८ वैशाख २०८१ शनिबार
समाज

सरकारबाट दोस्रो किस्ता नपाउँदा मुक्तहलियाका घर निर्माण अलपत्र

भीमदत्तनगर- घर निर्माणका लागि सरकारबाट पाउनुपर्ने दोस्रो किस्ता रकम नपाउँदा कञ्चनपुरमा मुक्त हलियाका घर निर्माण काम अलपत्र परेको छ।

रकम नपाउँदा कञ्चनपुरका ४५४ मुक्तहलियाको घर निर्माण कार्य ठप्प भएको राष्ट्रिय मुक्ति हलिया समाजका अध्यक्ष सिपी लोहारले बताए। 'घर निर्माणका लागि पहिलो चरणमा एक हजार ७८८ ले किस्ता बुझेका थिए', उनले भने, 'दोस्रो किस्ता नआउँदा घर बनाउने काम प्रभावित भएको छ।' उनले स्थानीय तहमा मुक्तहलियाको बजेट आएपनि खर्च हुन नसकेको बताए।

'सरकारले गत असार मसान्तमा बजेट निकासा गर्दा तत्काल जग्गा खोज्न समस्या भयो', लोहारले भने, 'अझै नौ करोड रुपैयाँको बजेट आउन बाँकी छ।' कञ्चनपुर जिल्लामा एक हजार ९९१ ले मुक्तहलिया परिचयपत्र प्राप्त गरेका थिए। जसमध्ये एक हजार ७५० पुनःस्थापना भइसकेका छन् भने १०६ ले अहिलेसम्म केही नपाएको अध्यक्ष लोहारले बताए।

मुक्तहलियालाई जिल्लामा भूमि सुधार कार्यालयमार्फत घर बनाउन प्रतिव्यक्ति दुई लाख २५ हजार रुपैयाँ र घर मर्मतका लागि एक लाख २५ हजार रुपैयाँ दिने सरकारले निर्णय गरेको लोहारको भनाइ थियो। 'यहाँ रकमका लागि जाँदा भूमि सुधार मन्त्रालयबाटै निकासा भएको छैन भनेर फर्काउछन्', उनले भने, 'रकम अभावले मुक्तहलिया पीडित बनेका छन्।'

मुक्तहलियाको समयमा पुनःस्थापना हुन नसकेको र स्वरोजगार बनाउने विषयमा पनि ध्यान जानुपर्ने बेला आएको सरोकारवालको भनाइ छ। अर्कातिर आयस्तर कमजोर हुँदा मुक्त हलियाका बालबालिका विद्यालय जानबाट बञ्चित हुनु परेको गुनासो छ। भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदीको छेउमा मुक्तहलियाका ३५ घर बनेका छन्।

स्थानीय विरराम विकले मुक्तहलिया बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जालजस्ता पूर्वाधार नहुँदा समस्या भोग्नुपरेको बताए। 'छाक टार्नकै लागि फेरि पनि अरुको मजदूरी गर्न पर्ने अवस्था विद्यमान छ', उनले भने, 'हामीलाई रोजगारी र सीपमूलक तालीम दिएर आत्मनिर्भर बनाउनुपर्छ।' यहाँका करिब १२ वटा स्थानमा मुक्तहलिया पुनः स्थापनाअन्तर्गत घर निर्माणकार्य भइरहेको छ। मुक्तहलियालाई चार वर्गमा वर्गीकरण गरिएको छ।

प्रकाशित: १० मंसिर २०७६ ०७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App