८ वैशाख २०८१ शनिबार
अन्य

बालबालिका आफैँ अश्लील भिडियो बनाउँदै !

विदेशी मुलुकमा बालबालिकाको अश्लील भिडियो तथा तस्बिरहरु बन्ने दर तीव्र गतिमा बढेपछि सरोकारवालाहरु यसमा घोत्लिन थालेका छन् ।
समस्या के भइरहेको छ भने बालबालिकाको अश्लील भिडियो तथा तस्बिरहरु अरु कसैले बनाइरहेको भने छैन । उनीहरु आफैँ बनाउन उत्सुक भइरहेका छन् । एउटा अध्ययनअनुसार तीन जनामध्ये एकले त्यस्ता भिडियो वा तस्बिरहरु आफैँ बनाउने गरेका छन् ।
यसलाई सरकारी अधिकारीहरुले गम्भीर अवस्था मानेका छन् ।
लाइभ स्ट्रिमिङबाट प्रसारण गरिने यस्ता भिडियोहरु घरकै सुत्ने कोठाबाट बनाइने गरेको इन्टरनेट खोजकर्ताले जनाएका छन् ।

इन्टरनेट वाच फाउन्डेसन (आइडब्ल्युएफ)ले केही महिनाअघि बालबालिकाले आफैँले उत्पादन गर्ने अश्लील भिडियो तथा तस्बिरको संख्या चिन्ताजनक तरिकाले बढेको भन्दै आश्चर्य व्यक्त गरेको थियो ।
यस्तो अवस्थामा आफ्ना बालबालिकाका गतिविधिलाई सचेत भई अवलोकन गर्न आग्रह गरिएको छ ।
खासगरी ११ देखि १३ वर्षका बाललिकाहरु वेबक्यामको लाइभ स्ट्रिमिङमा आउने बताइएको छ ।

आइडब्लुएफको वार्षिक रिपोर्टका अनुसार, यस्ता घटनामा बालबालिकाहरुलाई अनलाइनमा प्रोत्साहित गर्ने, धोकापूर्ण तरिकाले खिचिने र सेयर गरिनेसमेत अवस्था छ ।’ हालै बेलायतमा यस्तो समस्या देखिएका ७२ हजारभन्दा बढी वेबपेजहरु हटाइएको छ । त्यसयता यस्ता वेबपेजको संख्या ह्वात्तै बढेको अधिकारीहरुको भनाइ छ ।

बालबालिकाको यस्तो भिडियोमा १३ वर्षभन्दा कम उमेरको संलग्नता ९४ प्रतिशत छ । त्यस्तै ११ देखि १२ वर्ष उमेर समूहकारुको संलग्नता ७८ प्रतिशत छ भने १० वर्षभन्दा कम उमेरकाहरुको प्रतिशत १६ प्रतिशत रहेको छ ।
आइडब्लुएफकी प्रमुख कार्यकारी सुसी हर्गरिभ्स भन्छिन्, ‘घरैमा जब बालबालिकाहरु आफ्नो अश्लील भिडियो बनाउन थाल्छन्, योजस्तो खतरनाक कुरा के हुन सक्छ ?’

छोराछोरीहरु मज्जैले घरमा बसिरहेका छन्, सुरक्षित छन् भन्ने बाउआमालाई लाग्छ तर छोराछोरीहरु भने आफ्नै बेडरुममा बसेर अश्लील भिडियो बनाइरहेका छन् । बाउआमालाई त्यहाँ के भइरहेको छ भन्ने अत्तोपत्तो हुँदैन । यो थाहा पाउँदा तिनलाई कस्तो महसुस हुँदो हो ! त्यसमाथि बालबालिका स्वयंलाई पनि आफूहरुमाथि शोषण भइरहेको छ भन्ने पत्तो पाउँदैनन् ।

उदेक त के छ भने आइडब्लुएफले फेला पारेका भिडियो वा तस्बिरहरुमध्ये ४४ प्रतिशत सामग्री क्याटगरी एमा पर्ने किसिमका छन् । क्याटगरी एमा पर्नु भनेको ती बालबालिकामाथि भएको बलात्कार वा यौन यातना हो ।
यसअघि बेलायती प्रहरी अधिकारीहरुले बालबालिकाहरु लाइभ स्ट्रिमिङबाट शोषित हुने अवस्था सिर्जना भइरहेको भन्दै सचेत गराएका थिए । खासगरी पेडोफिलहरुले यस किसिमको माध्यम रुचाउने गरेको अधिकारीहरुको भनाइ थियो ।
गएको वर्ष मात्र बेलायती अखबार द डेली टेलिग्राफले हरेक वर्ष १० देखि २४ प्रतिशतसम्म बालबालिकाहरुको पोर्न साइटहरु बढेको तथ्याङ्क पेस गरेको थियो । यो खबर प्रकाशित हुनेबित्तिकै एक लाखभन्दा बढी त्यस्ता साइटहरु सरकारले तुरुन्त बन्द गरिदिएको थियो ।

सन् २०१६ सम्म त्यस्ता वेबसाइटहरु ५७ हजार मात्र थिए । २०१७ मा ७८ हजार ६ सयको संख्यामा रहेका त्यस्ता भिडियो साइट बढेर डेढ लाखभन्दा बढी पुगेका थिए ।

आइडब्लुएफ विश्लेषकका अनुसार हरेक पाँच मिनेटमा एक जना बालबालिका शोषित हुने गरेको र सोको भिडियो पोस्ट हुने गरेको छ । यस्ता भिडियोहरु युरोपमा अधिकांश बस्ने र पोस्ट गरिने देखिएको छ । तीमध्ये ४० प्रतिशत त नेदरल्यान्डमा होस्टिङ हुने गरेको छ । बेलायतमा भने त्यस्ता साइटहरु होस्टिङ हुने प्रतिशत ०.०४ मात्र रहेको छ । १९९६ मा भने यो प्रतिशत १८ प्रतिशत थियो ।

यस्ता घटनामा सबैभन्दा ठूलो समस्या के छ भने एक पटक अनलाइन देखिइसकेका भिडियो तथा तस्बिरहरु वर्षौंपछि पनि देखिने र त्यसलाई निमिट्यान्न पार्न नसकिने हुन्छ । तसर्थ, जब समस्याको गम्भीरता बालबालिकाले बुझ्न थाल्छन्, त्यसबाट उम्कने कुनै उपाय फेला पार्न सक्ने छैनन् ।

अहिले बेलायतमा एक लाखभन्दा बढी अभिभावकले आफ्ना सन्तानका अनलाइन भिडियोहरु हटाइदिन प्रहरीलाई अनुरोध गरेको निवेदनको चाङमा काम गरिरहेको छ ।

प्रकाशित: १० मंसिर २०७६ ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App