा गढीमाई मेला लाग्छ भने रौतहटको गढीमाई नगरपालीका मै तिन ठाउँमा मेला लग्ने गरेको छ। सुन्दरपुर, बलुवा मदनपुर, हरैयामा गढीमाईको धुमधामको साथ मेला लाग्न सुरु भएको छ। गुजरा नगरपालीकाको कनकपुर, गरुडा नगरपालीकाको दुधियाभार, माधव नारायण नगरपालीकाको माधोपुरका साथसाथै सर्लाहीको मिर्जापुर र खौर्वा गाउँ लगायतका ११ स्थानमा एउटै तिथिमा गढीमाई मेला धुमधामका साथ लगाउनका लागि अन्तिम तयारी पूरा भएको देखिन्छ।

बाराको बरियारपुर र रौतहटको सुन्दरपुरमा एक महिनादेखि नै गढीमाइको मेला सुरु भईसकेको भएपनि अन्य स्थानमा आगामी मंसिर १६ गतेदेखि २१ गतेसम्म तान्त्रिक विधिद्धारा पाँच दिनसम्म लाग्ने पाँच वर्षे गढीमाई मेला सबैभन्दा बढी बली चढाउँने दृष्टिकोणले बाराको वरीयारपुर २ स्थीत लाग्ने मेलाले अन्र्तराष्ट्रिय चर्चा समेत पाएर संसारभर प्रसिद्ध छ।

पशु अधिकारकर्मीहरुले पशुबली प्रथाको व्यापक बिरोध गरिरहेको देखिए पनि परम्परागत मान्यता र भाकल पुरा गराउन सर्वसाधारणहरुले बली दिने गरेका छन्। विगतमा पुर्व राजा वीरेन्द्रदेखी उच्च ओहदाका राजनीतिक व्यक्तित्वहरुले समेत गढीमाईको पूजा अर्चना गरेकाले लोकप्रियतामा बुद्धि भएर वर्षेनी बली चढाउनेको संख्या बढदै गएको छ। बलिको रुपमा मुसा, परेवा, बोको, राँगो र खरायो गरी पाँच जन्तुलाई पञ्चबली चढाएपछि सर्वसाधारणले भाकल अनुसार बली चढाउने गर्छन्।

बाराको बरियारमा २०६६ सालमा लागेको मेलामा १२ हजार, २०७१ सालमा ५५ सय राँगा तथा लाखौ बोका बली प्रदान भएको महागढीमाई नगरपालीकाका मेयर उपेन्द्र यादवले बताए। पशु अधिकारकर्मीहरुले बली प्रथाको विरोध गर्दै भारतबाट आउने भक्तजनले चढाउने बलीका लागि बोका र राँगा ल्याउनमा रोक लगाएपछि ०६६ को तुलनामा आधी भएको तर यो बर्ष मेला दोब्बर लाग्ने र पशुबली पनि दोब्बरको संख्यामा चढाइने अनुमान गरिएको मेयर यादवले बताए।

यो वर्ष २ करोड गढीमाई मेला टेण्डर भएकोले यात्रुको चाप बढ्ने हुँदा समितिले मेलाको पाँच किलोमिटर वरिपरि निःशुल्क रुपमा यात्रुहरुलाई बस्नका लागी दर्जन बढी टेण्ट बनाएर मेला व्यवस्थित बनाएको र मेलाको सम्पुर्ण तयारी पुरा भइसकेको मेयर यादवले बताए।

बारापछि रौतहटको गढीमाई नगरपालीका ४ सुन्दरपुरमा लाग्ने गढीमाई मन्दिरका अध्यक्ष दिपेन्द्र यादवका अनुसार गत वर्ष सर्लाही, महोतरी, रौतहट र छिमेकी मुलुक विहारका सर्वसाधारणहरुको समेत मेलामा निकै ठूलो घुइँचो लागेको थियो। मेलामा १५ सय राँगा र १० हजार भन्दा बढी बोका बली प्रदान भएको उनले नागरिक न्युजलाई बताए। सुन्दरपुरको गढीमाई मेला यो वर्ष ३१ लाख रुपैयाँमा टेण्डर भएको पनि बताए।

एकैपटक रौतहट र बारामा वर्षौदेखी पुरानो मेला लाग्दै आए पनि अहिले अन्य गाउँहरुमा र सर्लाहीमा समेत सोही मितीमा मेला लगाउने भएकाले बली चढाउने श्रद्धालुहरुको संख्यामा वुद्धि हुदै गएको छ। रौतहटको सुन्दरपुर मेला पहिलेदेखी नै लाग्ने भए पनि यहाँका अन्य स्थानहरु र सर्लाहीको मिर्जापुर र खौर्वामा पछिल्लो वर्षदेखि मात्र मेला लगाउन थालिएको छ।

गढीमाई मेलाको चहल पहल एक महिनादेखी सुरु भएको नगरपालीकाको निमित प्रमुख प्रशासकिय प्रमुख नागेन्द्र यादवले बताए। सर्वसाधारणको चाप बढेपछि मेलाको वरिपरी नगरपालिकाले २० स्थानमा खानेपानी जडान गरेका छन् भने सार्वजनिक शौचालय, लाइटीँगको व्यवस्था समेत गरेर मेला व्यवस्थित तरिकाले लाग्न सुरु भएको निमित प्रमुख यादवले बताए। नेपाल, भारत लगायतका अन्य स्थानबाट विभिन्न खेल तमासा देखाउनेहरु आइसकेको छ। मेलामा शान्ति सुरक्षाको लागि भारी संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरेको बताए।

कसैकसैले बाराको मेलामा तथा यहाँ पनी सँगसँगै भाकल गरेका छन्। यहाँका बुढापाकाहरुले पहिला पहिला निकै टाढाबाट पुग्न गाह्रो भएको हुनाले गढीमाई देवीको पूजा स्थान विशेषमा गर्ने लोक परम्परा सुरु भएको बताउँछन्।

रौतहट गढीमाई ४ का ७२ वर्षिया श्रीनारायण झाका अनुसार मन्दिरका पुजारीलाई सपनामा गढीमाईले दर्शन दिएर मन्दिर स्थापना गरी पूजा अर्चना सुरु गर्न भनेकोले त्यहीअनुसार विगत करिब पौतिस वर्षदेखि यहाँ पूजा भइरहेको र मानिसको भाकल पनि पूरा हुँदै लोकप्रियता बढिरहेको बताए। श्रदालुहरु अहिले यातायात र संचारको सुविधा बढि भइसक्दा पनि छोटा गढीमाई मेलाप्रतिको आर्कषण कम भएको छैन। त्यसैले ठाउँठाउँमा स्थानीय स्तरमै देखासिकी गर्दै गढीमाई मेलाको तयारी सुरु भएको छ।

 

प्रकाशित: १० मंसिर २०७६ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App