गोरखा- भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्पको साँढे चार वर्षपछि प्रहरी टहरा छाडेर घर सरेका छन्। बारपाक गाउँसँगै प्रहरी चौकीको पनि पुननिर्माण भएको छ। भूकम्पमा ध्वस्त भएका घरहरुको पुननिर्माण अन्तिम चरणमा पुगेका बेला चौकी निर्माण पुरा भएपछि प्रहरीलाई जनताको सेवा दिन सहज हुने गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी बिनोद शर्मा घिमिरेले बताए। मंगलबार बारपाक प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
अस्थायी रुपमा सरकारी भवनमा बस्दै आएको बारपाक प्रहरी अब नयाँ घरमा सरेको छ। २०७४ असार १८ गतेदेखि होम निर्माण सेवाले उक्त भवन निर्माण गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मित्रबन्धु शर्माले बताए। एक करोड ४५ लाखमा उक्त भवन पुरा भएको हो। ‘सुविधा सम्पन्न भवन छ, शौचालयहरु स्तरीय छन्’ डिएसपी शर्माले भने ‘प्रहरी आफु सुरक्षित भएपछि जनताको सुरक्षामा ध्यान दिन सहज हुन्छ।’ दश जनाको दरबन्दी रहेको चौकीमा अहिले सात जना कार्यरत छन्।
भूकम्पको केन्द्रबिन्दु बारपाक जनजाती समुदायको बाहुल्य रहेको बस्ती हो। एकै ठाउँमा एक हजार भन्दाबढि घर रहेकाले त्यहाँ सुरक्षाका लागि चौकी अति आवश्यक रहेको ठहरसहित स्थापना भएको थियो। २०७२ बैशाख १२ को भूकम्पले ध्वस्त भएपछि अहिले नयाँ चौकी निर्माण भएको डिएसपी शर्माले बताए।
भवन उद्घाटन गर्दै डिआईजी घिमिरेले प्रहरीको कार्य सम्पादनको स्तर पनि बढ्ने बताए। ‘सबै कुराको व्यवस्थापन हुँदैछ, बारपाकसँगै चौकी पनि उठ्यो, अब प्रहरी र स्थानीय मिलेर शान्ति सुरक्षा कायम गराउनुपर्छ।’ घिमिरेले सोमबार बालुवा प्रहरी चौकी र अस्थायी प्रहरी चौकी चनौटेको एक कार्यक्रमका बिच भवन उद्घाटन गरेका थिए। बालुवा चौकी एक करोड ३७ लाखमा होम निर्माण सेवाले नै निर्माण गरेको हो।
२०७४ बैशाख ६ गतेबाट उक्त चौकी निर्माण सुरु भएको थियो। आयन निर्माण सेवाले २०७५ जेठ ११ बाट निर्माण थालेको चनौटे चौकी सम्पन्न गर्न एक करोड ५८ लाख रुपैयाँ लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रकाशित: १० मंसिर २०७६ ११:१० मंगलबार